रत्ननगर ,३० साउन ।पूर्वी चितवनको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीले भयरहित समाज बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् । यस क्षेत्रमा हुने चोरी तस्करी, गुण्डागर्दी नियन्त्रण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको भन्दै इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख समेत रहेका डिएसपी ज्ञवालीले भयरहित समाजको निर्माण गर्न सकेमात्र देश विकास गर्न सकिने बताए ।
लागुपदार्थ दुव्र्यसनी, अवैध घरेलु मदिरा उत्पादन र विक्रीमा नियन्त्रण तथा चोरी तस्करीहरु नियन्त्रण गर्दै शान्त समाज निर्माण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए । चाडपर्व नजिकिदै गर्दा हुन सक्ने अवाञ्छित घटना र लुटपाट, चोरी तस्करीको नियन्त्रण गर्न समेत प्रहरी सजग रहेको उनले बताए । गत साउन २ गते सरुवा भई आएका डिएसपी ज्ञवालीले आफू आएपछि १६ किलो लागुपदार्थ चरेश बरामद गरेको र सोको छानविन गरी दोषी पत्ता लगाउने काम भइरहेको समेत उनले बताए । त्यस्तै घरेलु एवम् धारिलो हतियार सहित केही व्यक्तिहरु पक्राउ गरिएको र उनीहरुलाई कारवाही अगाडि बढाएको उनले बताए । विभिन्न अवैध ढंगबाट खोलाजन्य पदार्थहरु निकासी गरेका साधनलाई पक्राउ गरी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको समेत उनले जानकारी दिए । पर्यटकीय गन्तव्य सौराहालाई आवश्यक पर्ने सुरक्षा व्यवस्था मिलाइएको बताउँदै व्यवसायीहरुले पर्यटकीय क्षेत्रमा २४सै घण्टा व्यवसाय संचालन गर्ने अवस्था रहेमा पनि मजबुत सुरक्षा व्यवस्था दिन प्रहरी तयार रहेको उनले बताए । ‘टोल टोलमा प्रहरी’ अभियान अन्तर्गत प्रहरीहरु परिचालन गरी बजार क्षेत्र एवम् ग्रामिण क्षेत्रमा पनि शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनले बताए । इलाका प्रहरी कार्यालय टाँडी अन्तर्गत रत्ननगर नगरपालिका र कालिका नगरपालिका क्षेत्र रहेको छ । यस क्षेत्रमा करिव १ सय जना प्रहरी कार्यरत रहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए