धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१२ जेठ ।
पूर्वी चितवनका नगर प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर)ले साझा अवधारणा बनाएर समग्र नगरको विकास गर्ने बताएका छन् । रत्ननगर उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा नगर प्रमुखहरुले पूर्वी चितवनलाई महानगर बनाउने योजनासहित अहिलेदेखि नै कार्यक्रम अघि बढाउने बताए ।
उनीहरुले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण तयार गर्न आफूहरु तयार रहेको पनि बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले एउटा नगरपालिकालाई नहेरी पूर्वी चितवनका चारवटै नगपालिकाको संयुक्त विकास आवश्यक भएको बताए । चितवनको टिकौलीदेखि पूर्व सबै नगरपालिकालाई छुने गरी चक्रपथ निर्माण आवश्यक भएको उनले बताए ।
“सबैलाई समेटेर भविष्यमा महानगर बनाउनुपर्छ, भागबण्डाको राजनीतिबाट हामी सबै माथि उठ्न सक्नुपर्छ”, वनले भने, “यसतर्फ मेरो ध्यान जानेछ ।” उनले समाज र आर्थिक समृद्धिका लागि साझा अवधारणा बनाउन आवश्यक रहेकोमा जोड दिए । पछिल्लो समय जग्गाको कारोबार सुस्ताएको भएपनि जग्गामा भन्दा उद्योग कलकारखानामा लगानी गरी बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । “रत्ननगरलाई ‘रत्न’ बनाउने मेरो अर्जुन दृष्टि छ”, संस्थापक नगर प्रमुखसमेत रहेका वनले भने, “समृद्ध नगर बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न नगरपालिका तयार छ ।” उनले अबको ६ महिनाभित्रै नगरमा केही परिवर्तन भएको नगरबासीले देख्न पाउनेसमेत उल्लेख गरे ।
खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले नीजी क्षेत्रसँग सहकार्य गरेर सामाजिक र आर्थिक समृद्धि गर्नुपर्ने बताए । “यहाँको कृषि, पर्यटन, उद्योग व्यवसायको विकासका लागि हामी चिन्तित छौं”, खैरहनी नगरपालिकाका प्रमुख चौधरीले भने, “त्यसका लागि निजी क्षेत्रको साथ चाहिन्छ, लगानीको वातावरण बनाउने जिम्मा हाम्रो हो ।” पूर्वसांसद्समेत रहेका चौधरीले पूर्वी चितवनलाई एउटै शहरको रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए । कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले बेनीघाट–शक्तिखोर राजमार्ग निर्माण गर्न आफूले सपना देखेको भन्दै व्यवसायीलाई लगानी गर्न तयार हुन आग्रह गरे । औद्योगिक क्षेत्र घोषणा गरिएको शक्तिखोरमा व्यवसाय सञ्चालन गर्न आउन निजी क्षेत्रलाई सुझाव दिए ।
“२ हजार विघा क्षेत्रफलमा औद्योगिक क्षेत्र घोषणा गरिएको छ, यसको प्रारम्भिक काम भइसक्यो”, नगर प्रमुख श्रेष्ठले भने, “उद्योग व्यवसाय गर्न यहाँ आउनुहोस् सुरक्षा दिने वातावरण हामी मिलाउँछौ ।” राप्ती नगरपालिकाकी नगर प्रमुख प्रभा बरालले सामाजिक रुपान्तरण, आर्थिक विकास गर्न तयार रहेको बताइन् । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले आर्थिक समृद्धिका लागि नीजी क्षेत्रसँग सहकार्य गर्न निर्वाचित जनप्रतिनिधीहरुलाई आग्रह गरे । “भौगोलिक सामरिक दृष्टिकोणले पूर्व चितवन महत्वपुर्ण स्थान हो”, बिसुरालले जनप्रतिनिधीहरुलाई भने, “उद्योग व्यवसायको संरक्षण गर्न लगानी मैत्री वातावरण सुनिश्चित गर्नुस् ।”
देशमा विद्यमान बेरोजगारी समस्या न्यूनीकरण गर्न पनि उद्योग व्यवसायको संरक्षण आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष गोपाल कर्मचार्यले राप्ती नगरपालिकामा जलसंरक्षण, परेवाकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । केरुङ–ठोरी राजमार्ग विस्तारको काम युद्धस्तरमा गर्न आग्रह गर्दै पूर्वअध्यक्ष कर्मचार्यले त्यो राजमार्गले समग्र पूर्वी चितवनको विकासले फड्को मार्ने विश्वास व्यक्त गरे ।
संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडी, खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलिया, कालिका नगरपालिकाकी उपप्रमुख कमला भट्टराई, संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।