भरतपुर, २६ साउन ।
सामुदायिक रेडियो भरतपुरले महानगरस्तरीय तीज गित प्रतियोगिता गर्ने भएको छ । एक महिनाभर वडातहमा तीज गित प्रतियोगिता सञ्चालन गर्न लागेको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै रेडियो भरतपुरले ‘व्यञ्जन रमाइलो तीज’ कार्यक्रम गर्न लागेको जानकारी गराएको छ । साउन २७ गतेदेखि भदौ २७ गतेसम्म तीजको अभियानमूलक प्रतिस्पर्धात्मक कार्यक्रम गरिने जनाइएको छ । कार्यक्रमको प्रर्वद्धका रुपमा भरतपुर महानगरपालिका र माइती नेपाल रहेका छन् । कार्यक्रमलाई व्यञ्जन तेलले मुख्य प्रायोजन गरेको छ ।
“महिला हिंसा, बेचविखन, लैङ्कि विभेद र समान अधिकारमा विषय केन्द्रीत तीज गीतमा वडास्तरबाट प्रतिस्पर्धा सुरु हुनेछ”, अध्यक्ष एवं प्रवन्ध निर्देशक नवीनराज पौडेलले भने, “वडाबाट उत्कृष्ट एक समूह छनौट हुनेछ, सबै उत्कृष्ट समूहबीच तीजको दिनमा अन्तिम प्रतिस्पर्धा गराइनेछ ।” उनका अनुसार महानगरका २९ वटै वडामा तीज गीतमा प्रतिस्पर्धात्मक कार्यक्रम हुनेछ । “भड्किलो र खर्चिलो पर्व होइन, चेतनामूलक र मौलिक संस्कृति झल्काउने गरी मनाउन अभियानात्मक कार्यक्रम गर्न लागेका हौँ”, उनले भने, “संस्कृति जगेर्नमा यो एउटा वृहत कार्यक्रम हो ।”
सो कार्यक्रममा वडाका महिला समूह, आमा समूह, महिला सहकारी, टोल विकास संस्थाका महिला सहभागि हुन सक्नेछन् । प्रत्येक समूहमा बढीमा ७ जना सहभागि हुन पाउनेछन् । रेडियो भरतपुरका कार्यकारी निर्देशक सिपी सुवेदीले आइतबार विहान ११ बजेदेखि भरतपुर–६ गीतानगरबाट छनौट चरणका कार्यक्रम सुरु हुने बताए । सबै वडातहबाट छनौट चरणमा कुल ६ सय समूह सहभागि हुने अनुमान गरिएको बताए । वडा तहमा १५–२५ समूह सहभागि हुने आंकलन गरिएको बताए । सम्बन्धित वडाकै जनप्रतिनिधि सहितको निर्णायक टोलीले छनौट चरणका उत्कृष्ट समूह घोषणा गर्नेछ । पत्रकार सम्मेलनमा चेली नेपालका सिन्धु ढकाल, सेन्ट्रल कलेज अफ भोकेसनल टे«निङ प्रालिका यज्ञविलास पौडेल लगायतले मन्तव्य राखे ।