चितवन, २० साउन ।
११ वर्षीया समृद्धि तिमल्सिनाले पहिलो गीत सार्वजनिक गरेकी छन् । रमेश अधिकारीले रचना गरेको ‘माथि–माथि हिउँचुली’ बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा चक्रपाणि तिमल्सिनाले संगीत भरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत गीत रिलिज भएको जानकारी गराउँदै संगीतकार तिमल्सिनाले समृद्धिको गायन प्रतिभा विलक्षण भएको बताए । सानैदेखि गीत गाउनमा धेरै रुचि राख्ने समृद्धिले विद्यालयस्तरमा हुने गायन प्रतियोगितामा सधंै अग्रस्थानमा रहने गरेको आमा बबिताले जानकारी दिइन् ।
राष्ट्र प्रेमको भाव बोकेको यो गीत सरल र मिठो लयमा छ । नेपाली गीत संगीत क्षेत्रमा ख्याती कमाएकी चर्चित गायिका मेलिना राईको अनुयायी र प्रशंसक रहेकी समृद्धिले गीत रेकर्ड गर्दा स्टुडियोमा भेट भएका सबैलाई आकर्षित गरेको संगीतकार तिमल्सिनाले बताए ।
गीतमा संगीत संयोजन राजु खड्काले गरेका छन् भने डिजिटल काठमाडौंमा रेकर्ड गरिएको हो । समृद्धि पूर्वी चितवनको रत्ननगरस्थित स्काईराइडर आवासीय माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्यनरत छिन् ।
समृद्धिको गीत हेरौं तलको भिडियोमा