विनोदबाबु रिजाल
सौराहा, ३० साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) संघीय ढाँचामा जाने भएको छ । बुधबार चितवनको सौराहामा भएको संघको १७ औँ विशेष साधारणसभाले विधान संसोधन गरेसँगै अब एन्फामा सात प्रदेश समिति बन्नेछ । आगामी साधारणसभाअघि नै यी सबै संरचना गठन भइसक्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।
“मुलुक संघीय ढाँचामा गइसकेपछि अब एन्फाको संरचनामा पनि आमूल परिवर्तन आउनुपर्छ भन्ने आवाज थियो”, प्रवक्ता राईले भने, “त्यो हामीले गरेका छौं, अब कार्यान्वयनमा जानेछ ।”
विशेष साधारणसभाले आर्थिक पारदर्शीताका लागि इतिहासमै पहिलोपटक आर्थिक नियमावली पनि पारित गरेको छ । त्यस्तै कार्यसञ्चालन नियमावली, कर्मचारी प्रशासन नियमावली र खेलाडी दर्ता नियमावलीसमेत साधारणसभाले पारित गरेको छ ।
मताधिकार बढ्यो
सभाले जिल्ला समिति तथा क्लबहरुमा रहेको मताधिकार पनि परिवर्तन गरेको छ । यसअघि ७७ मताधिकार रहेको एन्फामा अब १५ मत बढेर ९२ पुगेको छ । साधारणसभाले प्रदेशअन्तर्गत ५, क्लबअन्तर्गत ६ र राष्ट्रिय लिग खेल्ने क्लबअन्तर्गत ४ गरी १५ मत थप्ने निर्णय गरेको छ । जसानुसार प्रदेश ५ मा १, प्रदेश ६ र ७ मा २–२ मताधिकार थपिएका छन् ।
“अब यी प्रदेशमा जिल्ला समिति थपिनेछन्”, प्रवक्ता राईले भने, “त्यही जिल्लाले पाउने मताधिकारले गर्दा कूल मत बढ्न गएको हो ।” त्यसैगरी यसअघि ५ मताधिकार रहेको ‘सी’ डिभिजन क्लबले अब ९ र ९ मताधिकार रहेको ‘बी’ डिभिजन क्लबले ११ मताधिकार पाउने छन् । क्लबको संख्या नै बढेका कारण यो परिवर्तन भएको हो । साधारणसभाले बी डिभिजनमा २ र सी डिभिजनमा ४ वटा क्लब थप्ने निर्णय गरेको छ ।
त्यस्तै जिल्ला लिग जितेर प्रदेश र प्रदेश लिग जितेर राष्ट्रिय लिग खेल्ने उत्कृष्ट ४ क्लबले पनि मताधिकार पाउने प्रवक्ता राईले जानकारी दिए ।
रेलिगेसनविनै हुने भो लिग
रेलिगेसनविनै शहीद स्मारक लिग गर्ने गरी एन्फा कार्यसमितिले गरेको निर्णयलाई विशेष साधारणसभाले हुबहु पारित गरेको छ । “यसपालि रेलिगेसन हुँदैन”, प्रवक्ता राईले भने, “बटम थ्रीका क्लबलाई दिइने सुविधाचाहिं कटौती हुनेछ ।”
नीतिगतरुपमा प्रष्टः अध्यक्ष शेर्पा
अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा अब नीतिगतरुपमा प्रष्ट भएको दावी गरे । “हामीले ३ महिनाअघि निर्वाचन गर्दा हामी नीतिगतरुपमा प्रष्ट हुनेछौं भनेका थियौं”, उनले भने, “यो विशेष साधारणसभाले हाम्रो प्रतिबद्धतालाई मूर्तरुप दिएको छ, अब हामी अलमलिदैनौं ।”
साथै उनले एन्फाको इतिहासमै पहिलोपटक आर्थिक, कर्मचारी तथा कार्यसञ्चालन नियमावली बनेकोले संघ पूरै पारदर्शी हुने विश्वास व्यक्त गरे । उद्घाटन मन्तव्यको क्रममा पनि शेर्पाले विशेष साधारणसभालाई ‘नीतिगत, प्रशासनिक र आर्थिक पारदर्शीताका लागि बसेको’ भनेका थिए ।
यस्तै आगामी भदौ १ गतेदेखि खेलाडी दर्ता अनलाइनमार्फत गर्ने, छेलाडीको वृत्ति विकासका लागि अक्षयकोष स्थापना गर्ने, दर्तामा व्यावसायिक क्लब, गाउँस्तर र स्कुलका खेलाडीसमेत सहभागी हुन पाउने बताएका थिए । परम्परागत लिग खेललाई व्यवस्थित गरी जिल्ला लिग खेलाउने, जिल्लाबाट छनोट भएकालाई प्रदेशमा, प्रदेशबाट उत्कृष्ट भएकालाई एन्फा प्रेसिडेन्ट कपमा सहभागी गराउँदै राष्ट्रिय लिग गर्ने योजना उनले अघि सारे । एन्फाले रौतहटमा महिला टेक्निकल सेन्टर स्थापना निकट भविष्यमै गरिने सो अवसरमा शेर्पाले जानकारी गराए । उनले देशभर १४ वटा टेक्निकल सेन्टर सञ्चालन गर्ने पुरानो सपनालाई फेरि प्रस्तुत गरे । “प्रत्येक प्रदेशमा २ टेक्निकल सेन्टर बनायौं भने देशभर १४ वटा हुन्छ”, उनले भने, “एउटा सेन्टरबाट १५ जना निस्किएपनि देशभरबाट २१० जना खेलाडी निस्किनेछन् ।”
विशेष साधारणसभामा ४५ जिल्ला संघ, १४ ए डिभिजन क्लब, नौ बी डिभिजन क्लब, पाँच सी डिभिजन क्लब र चार समिति (महिला, खेलाडी, प्रशिक्षक, रेफ्री) बाट ३–३ जना र एएफसीका प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब ३०० जना प्रतिनिधि सहभागी थिए ।