विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२४ साउन ।
सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्दै आएका असहाय, अशक्त, अनाथ, अपाङ्ग एवं मनोरोगीको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमले भरतपुर महानगरलाई ‘मानवीयताको शहर’ बनाउन प्रस्ताव गरेको छ । खुला आकाशमुनि रात बिताउन विवश, घरबारविहीन, बेवारिसे, मनोरोगी, सहाराविहीन व्यक्तिको उचित व्यवस्थापन गर्दै महानगर क्षेत्रलाई मानवीय शहर बनाउन सुझाएको छ ।
यही जेठ २१ गते मेयर रेनु दाहाललाई रणनीतिक कार्ययोजना बुझाएको छ । भोकै, नाङ्गै बेबारिसे भइरहनु नपर्ने गरी दीर्घकालीन समाधान खोज्ने, अमानवीय क्रियाकलाप न्यूनीकरण गर्ने, परिवार र समाजबीचको सम्बन्ध सुमधुर बनाउने, सामाजिक सेवामा जनसहभागिता बढाउने, दूव्र्यसनमुक्त समाज निर्माण गर्नेलगायत १४ वटा उद्देश्यको सूची बनाइएको छ । यस्तै मानवीयताको शहर निर्माणका लागि मुख्य ९ र सहायक ८ सूचीसमेत पेश भएको छ । “सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गर्न प्रस्ताव गरेका छौँ”, मानव सेवा आश्रम चितवनका संयोजक सुशीला केसी ‘रुपा’ले भनिन्, “मानवीयताको शहरको रुपमा विकास गर्न स्थानीय तहको पहलकदमी आवश्यक छ ।”
मानव सेवा आश्रमले सहयोगापेक्षी मानवको उद्धार, उपचार, पालनपोषण, एवं पारिवारिक पुनर्मिलनको सेवा सञ्चालन गर्दै आएको छ । एक गास भोजन र एकसरो कपडाको अभावमा सडकपेटीमा संघर्षरत नागरिकको उद्धारका लागि मानवीय शहर बनाउन आवश्यक रहेको उनले बताइन् । महानगरका जनप्रतिनिधिलाई मानवसेवा आश्रमले गरेका गतिविधि जानकारी गराउँदै सडकमा कष्टकर जीवनयापन गरेकाको उद्धार गर्न ध्यानाकर्षण गराइएको थियो ।
महानगरलाई ३ पटकसम्म मानवीयताको शहर निर्माणका लागि अवधारणापत्र पेश भएपनि हालसम्म कुनै काम हुन सकेको छैन । “सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउन आवश्यक नियम र तरिका निर्माण गर्नुपर्छ”, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले भने, “घोषणा गरौँ, मानवीयताको शहर निर्माणमा हातेमालो गरौँ ।”
“२०७२ सालमै सर्वोच्च अदालतले स्थानीय तथा केन्द्रीय सरकारलाई दुःखी, असाहयलगायतका सहयोगापेक्षीको अभिभावक बन भनेर परामादेश भइसकेको अवस्था छ”, उनले भने, “३ नम्बर प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा प्रदेशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ । यी कार्यान्वयन हुनुपर्छ ।” उनले भरतपुर महानगरको सहकार्यमा सञ्चालित मानवसेवा आश्रमका रुपमा अघि बढ्न चाहेको बताए । महानगरले आश्रमको अभिभावकत्व लिएमा उद्धार तथा उपचारमा सहजता आउने बताए । आश्रमले हाल दाताको सहयोगका भरमा उद्धार तथा रेखदेख गर्दै आएको छ । शाश्वत चिन्तनअन्तर्गतको मानव सेवा आश्रमकै पहलमा गोरखा नगरपालिकाले घोषणा गरिसकेको छ । यस्तै काठमाडौं महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, ललितपुर महानगरपालिका, वीरगञ्ज महानगरपालिका पनि सहयोगापेक्षी सडक मानवमुक्त घोषणा हुने क्रममा छन् ।
मानव सेवा आश्रमको आफ्नै भवन
मानव सेवा आश्रम चितवन शाखाले आफ्नै भवन बनाउने भएको छ । २०७२ माघदेखि भरतपुर–१० मा भाडाको भवनबाट सडकपेटी र सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउँदै आएकाको आश्रमका लागि करिब ८ कठ्ठा जग्गा उपलब्ध गराइने भएको छ । भरतपुर–३, बेलचोकमा पूर्णकमल ट्रष्टले दिन लागेको जग्गामा करिब ३ करोड लागतमा भवन बनाउने लक्ष्य लिइएको छ । “जग्गा सहयोग हुने निश्चित छ, आश्रमकै नाममा जग्गा हस्तान्तरण हुने क्रममा छ”, जग्गा खोजी तथा भवन निर्माणका अभियन्ता प्रभातकुमार जोशीले भने, “भवनको डिजाइन भइसकेको छ, भदौ १३ गते शिलान्यास हुनेछ ।”
पहिलो चरणमा २ तलाको भवन बन्ने छ । १ सय ५० जनालाई आवासीय सुविधा दिन मिल्ने गरी बनाउन लागिएको छ । मानव सेवा आश्रमको भदौ १३ गते छैटौँ वार्षिकोत्सवको अवसर पारेर शिलान्यास गर्ने तयारी छ । भवन निर्माणका लागि दाताहरुबाट ९ लाख २८ हजार १ सय ११ रुपैयाँ संकलन भैसकेको छ ।
सडकबाट घर फर्किए
बेवारिसे अवस्थामा सडकमै बस्न बाध्य १ सय २६ जनालाई मानव सेवा आश्रम चितवनले घरको जिम्मा लगाएको छ । करिब ६ वर्षको अवधिमा भरतपुर, नारायणगढ र टाँडी क्षेत्रबाट उद्धार गरिएका ३ सय ५० जनामध्ये १ सय २६ जनालाई घरपरिवारमा पुनर्मिलन गराइएको छ । “सडकमा दुःख पीडा भोग्दै रात बिताउन बाध्य अशक्त, असहाय, मानसिक सन्तुलन गुमाएकालाई उद्धार गर्दै आएका छौँ”, मानव सेवा आश्रम चितवन शाखाकी संयोजक सुशीला केसी ‘रुपा’ ले भनिन्, “ठाउँ छैन भनेर उद्धार गर्ने काम रोक्दैनौँ, अन्य शाखामा राखेरै भएपनि पारिवारिक पुर्नमिलन गराउने गर्छौँ ।”
उपचारपछिको स्याहारसुसार, घर÷ठेगाना बताउन सक्नेलाई परिवारको जिम्मा लगाइएको बताइन् । चितवन शाखामा हाल ५२ जनाले आश्रय लिइरहेका छन् । जसमध्ये २७ महिला, २३ पुरुष र १÷१ जना बालबालिका छन् । निकै जटिल चोटपटक लागेका, असशक्त बनेका ५८ जनाको आश्रमले उद्धार गरेर केही समय स्याहारसुसार गर्दागर्दै निधन भएको छ ।
यस्तै ६८ जनालाई अन्य शाखामा राखेर स्याहार गर्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकाल, उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, सामाजिक अभियन्ता संगिता भट्टराई, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बीटुका पूर्वगभर्नर घनश्याम भट्टराईले मानव सेवा आश्रमको सेवा नमूना तथा प्रशंसायोग्य रहेको बताए ।
१ वर्षमा ४५ लाख बढी सहयोग
मानव सेवा आश्रमले एक वर्षको अवधिमा भएको खर्च तथा आम्दानी विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ४५ लाख ७९ हजार ६ सय १४ रुपैयाँ बराबरको सहयोग जुटेको जनाएको छ । भोजन सेवाका लागि १९ लाख ७४ हजार ४ सय ८०, आश्रमलाई प्राप्त सहयोग १२ लाख २ हजार २०, मुठीदानबाट ४७ हजार ८ सय ८१, भवन निर्माणका लागि ९ लाख ३ हजार १ सय १४, अक्षयकोषमा ७५ हजार १ सय ५ रुपैयाँ सहयोग आएको छ । आश्रम सञ्चालनका लागि ३६ लाख ५० हजार ३ सय ३ रुपैयाँ खर्च भएको छ ।