विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२४ साउन ।
१३ महिना पहिले भरतपुर–१०, कोहीमार्गस्थित घरबाटै ११ तोला सुन हराएपछि शिला खड्का निकै चिन्तित बनिन् । त्यसको करिब १ महिनापछि सोही वडाको लाहुरेटोलमा बस्दै आएका सुरेन्द्र श्रेष्ठको ११ तोला ५० लाल सुन र ५ तोला चाँदी चोरी भयो ।
करिब ६ महिनापछि फेरि माघ ३ गते चित्रसेनमार्गबाट केवल बास्तोलाको घरबाट १७ तोला ८० लाल सुन र १० तोला ५ लाल चाँदी हरायो । यस्तै यही बैशाख १२ गते सोही वडाकै सप्तगण्डकीचोकबाट ओतिमाया थापाको घरबाट ८ तोला ९६ लाल सुन र २ तोला चाँदी चोरी भयो । गहना चोरीका उजुरी पटक–पटक पर्न थालेपछि प्रहरीलाई टाउको दुखाई बन्यो । गरगहना चोरीका घटना बढ्न थालेपछि प्रहरीले उच्च निगरानी बढाएपनि चोर पहिचान गर्न सकेन ।
“करिब डेढ वर्ष गरगहना चोरीका घटनाले प्रहरीलाई टाउको दुखाइको अवस्थामा पु¥यायो”, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले भने, “चोरी नियन्त्रण एवं अनुसन्धान समूह नै बनाएर खोजतलास गरिरहेका थियौँ, धेरै मेहनतपछि एउटै महिलाले ६ वटा घरमा चोरी गरेको खुल्यो ।” झट्ट हेर्दा सम्पन्न देखिने ती महिला चोरीमा लागेको पाएपछि प्रहरी नै चकित भयो । ताला लगाएको घरमा दिउँसै चोर्ने कार्यमा संलग्न आशंकामा पक्राउ परेकी महिलाले ४९ तोला २६ लाल सुन र १७ तोला ५ तोला चाँदी चोरी गरेको स्वीकारेको प्रहरी दावी छ । ती महिलालाई ३५ लाख १ हजार ७ सय २० रुपैयाँ बराबरको गरगहना चोरेको आरोप छ ।
कसरी भयो चोरी ?
मकवानपुर घर भएपनि काठमाडौं थानकोटमा अस्थायी बस्दै आएकी ३२ वर्षीया सरिता भनिने शोभा विक ११ गते भरतपुर–१०, रिजालचोकबाट पक्राउ परिन् । उनी गैंडाकोट–२ मा थकाली भान्सा घरकी सञ्चालक समेत रहेको प्रहरीले जनाएको छ । उनी साँझ आफ्नो होटलमा जान्थिन् । सुन चोरेपछि सुन बेच्न कहिले नारायणगढ त कहिले काठमाडौंसम्म पुग्ने गरेकी थिइन् ।
दिउँसो ताला लगाएका घर खोज्दै हिड्ने गर्थिन् । “भीआईपी एरियाका घर दिनभर घरमा ताला लगाएको अवस्थामा हुन्थे, ती घरमा उनी ह्याम्मर, पिलास र पेचकसले एक्लै चोर्दै आएकी रहिछन्”, प्रहरी प्रमुख राठौरले भने, “ताला छिनभरमै फोर्ने, किचनमा भएका फलफुल जुस खाने, शौच गर्ने, मस्तसँग चोरी गरेर भाग्दै आएकोे उनी आफै स्वीकार गर्छिन् ।” उनको सुन पसलसँग ‘कन्ट्याक्ट’ रहेकाले चोरी भएकै दिनमा आधा मूल्यमा बेचेर घर फर्किने गरेको पाइएको बताए ।
कसरी पहिचान भयो ?
जिल्लामा चोरीका घटना बढेपछि चोर पक्राउ गर्न प्रहरीले सूक्ष्म अनुसन्धान थालेको थियो । विश्वास एण्ड कम्पनीबाट बैंकमा रकम जम्मा गर्न भनी गएका कर्मचारीले नै २३ लाख २५ हजार लिएर फरार बने । उनी एक महिनापछि धरानबाट पक्राउ बने । हाम्रो इलेक्ट्रोनिक्स नारायणगढबाट घडी, मोबाइल र नगदसहित करिब ३० लाख ८० हजार चोरी भयो । चोरी गर्ने व्यक्ति भारतको मोतिहारीबाट पक्राउ परे । तर, गहना चोर्ने पत्ता लगाउन मुस्किल भयो ।
“सिसीटिभी फुटेजबाट छाता बोकेकी, झोला भिरेकी मोटी महिला पहिचान भयो, सोहीअनुसार पक्राउ ग¥यौँ”, प्रहरी प्रमुख राठौरले भने, “अनुसन्धानका क्रममा उनले चोरीमा आफ्नो संलग्नता स्वीकारिन् ।” सुरुमा उनले आफ्नो कोही नभएको, पाटी पौवामा सुत्ने गरेको भन्दै ढाकछोप गर्ने प्रयास गरिरहिन् । उनले चोरी घटनाका विवरण सुनाउन थालेपछि सोही आधारमा सुन किन्ने सुनचाँदी पसलका सञ्चालकसमेत पक्राउ परे ।
काठमाडौंबाट सानुरत्न शाक्य, नारायणगढबाट लेखबहादुर विकले चोरीका गहना खरिद गरेको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट खरिद भएका गहनासमेत बरामद भएको छ । चोरी गरेको स्वीकार गरेपछि उनलाई मुलुकी ऐनको चोरी महलअन्तर्गत मुद्धा चलाइएको छ ।
सहयोगी हुन सक्ने आशंका
शोभाले चोरी गर्दा सहयोगी लिने गरेको हुन सक्ने प्रहरीको अनुमान छ । ताला लगाएको घरको चाबी फोरेर भित्रिएपछि बाहिरी अवस्था हेर्न एक महिलालाई खटाउने गरी प्रारम्भिक अध्ययनले देखाएको छ । सानो बच्चा लिएर घर अगाडि उभिने र कोही घर भित्रिन खोजे बच्चालाई चिमोटेर रुवाउने र सो सुनेपछि भित्र चोर्न गएकी शोभा भाग्ने गरेको पाइएको छ । घटनामा संलग्न ती महिलाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सहकारीमा बढ्यो चोरी
सहकारीमा चोरी घटनाका उजुरी प्रहरी कार्यालयमा दर्ता हुन थालेका छन् । भरतपुरको प्रभात दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थामा चोरी भयो । करिब पाँच लाख रुपैयाँ चोरी भएको संस्थाले जनाएको छ । पछिल्लो ६ महिनामा ९ वटा सहकारीमा चोरी भएका छन् । तर, चोर पहिचान भएको छैन । “सहकारीमा चोरी गर्नेलाई छिट्टै पक्राउ गदैछौँ”, राठौरले भने, “स्पेसल टिम नै बनाएर अनुसन्धान गरिरहेका छौँ, सिसीटिभी फुटेज अध्ययन भइरहेको छ ।” जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा १७ र अघिल्लो आर्थिक वर्षमा २० वटा चोरीका घटना भएका थिए । प्रहरीले मोबाइल, ल्यापटप, रकम चोरी गर्ने ‘खुक्रुके चोर’ लाई पक्राउ गर्दै आएको छ ।
तीजमा गहना नलगाउन सुझाव
जिल्ला प्रहरी कार्यालय चितवनले चाडवाडमा गरगहना प्रदर्शन नगर्न सुझाएको छ । चाडवाडमा ‘सेफ’ मा राखिएका गहनासमेत झिकेर लगाउने चलन हुन्छ । “शरीरभरि गहना लगाएर हिड्दा चोर आकर्षित हुन्छ”, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख राठौरले भने, “चोरले फलो गर्न सक्छ, बेलैमा सतर्क हुनुपर्छ ।” गरगहना, नगदको उचित व्यवस्थापन गरेर राख्न उनले सुझाए ।