भरतपुर, ३० साउन ।
मुलुकमा दोस्रो जनआन्दोलन २०६२÷६३ चल्दै थियो । सबै जनता सडकमा थिए । तर, नेपाल उद्योग वाणिज्य महासंघले राजतन्त्रको पक्षपोषण गर्दै विज्ञप्ति निकाल्यो । उद्योग वाणिज्य संघ–चितवनलाई धर्मसंकट प¥यो । अघि बढ्नु न पछि हट्नु । “पूर्वअध्यक्ष कृष्णबन्धु पियाले अघि बढ्ने हो, डराउने होइन भन्नुभयो”, तत्कालीन उपाध्यक्ष मित्रराज दवाडीले भने, “उहाँकै बलमा हामी अघि बढ्यौं, जनआन्दोलन सफल भयो, हामीभन्दा महासंघ धेरै पछि प¥यो ।”
यसरी ढाडस दिने पिया स्वर्गीय भइसके । उनले धर्ती छोडेको बुधबार ४५ दिन पुगिसक्यो । यही सन्दर्भमा उद्योग वाणिज्य संघ–चितवनले आयोजना गरेको श्रद्धाञ्जली सभामा हाल पूर्वअध्यक्ष भइसकेका दवाडीले पियालाई सम्झिएका हुन् । “गलत कुरालाई कहिल्यै सही नभन्ने, स्पष्ट वक्ता हुनुहुन्थ्यो”, उनले भने, “त्यस्तै अनुशासन, निरन्तरता र स्पष्ट निर्णयको अर्को नाम कृष्णबन्धु पिया हो ।”
दवाडीले जस्तै प्रशंसा पूर्वअध्यक्ष डा. तिलचन्द्र भट्टराईले पनि गरे । “सक्रिय जीवन उहाँको अर्को बलियो पक्ष हो”, उनले भने, “२२–२४ वर्षको हुँदादेखि २ साल अघिसम्मै पनि उहाँ व्यवसायमा सक्रिय रहनुभयो ।” उनले पियालाई चितवनमा पोल्ट्री व्यवसायको विकासको थालनीकर्ताका रुपमा अथ्र्याए । “२०४७ सालमा म भेटेरिनरी डाक्टर थिएँ, २–४ सय कुखुरा पाल्ने चलन सुरु भएको थियो, दाना कहाँबाट ल्याउनुहुन्छ भन्दा चितवन फिडबाट भन्थे”, डा. भट्टराईले भने, “उहाँकै प्रेरणाबाट पछि पोल्ट्री फस्टायो ।”
पूर्वअध्यक्षहरु केएल भूषण, महेन्द्रलाल प्रधानलगायतले पनि पियाको व्यक्तित्व र व्यावसायिक पक्षको चर्चा गरे । उद्योग वाणिज्य संघ–चितवनले पियाको सम्झनामा पुस्तक नै प्रकाशन गरेको छ । ‘सम्झनामाः कृष्णबन्धु पिया’ पुस्तकको सम्पादन प्रभातकुमार जोशीले गरेका हुन् । उक्त पुस्तकको विमोचन चितवन–२ का प्रतिनिधि सभा सांसद् कृष्णभक्त पोखरेलले विमोचन गरे ।
कार्यक्रमको अध्यक्षता गरेका संघका अध्यक्ष सहनलाल प्रधानले पियाको निधनले संघले एकजना बलियो अभिभावक गुमाएको बताए । पिया संघका संस्थापक सचिव तथा पूर्वअध्यक्ष हुन् । उनी नेपाल उद्योग वाणिज्य संघमा चितवनबाट सबैभन्दा बढी प्रतिनिधित्व गर्ने व्यवसायी नेता हुन् ।