विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१२ जेठ ।
माडी खरकट्टाका पुस्तक व्यवसायी खेमराज पौडेल बिहीबार भरतपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालयमा देखा परे । उनी कक्षा ६ देखि ८ सम्मका पाठ्यपुस्तक लिन आएका थिए ।
“गाउँ–गाउँका स्कूलमा अझै पाठ्यपुस्तक पुगैकै छैनन्”, उनले भने, “किताब ल्याइदिनुप¥यो भन्दै शिक्षक, अभिभावक आइपुग्छन्, नभएका किताब कहाँबाट दिनु ?” कक्षा ९ र १० का ऐच्छिक विषयका किताब नपाएर हैरानी खेप्नुपरेको उनी बताउँछन् । सामुदायिक विद्यालयमा भर्ना अभियान वैशाख २ गतेबाट सुरु भएको थियो । शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्न लाग्दासमेत विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न ढिलाइ भएको छ ।
भरतपुरस्थित क्षेत्रीय कार्यालयले नेपालका ११ जिल्लामा पाठ्यपुस्तक उपलब्ध गराउने काम गर्छ । यो कार्यालयले पुस्तक बिक्रेतासँग सम्झौता गरेर सूचीकृत गर्ने गर्छ । सूचीकृत भएका बिक्रेताले मागअनुसारका पाठ्यपुस्तक लगेर बेच्छन् । जनक शिक्षा सामग्री केन्द्रसँग सम्झौता गरी यो क्षेत्रमा पाठ्यपुस्तक उपलब्ध गराउन १ सय ७५ पुस्तक पसल सूचीकृत छन् । बारादेखि आइपुगेका लक्ष्मी पुस्तक भण्डारका सञ्चालक बुदनप्रसाद यादव निराश हुँदै बसेका थिए । “८ सय जति ऐच्छिक गणितका पुस्तकसहित अन्य अपुग किताब लैजाने गरी आएको हुँ”, उनले भने, “किताब आइपुगेको रहेनछ, फेरि अर्कोपटक आउनुपर्ला ।” उनी यसअघि पाठ्यपुस्तक लिन दुईपटक क्षेत्रीय कार्यालय धाइसकेका थिए । अपुग रहेका ६ को कम्युटर शिक्षा, ७ को स्वास्थ्य र शारीरिक, ८ र ९ को नेपाली र अंग्रेजी किताब भने पाए । करिब एक सय थान किताबपछि लाने गरी उनी फर्किए ।
रौतहट गौरका पुस्तक व्यवसायी महमद अनवर हासिम टन्नै किताब किनेर लैजाने सोचमा क्षेत्रीय कार्यालय छिरे । “चाहिएजति किताबै पाइएन”, उनले भने, “एक लाख बराबरको मात्रै किनियो, अपुग किताब लिन फेरि आउँछु ।” चुनावी चहलपहलले गर्दा पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको उनको बुझाइ छ । “८ कक्षाको १ विषय मात्रै पाएँ, ६ मा ३ विषयका किताब पाएँ”, उनले भने, “९ र १० को ऐच्छिक गणितको किताबै त यो वर्ष देख्न पाइएको छैन ।” किताब ल्याउन ढिलाइ गरेको आरोप खेप्न नसकेर दिनभरि मोबाइल बन्द गरेर बस्ने गरेको अनुभव सुनाए । “पढाइ सुरु भइसक्यो, किताब नै छैन”, उनले भने, “किताब लिन आयो, छैन भन्ने जवाफ आउँछ ।”
नेपाल पुस्तक तथा व्यवसायी महासंघ चितवन शाखाका सल्लाहकार गोविन्द आचार्य चितवनमा पाठ्यपुस्तक अभाव रहेको बताउँछन् । “८ देखि १० सम्मका अंग्रेजी र नेपाली विषयका किताब छ भन्दै विद्यार्थी आइपुग्छन्”, उनले भने, “पूरै सेट किताब प्रायः पुगेकै छैन, कुनै न कुनै किताबको कमी देखिन्छ ।” सामुदायिक विद्यालयमा र संस्थागत विद्यालयको पाठ्यक्रममा मिल्ने कतिपय किताबको अभाव रहेको बताए । “भर्ना सुरु हुनुभन्दा पहिले चितवनमा किताब बाँड्न सुरु भयो”, उनले भने, “अनुमानका भरमा व्यवसायीले थोरै पुस्तक लिए, पछि स्कूलको तथ्यांक केलाएर किताब माग्न जाँदा छैन भन्ने सुन्नुप¥यो ।” पढाइ सुरु भएकाले केही विद्यार्थीले पुरानै किताब पढ्न सुरु गरेको बताए । कक्षा–१० को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन भएको छ । अन्य कक्षाका पाठ्यक्रम र ऐच्छिक विषयका पाठ्यक्रम फेरिएको छैन ।
हप्तादिनमा आउँछः जनक शिक्षा
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय भरतपुरले एक हप्ताभित्र पाठ्यपुस्तक अभावको समस्या समाधान हुने दावी गरेको छ । पाठ्यपुस्तक छपाइको क्रममा रहेकाले केही ढिलाइ भएको जनाएको छ । चितवनसहित मकवानपुर, पर्सा, रौतहट, बारा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पामा पाठ्यपुस्तक उपलब्ध गराउने काम क्षेत्रीय कार्यालयको हो ।
“चितवनमा लगभग किताब पुगेको छ, केीि टाढाका जिल्लामा केही समस्या छ”, क्षेत्रीय कार्यालयका निमित्त प्रमुख मोहनकृष्ण श्रेष्ठले भने, “विगतभन्दा यो वर्ष सहजरुपमा पाठ्यपुस्तक उपलब्ध गराइएको छ ।” चितवनमा चैत १३ गतेदेखि वितरण कार्य सुरु भएको थियो । सुरुमा १८ लाख थान पाठ्यपुस्तक क्षेत्रीय कार्यालय भरतपुर ल्याइएको थियो । क्षेत्रीय कार्यालयमा २२ पटक ठुलो परिमाणमा पाठ्यपुस्तक भित्रिएका छन् । “३७ लाख ६० हजार थान हाम्रो लक्ष्य हो”, उनले भने, “करिब २१ लाख थान वितरण गरिसक्यौँ, माग भएमा १६ लाख थान भित्रिन्छन् ।” ५१ हजार थान पाठ्यपुस्तक मौज्जाद रहेको उनले बताए । यहि शनिबार ल्याइएका ७० हजार थान किताब लगभग वितरण भैसकेको बताए । छपाईको क्रममा रहेकाले ऐच्छिक गणितको किताब एक हप्ताभित्र आइपुग्ने उनले बताए ।
“चितवनमा अभाव छैन”, उनले भने, “एक वा दुई विषय पुगेनन्, बिक्रेताले एकैपटक अपुग किताब ठूलो परिमाणमा लैजाने सोचले पाठ्यपुस्तक नपुगेका हुन् ।” क्षेत्रीय कार्यालय भरतपुरको पछिल्लो तथ्यांकअनुसार कक्षा ६ मा ३ लाख ९२ हजार ८ सय ५४ थान, ७ मा ३ लाख ९६ हजारर १२ थान, ८ मा ४ लाख ९९ हजार ९ सय ३२ थान, ९ मा ३ लाख ९१ हजार ८ सय २२ थान, १० मा ३ लाख ४५ हजा १ सय ९५ थान पाठ्यपुस्तक बिक्री भएको जनाएको छ । शिक्षा मन्त्रालय र शिक्षा विभागले आवश्यक अनुगमन नगर्दा विद्यार्थी पाठ्यपुस्तकविनै पढ्न बाध्य भएका छन् । सुरुमा कागज अभाव, त्यसपछि मतपत्र छपाइमा व्यस्त रहेकाले जनक शिक्षा सामग्री केन्द्रले मागअनुसार पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको हो ।