धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२२ साउन ।
चितवन प्रहरीले घरेलु मदिरा नष्ट तथा सामाजिक विकृति न्यूनीकरण अभियानलाई तीव्रता दिएको छ । चितवन प्रहरीको थ्री एस (सर्च, स्वीप, स्क्रीन) अवधारणाअनुसार यो अभियान विगत एक महिनादेखि सञ्चालित छ ।
यो अभियानअन्तर्गत समाजमा प्रत्यक्ष प्रभाव पार्ने अपराधसँग सम्बन्धित लागूऔषध दुव्र्यसनी तथा ओसारपोसार, अवैध घरेलु मदिरा बिक्री वितरण तथा सेवन, जुवातास, क्यारेमबोर्ड, पोटजस्ता अन्य सामाजिक विकृतिका कार्य न्यूनीकरण गर्न चितवन प्रहरीले थ्रीएस अपरेसन सञ्चालन गरेको हो । यो अभियानका लागि जिल्ला प्रहरी कार्यालयमातहत कार्यालयलाई खटाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौर चितवन नियुक्त भएपछि यो अभियान सञ्चालन गरिएको हो । यो अभियान विशेषतः लागूऔषध लक्षित गरी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
सोही अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय भण्डाराले अहिलेसम्मकै ठूलो परिमाणको अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । सोमबार राप्ती नगरपालिकाका जनप्रतिनिधि, पत्रकारहरुको उपस्थितिमा करिब २ हजार ३ सय लिटर अवैध मदिरा नष्ट गरिएको हो । पछिल्लो एक सातामा राप्ती नगरपालिका–१ देखि ८ नम्बर वडामा सञ्चालन गरेको अभियानबाट ८ सय लिटर तयारी घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ १ हजार ५ सय लिटर बरामद गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक बसन्त आचार्यले बताए ।
साथै मदिरा बनाउन प्रयोग गरिने ४० थानभन्दा बढी भाँडा नियन्त्रणमा लिएको उनले बताए । राप्ती नगरपालिकाका उपमेयर ईमानसिंह लामा, वडाध्यक्षहरु बुद्धिराज थपलिया, सुमिता डल्लाकोटी, देवेन लामा, जल्लु महतो तथा पत्रकारहरुको रोहबरमा बरामद गरिएको सो परिमाणको घरेलु मदिरा नष्ट गरिएको हो ।
सो क्रममा राप्ती नगरपालिकाका उपपमेयर लामाले घरेलु मदिराका कारण समाजमा विकृति फैलिरहेको भन्दै प्रहरी प्रशासनले गर्ने काममा नगरपालिकाको साथ रहने बताए । साथै उपमेयर लामाले घरेलु मदिरा उत्पादन गर्नेहरुलाई विकल्प दिएर अन्य आजआर्जनको काम लगाउनुपर्नेमा जोड दिए । “अवैध मदिरा नष्ट गर्नु विकृति रोक्ने प्रयास हो”, उपमेयर लामाले भने, “नियन्त्रण गर्न खोजिरहँदा उनीहरुलाई विकल्प दिएर आयआर्जन गराउने कामप्रति पनि अभिप्रेरित गर्नुपर्छ ।”
“घरेलु मदिराकै कारण राप्तीमा १ महिलाको मृत्युसमेत भएको छ”, प्रहरी निरीक्षक आचार्यले भने, “यो अभियानले स्वस्थ समाज निर्माणका साथै शान्त समाज बन्ने हाम्रो अपेक्षा छ ।” घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गर्ने अभियान सुरु भएपछि पारिवारिक झै–झगडा, छिमेकीसँग झगडा, समाजमा अशान्ति मच्चाउने क्रम रोकिएको र सवारी दुर्घटनामा पनि कमी आएको आचार्यले बताए ।
१२ सय नियन्त्रणमा
थ्री एस अभियानअन्तर्गत चितवन प्रहरीले १ हजार २ सय ३६ जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जानकारी दिए । सोमबार नारायणगढमा आयोजित कार्यक्रममा उनले त्यसमध्ये ३०५ जनालाई कारबाही गरिएको बताए । “विभिन्न गतिविधिमा संलग्नताको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लियौं”, उनले भने, “त्यसमध्ये संलग्न पाइएकालाई कारबाही ग¥यौं ।” शान्त र सुरक्षित चितवनको परिकल्पना आफूले गरेको बताउँदै उनले यसमा सबैको सहयोग चाहिने बताए । गुण्डागर्दी, लागूपदार्थ उत्पादन, ओसारपसार र सेवन, हतियारको प्रयोग तथा ओसारपसार, जुवातास, अवैध यौनधन्दा नियन्त्रणमा प्रहरीले अभियान चलाइरहेको उनले बताए ।