भरतपुर, २९ साउन ।
भरतपुरको कृष्णपुरका युवा व्यवसायी कृष्ण न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर सामुदायिक विद्यालयमा अध्ययनरत एक छात्रालाई साईकल प्रदान गरेका छन् ।
कृष्णपुरस्थित कृति फोटो स्टुडियो सञ्चालन गर्दै आइरहेका न्यौपानेले जन्मदिनमा गरिने फजुल खर्च बचाएर गएको बिहीवार माडीस्थित खैरहनी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरतविना महतोलाई साईकल उपलब्ध गराएका हुन् । माडी नगरपालिका–४, घोसरीकी महतो सामान्य परिवारकी विद्यार्थी हुन् । उनलाई अब घरदेखि स्कूल आउजाउ गर्न सजिलो भएको छ ।
आफ्नी आमासहित गत बिहीबार विद्यालय पुगेका न्यौपानेले विद्यालयका प्राचार्य, शिक्षक र विद्यार्थीको रोहबरमा साईकल बुझाएका हुन् । उनले अघिल्लो वर्ष आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा सोही विद्यालयमा अध्ययनरत माडीकै एक जेहेन्दार छात्रलाई पनि साईकल उपलब्ध गराएका थिए ।
जन्मदिन तथा वैवाहिक वर्षगाँठका अवसरमा तडकभडक देखाउनुभन्दा सो खर्चबापत केही परोपकारी सेवाका काम गरुँ भन्ने उद्देश्यले यसो गरेको न्यौपानेले बताए । आगामी वर्षदेखि नियमितरूपमा सोही विद्यालयबाट सर्वोत्कृष्ट अंकसहित उत्तीर्ण हुने छात्रालाई सहयोग उपलब्ध गराउन लागेका छन् । अबदेखि आफ्ना स्वर्गीय पिता शिवलाल न्यौपानेको स्मृतिमा सहयोग उपलब्ध गराउने उनले बताए ।