मानवसेवा । परायाको सेवा । अरुको सेवा । परोपकार । अनि समाजसेवा । जब स्वार्थभन्दा माथि उठेर अरुको सेवा गरिन्छ, त्यो नै समाजसेवा हो । समाजसेवाका विभिन्न रुप छन् । कसैले स्कूल खोल्छन् । कसैले बालगृह खोल्छन् । कसैले स्टेशनरी बाँड्छन् । कसैले वृद्धाश्रम खोल्लान् । कसैले मन्दिर बनाइदेलान् । कसैले चौतारो बनाइदेलान् । सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्दै आएका असहाय, अशक्त, अनाथ, अपाङ्ग एवं मनोरोगीको सेवा गर्नु त झनै उच्चस्तरको मानवसेवा हो । समाजसेवा हो । मज्जाले पढेर बस्ने उमेर । कुनै जागिर खाएर घर धान्नुपर्ने उमेर । उच्च अध्ययन र अझै धेरै कमाउन विदेश जान पासपोर्ट बोकेर हिड्नुपर्ने उमेर । तर, किशोरावस्थाका, युवा अवस्थाका तन्नेरीहरु मानवसेवामा उभिएका छन् । उनीहरु जीवनको उत्तराद्र्धतिर सुखी दिन बनाउन त्यस्ता बेसहाराहरुको साथी बनिरहेका छन् ।
एउटा समूह एकदमै आकर्षक हिसाबले यो काममा लागिरहेको छ । देशका विभिन्न १० ठाउँमा करिब ५०० जना सहाराविहीनहरु यो सेवाबाट प्रत्यक्ष लाभान्वित भइरहेका छन् । मानव सेवा आश्रमको नामबाट हेटौंडाबाट सुरु भएको यो अभियान काठमाडौं, चितवन, पर्सा, गोरखा हुँदै रुपन्देहीसम्म पुग्दा १० ठाउँमा पुगिसकेको छ । उनीहरुको सपना छः वि.सं.२०८२ सालसम्म देशलाई नै बेसहाराविहीन सडक बनाउने । सन्तानको सहारा नपाएर कोहीपनि सडकमा जानु नपर्ने नेपाल बनाउने । उनीहरुले यसलाई ‘मानवताको शहर’ भनेका छन् । कतिपय ठाउँमा उनीहरुले यो घोषणा पनि गरिसकेका छन् । भरतपुर महानगरलाई पनि मानवताको सहर बनाउन प्रस्ताव गरिसकेको छ । खुला आकाशमुनि रात बिताउन बाध्य, घरबारविहीन, बेवारिसे, मनोरोगी, सहाराविहीन व्यक्तिको उचित व्यवस्थापन गर्दै महानगर क्षेत्रलाई मानवीय शहर बनाउने उनीहरुको सपना छ ।
भोकै, नाङ्गै बेबारिसे भइरहनु नपर्ने गरी दीर्घकालीन समाधान खोज्ने । अमानवीय क्रियाकलाप न्यूनीकरण गर्ने । परिवार र समाजबीचको सम्बन्ध सुमधुर बनाउने । सामाजिक सेवामा जनसहभागिता बढाउने । दूव्र्यसनमुक्त समाज निर्माण गर्ने । यी सपना उनीहरुको हो । समग्रमा यी सपना राज्यको हुनुपर्ने हो । राज्यले नै सडकलाई बेसहाराविहीन बनाउनुपर्ने हो । तर, मूल राजनीतिक मुद्धामा लड्दालड्दै हाम्रो राज्यले यस्ता सामाजिक विषय भुलेको छ । यस्ता सपना पूरा गर्नेमा ध्यानै दिन भ्याएको छैन । मानवसेवा आश्रमले सधैं मागेर ती बेसहारा पालिरहेको छ । मागेर सधैं चल्न सक्दैन । चल्नु पनि हुँदैन । यति ठूलो उपकारी काम गर्न भरपर्दो र नियमित आर्थिक स्रोत चाहिन्छ । त्यसका लागि बलियो भर चाहिन्छ । त्यो भर राज्यले दिन सक्छ । अरुले होइन । त्यसकारण यी युवाहरुको होटेमा हैंसे गर्ने काम अब राज्यले गर्नुपर्छ । यो सपना साकार बनाउन राज्य नै लाग्नुपर्छ । अनि बन्छ मानवताको सहर । मानवताको देश ।
सम्पादकीय : बनाऔं मानवताको देश
सम्पादकीय : बनाऔं मानवताको देश
तपाईको प्रतिक्रिया