ध्रुवराज खनाल/कायाकैरन
रत्ननगर, २९ साउन ।
कर वृद्धिको विरोधमा रत्ननगरमा आन्दोलित दलहरुले अनसनका क्रममा नगरपालिका कार्यालयको झ्यालको सिसा फुटाएका छन् । अनसनलाई समर्थन गर्न आएका पार्टीका कार्यकर्ता तथा स्थानीयले नगरपालिकाको कर शाखाको सिसा फुटाएका हुन् ।
अनसनका क्रममा उनीहरुले आइतबारदेखि नै कर संकलनमा अवरोध पु¥याएका थिए । सोमबार कर शाखाको भित्रबाटै कर तिरेको देखेपछि अनसनलाई समर्थन गर्न आएका एक समूहले रसिद च्यात्नुका साथै झ्यालको सिसा फुटाएका हुन् । नगरपालिकाले एकलौटीरुपमा अस्वाभाविक कर वृद्धि गरेको भन्दै रत्ननगरमा रहेका सात राजनीतिक दलले आइतबारदेखि सुरु गरेको रिले अनसन सोमवार पनि जारी रह्यो ।
कर वृद्धि फिर्ता लिन ज्ञापनपत्रमार्फत माग गर्दासमेत नगरपालिकाले अटेर गरेपछि अनसन बस्नुपरेको नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरेले बताए । सात राजनीतिक दलले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । रिले अनसनमा नेपाली कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक पार्टी छन् ।
नगरपालिकामा जनप्रतिनिधि आएपछि जनपक्षीय काम हुन नसकेको आरोप लगाउँदै उनीहरु साउन १४ गतेदेखि आन्दोलित भएका हुन् । अनसनअघि उनीहरुले सांकेतिक धर्ना, तथा प्रचारात्मक कार्यक्रम गरेका थिए भने वडा कार्यालयमा पुगेर कर नतिर्न आग्रह गरेका थिए । एकीकृत सम्पत्ती कर, फोहरमैला कर र व्यवसाय करमा बढी वृद्धि गरेको आरोप उनीहरुको छ । सात राजनीतिक दलहरुले सुरु गरेको आन्दोलनमा क्षेत्रीय होटल संघ चितवन सौराहाले समेत ऐक्यबद्धता जनाएको छ । नगरपालिका प्रमुख नारायण वनले जग्गा मूल्यांकनको आधारमा करको दायरा निर्धारण गर्दा खेतीयोग्य जमिनको कर केही बढेको तर आवास र शहरी क्षेत्रको सवालमा भने कर स्वाभाविक रहेको बताए ।
यसैबीच रत्ननगर नगरपालिकाले आन्दोलनरत दलहरुलाई वार्तामा आउन आह्वान गरेको छ । वार्ताका लागि नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा अधिकार सम्पन्न वार्ता समिति बनाएको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले आन्दोलनरत दलहरुसँग वार्ताका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।
यता आन्दोलनरत दलहरुले भने प्रमुख प्रशासहीय अधिकृतको संयोजकत्वमा गठन गरिएको टोलीसँग वार्ता नगर्ने बताएको छ । उनीहरुले नगर प्रमुखकै संयोजकत्वमा वार्ता टोली गठन गर्नुपर्ने र सोही टोलीसँग मात्रै वार्तामा बस्ने सोमबार प्रेश विज्ञप्ति जारी गरेर जनाएका छन् ।
यसैबीच साँझ नगरपालिकाले एक विज्ञप्ति जारी गरी आन्दोलनरत दल वार्ता र संवादबाट निकास खोज्नुको साटो तोडफोड गर्ने, प्रशासनिक कार्यमा हस्तक्षेप गर्ने, कार्यालयमा प्रवेश गरी रसिद च्यात्ने, कार्यालय परिसरभित्र टाँसिएका सूचना च्यात्ने, कार्यालयका नियमित गतिविधिमा हस्तक्षेप गर्ने कार्यमा उद्धत रहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले विज्ञप्तिमार्फत गैरकानूनी क्रियाकलप बन्द गरी वार्तामा आउन दलहरुलाई पुनः आह्वान गरेको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगरले नेपाली कांग्रेसलगायत आन्दोलनरत पार्टीका कार्यकर्ताले नगरपलिकामा तोडफोड गर्ने, रसिद च्यात्नेलगायतका गैरकानूनी क्रियाकलाप गर्न उद्धत भएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ । नेकपा रत्ननगरले सोमबार साँझ एक विज्ञप्ति जारी गरी नगरपालिकाले गरेको वार्ता आह्वानलाई बेवास्ता गरी तोडफोडमा उत्रिनु गलत भएको जनाएको छ ।
नेकपाका प्रतिनिधिहरु रामशरण कुँवर र राजु अम्गाई सुवोधले निकालेको विज्ञप्तिमा तोडफोड जस्ता कार्यले जनताको साझा सम्पत्तीको रुपमा रहेको नगरपालिकामा पुग्ने क्षतिप्रति आन्दोलनरत पक्ष जिम्मेवार रहने उल्लेख छ । नगरपालिकामा तोडफोड गर्ने, बिल रसिद च्यात्ने, अभद्र व्यवहार प्रदर्शन गर्ने कार्यले आफैले शान्तिपूर्ण भनेको आन्दोलन हिंस्रक बनाउनेतर्फ उद्धत रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेकपाले नगरपालिकाले गठन गरेको वार्ता टोलीसँग वार्ता गरी समस्याको सामधान गर्न कांग्रेसलगायत दलहरुलाई सुझाव दिएको छ । ‘नेकपा र नेपाली कांग्रेसका जनप्रनिनिधिसहितको नगर परिषद्मार्फत एक स्वर र पूर्ण समर्थनले पारित गरेको करको विषयलाई लिएर अहिले आन्दोलित हुनु कांग्रेसको दोहोरो भूमिकाबाट हामी चकित भएका छौं’ विज्ञप्तिमा भनिएको छ ।