टीका सापकोटा
एउटी अवाक नारीको सङ्घर्षको दस्तावेज हो ‘सञ्जीवनी’ । हाम्रै सामाजिक परिवेश, गाँउकी फरक क्षमता भएकी पात्रलाई नायिका बनाएर उसको जीवन यथार्थ वर्णन गरिएको यो उपन्यास फरक स्वादको छ ।
जीवन सोचेजस्तो सरल र चाहेजस्तो सुन्दर अवश्य छैन । हरेक व्यक्तिका आ–आफ्नै कथा व्यथाहरु छन् । कतिले बताउँछन् त कतिपयले आफ्नै मनभित्र दबाएर राखेका हुन्छन् ।समाजमा बसेपछि हरेक किसिमको परिस्थितिसँग जुध्नुपर्ने हुन्छ ।
हरेक क्रियाको प्रतिक्रिया जनाउनुपर्छ । यस्तो परिस्थितिमा क्रियाको प्रतिििक्रया तुरुन्तै गर्न सक्नु र नसक्नुको पीडा फरक हुन्छ । आफ्नो मनमा भएका कुरा तुरुन्त व्यक्त गर्न नसक्नु, व्यक्त गरेका कुरा सामान्य व्यक्ति जो कोहिले नबुझ्नुले जीवनलाई कति बोझिलो बनाउँछ भन्ने कुरा यस उपन्यासकी मुख्य पात्र पूजाको जीवनले स्पष्ट पारेको छ ।
पूजाले काम गर्न सुरु गरेको नयाँ अफिसबाट उपन्यासको सुरुआत गरिएपनि जन्मदेखि विवाहपछिको पाँच वर्षसम्मको अवधिलाई यस उपन्यासमा समावेश गरिएको छ । बाबाको लापरबाही र असुरक्षित यौन सम्पर्कबाट बुढेकालमा जन्मेकी पूजाले गर्भमै रहँदादेखि यो धर्तीमा टेक्नका लागि आमाले खाएको विषसँग लड्नुपरेको छ ।
उमेर बढ्दै जाँदा पनि बोल्न नसकेपछि पूजाको जीवन लाटो बनेको छ । सानैदेखि परिवार र समाजबाट अबहेलित भएर बाँच्न बाध्य छे पूजा । आफ्नै साथीभाइका नानाथरि शब्दको पीडा र यौवनावस्थाको सुरुआतमा केटाहरुबाट भएका यौन दुव्र्यवहारको सामना गर्दै गाउँबाटै प्रवेशिका पास गरेर छात्रावृत्तिमा +२ पढ्न पूजा सहर जान्छे । पढाइसँगै संकेतिक भाषामा प्रशिक्षण लिएपछि भनेै बोलीचालीका लागि सजिलो भएको छ । पूजाले एन टिभीमा समाचार वाचन, क्याफेमा एकाउन्टेन्ट हुँदै रोहित र प्रमेशको सहयोगबाट ‘एनजीओ’मा जागिर गर्छे । बालबालिकाका क्षेत्रमा काम गर्ने यही अफिसमा समय बित्दै जाँदा प्रमेशसँग प्रेम र विवाह हुन्छ ।
एक्लो र आवजविहीन पूजाको जिन्दगीमा प्रमेश सहरा र आवज बनेर आउँछन् । तर, यो सम्बन्ध धेरै लामो समय टिक्न सक्दैन । प्रमेशले विवाह भएको छ महिनामा नै आफ्नो असली रुप देखाउँछ । सरितासँग प्रेम गरेर एक अर्कामा समर्पित भइसकेपछि पूजासँग विदेश जान पाउने र धेरै धनआर्जन गर्न सकिने लोभले सरितासँग सहमति गरेर विवाह गरेको प्रमेशकै मुखबाट सुनेपछि पूजा मर्माहित हुन्छे । मानसिकरुपमा स्वीकार गर्न नसकेपनि भौतिकरुपमा भने सँगै बस्न बाध्य भएकी छे । विवाहअघि प्रमेशको व्यवहार जस्तो थियो विवाहपछि ठीक उल्टो हुन्छ ।
विवाह भएपछि प्रेम मर्छ त ? यस्तै प्रश्न गर्न बाध्य हुन्छ पूजाको मन । यति मात्र होइन, समुद्रमा बोटिङ गर्दा नाङ्गै बनाएर फोटो लिन खोजेको प्रमेशसँगको भनाभनमा बोट दुर्घाटना हुन्छ । आवाज निकालेर इन्कार गर्न नसकेको जीवनको पीडादायक पल यहाँ देखाइएको छ, जुन पूजाले भोगेकी छे ।
स्वीट्जरल्यान्डमा पनि पूजालाई नशा पिलाएर प्रमेश र उसको विदेशी साथी मिलेर सामुहिक बलात्कार गर्छन् । नारीले आफ्नो पतिलाई सर्वस्व ठान्छे । ऊसँग रहँदा आफू सबैभन्दा बढी सुरक्षित महसुस गर्छे, उसैले आफ्नो अस्मिता बिक्री गर्ला भन्ने कहिल्यै कल्पनासम्म गर्न सक्दिनन् पूजाले । तर, प्रमेशले सम्पत्तिको लोभमा परेर आफ्नै श्रीमतीलाई लुटाउँछ ।
आफ्नै पतिबाट हिंसाको सिकार भएकी पूजा एक्लै नेपाल फर्किन्छे । तर, प्रमेशबाट विविध कारणले छुट्न सक्दिनन् । लामो समयसम्म सन्तानको चाहना हुँदाहुँदै निसन्तान बनेकी पूजा उपचारपछि गर्भवती हुन्छे । जीवनमा सबैभन्दा ठूलो खुसी प्राप्त गरेझैँ पूजालाई लाग्छ । प्रमेश भने कत्तिपनि खुसी छैन । घरमा रिसाउने र झगडा गर्ने त कहिले घरमै नआउने गर्न थाल्छ । गर्भवती भएकी पूजालाई मनपरि भोग गर्न नपाएको रिसमा नशामा आएर आफ्नै घरमा काम गर्ने शिवाको इज्जत लुट्छ । डर र धम्कीकै भरमा फर्कदै गरेको कोपिला निमोठ्छ । यी सबै कुरा थाहा पाएर पूजाले मृत्युदण्डको सजाय छ भने आफ्नै पतिलाई होस् भनी कामना गर्छे ।
शिवालाई उजुरी लेखाउन सल्लाह दिन्छे । तर, शिवाले ‘म एकपटक बलात्कृत भएँ, यो कुरा थाहा पाएर समाजले मलाई पटक–पटक बलात्कार गर्छ । मेरी बूढीआमा र भाइबहिनीको जिन्दगी बर्बाद हुन्छ’ भन्दै आफू पीडा सहेरै बाँच्ने उजुरी नलेखाउने कुरा गर्छे । शिक्षित र ज्ञानी व्यक्तिबाटै यस्ता अनेक हिंस्रक क्रियाकलाप हुन्छ भने अशिक्षित र अज्ञानी पुरुषबाट कस्तो आशा राख्ने ?
पूजा आफ्नो घरै छाडेर तुलजा दिदीकोमा बस्न जान्छे । शिवालाई पनि तुलजाले उपचार गरेर पढ्नका लागि विद्यालयमा भर्ना गरिदिन्छिन् । केही समयपछि पूजाले छोरी जन्माउँछे । छोरीको नाम सञ्जीवनी राख्छे । आफूले किनेको घडेरीमा सबैको सहयोगबाट सञ्जीवनी बालआश्रम खोलेर समाज सेवाकै धरातलमा बाँकी जीवन जीउने प्रण गर्छे । यसरी जीवनमा अनेक पीडासँग कुस्ती खेल्दै सार्थक जीवन जीउने प्रण गरेकी पूजा यस उपन्यासकी सशक्त पात्र हुन् ।
नेपालको गाउँले तथा सहरिया जीवनशैलीदेखि स्वीट्जरल्यान्डसम्मको परिवेश उपन्यासमा समेटिएका छन् । पूजाको जिन्दगीको संघर्षपूर्ण यात्रासँगै समाज सेवाका नाममा खोलिएका बालआश्रमभित्र हुने गरेका यौनशोषण, जबरजस्ती धर्म परिवर्तन गराउनेजस्ता अमानवीय कार्य, प्रमेशका माध्यमबाट यौनपिपाषू र हिंस्रक पुरुष प्रवृत्तिसमेत विषयवस्तुका रुपमा आएका छन् प्रस्तुत उपन्यासमा । उपन्यासको भाषा शैली सरल र सरस छ भने कथा पनि पूर्ण छ । जीवनमा जस्तोसुकै परिस्थिति आएपनि धैर्यताका साथ संघर्ष गर्दै अगाडि बढ्न उपन्यासले प्रेरणा प्रदान गरेको छ ।
जीवन जसरी सोचिन्छ, त्यति सरल छैन । समाज जस्तो देखिन्छ भित्रीरुपमा त्यति सभ्य छैन । मानिस बाहिर जति सुन्दर देखिन्छ, त्योभन्दा कयौँ गुणा बढी हिंस्रक पनि छ । त्यसैले हरेक अवस्थासँग जुध्न सक्ने क्षमता राख्नुपर्छ । एकपटक पाएको जीवन त्यसै खेर फाल्नु हुँदैन । यसलाई आफ्नै सीपले सजाउनुपर्छ, सिंगार्नुपर्छ भन्दै जीवन जीउने कला सञ्जीवनीले सिकाएको छ ।
करिब आढाइ दशक अघिदेखि साहित्यको क्षेत्रमा साधनारत कल्पना श्रेष्ठ कल्पपुञ्जको पछिल्लो कृति सञ्जीवनी हो । यो उपन्यासलाई २०७४ फागुनमा शिखा बुक्सले बजारमा ल्याएको छ । २५० मूल्य राखिएको यस उपन्यासको वितरकमा ज्ञानज्योति बुक्स पब्लिकेसन्स रहेको छ । जम्मा २१४ पृष्ठमा संकलित यस उपन्यासको मुख्य विषयवस्तु २०१ पृष्ठमा छ । कल्पनाका यसभन्दा अघि ‘अनिश्चित यात्राका हरफहरु’ (कविता संग्रह, २०६०), ‘अन्त्यहीन जीवन (खण्डकाव्य, २०६१), ‘कल्पपुञ्ज’ (गजल एल्बम, २०६८), ‘ए ! फूलका मालीहरु (गजल संग्रह, २०६९) जस्ता विविध साहित्यिक कृतिहरु प्रकाशन भइसकेका छन् । हाम्रै समाजमा भएका आवाजविहनिहरुका नाममा सञ्जीवनी समर्पण गरिएको छ । समाजमा विद्यमान हिंसालाई विषयवस्तु बनाइएको भएपनि फरक क्षमता भएकी नारीलाई प्रमुख पात्र बनाउनु यो उपन्यासले दिएको फरकपन हो ।
यो उपन्यास पढ्दा पाठकलाई कतै–कतै पूजा त्यस्तो नरपिचाश, यौनपिपाषू पुरुषसँग लामो समय किन बसी होला ? शिवालाई प्रमेशविरुद्ध उजुरी दिन सक्ने किन बनाइएन भन्ने लाग्न सक्छ । तर, गहन अध्ययन गर्ने हो भने एउटी आवाजविहीन नारीले जे गर्न सक्थी, त्यो सबै गरेकी छे । पाप धुरीबाट कराउँछ भनेझैँ प्रमेश पूजाबाट छुट्टिएपछि विविध हिंसा र अनैतिक कामको केसमा एयरपोर्टबाटै गिरफ्तार भएर जेलमा परेकी छ । सरितालाई प्रेमिका बनाएर, पूजालाई श्रीमती बनाएर मारिनालाई साथीसँगै रमाइलो गर्ने बहानामा नशामा लठ्याएर, आफ्नो घरमा काम गर्ने शिवालाई डर धम्की देखाएर अस्मिता लुटेको प्रमेशको जीवन जेलमै सकिने देखाइएको छ । उसले गरेका हरेक अपराधको सजाय भोगेको छ ।
यो संसारमा हरेक युगमा नारीहरुले नै विविध किसिमका हिंसा सहदैं आएका छन् । हाम्रा धर्मशास्त्रमा वर्णित नारी पात्रहरु सीता, राधा, द्रौपदीले अनेक बहानामा हिंसा सहनुपरेको थियो । हामी आज एक्काइसौं शताब्दीमा छौं, समाज परिवर्तन भएको छ । तर, पुरुष मानसिकता भने बदलिन सकेको छैन । व्यक्ति तथा समाजमा भौतिक परिवर्तन भएर मात्र हुँदैन, हरेक व्यक्तिको मानसिकता र नारीप्रति हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउन आवश्यक छ ।
आठ महिने बालिकादेखि ७० वर्षे वृद्धासम्म बलात्कृत हुने हाम्रो समाज कहिले परिवर्तन हुन्छ ? आफन्त र पतिबाटै असुरक्षित नारी कहाँ गएर सुरक्षित हुन्छे ? यी उपयान्सले उठाएका सवाल हुन् । विवध तरिकाले हिंसामा परेका व्यक्तिहरुको जीवन निराशाले भरीएको हुन्छ । सञ्जीवनीले यस्तै फरक क्षमता भएका र पीडित बालबालिका तथा युवालाई सार्थक जीवन जिउन प्रेरित गरेको छ । जीवनदायिनी शक्ति बनेको छ सञ्जीवनी ।