ध्रुवराज खनाल/कायाकैरन
रत्ननगर,३० साउन ।
छिमेकी राष्ट्र चीनलाई उपहार स्वरुप दिन लागिएको थप एक जोडी गैडा काठमाडौ पठाइएको छ । चितवनको सौराहा स्थित राष्ट्रिय प्रकृती संरक्षण कोषमा राखिएको एक सिंगे गैडा मंगलबार काठमाडौ पठाइएको हो ।
प्रकृति संरक्षण कोषमा बनाइएको पिट बुमा ( सानो खोर ) मा राखिएको ति गैडालाई काठको खोरमा हाली ट्रकमा राखेर काठमाडौ लगिएको हो । भाले सोल्टी र पोथी मितिनी नाम दिईएको ति गैडाहरुलाई बुधबारसम्म काठमाडौमा राखेर विहीबार चीन पठाइने छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालको नेतृत्वमा एक टोली काठमाडौ गएको छ । सो टोलीमा प्रमुख संरक्षण अधिकृत ढकालसहित सुरक्षाकर्मी, केयर टेकर, भेटेनरी सहायक गैंडासँगै काठमाडौं गएका हुन् । पोथी गैडा ‘मितिनी’लाई निकुञ्जको पश्चिम सेक्टरबाट गत वैशाखमा नियन्त्रणमा लिइएको थियो भने ‘सोल्टी’ नाम राखिएको भालेलाई अघिल्लो वर्षको साउनमा आएको बाढीले बगाउँदा भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्दार गरी ल्याएर सौराहामा राखिएको थियो ।
यहाँबाट पठाउन लागिएको जोडी गैडालाई चीनको सांघाई चिडियाखानामा राखिने जनाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार साउन ३१ गते त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट विषेश कार्गोेमा राखि लगिने छ । नेपाल सरकारले यसअघि असारमा एक जोडी गैडा चीन सरकारलाई उपहार दिइसकेको छ । सो जोडीलाई भने चीनको ग्वान्झाओस्थित चिमे लाङग पार्कमा राखिएको छ । पहिलो जोडीलाई भद्र र रुपसी नाम राखिएका थियो । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला चीन सरकारलाई दुई जोडी गैडा चीनलाई दिने निर्णय गरेको थियो । दुर्लभ एक सिंगे गैडाका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात मानिन्छ । पछिल्लो गणना अनुसार नेपालमा ६४५ एकसिंगे गैंडा रहेका छन् भने ती मध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।