धनराज गिरी
पत्याउने नपत्याउने आफ्नो ठाउ“मा । मैले लेख्ने कुरा म आफैले देखेको र भोगेको हो । बाबुराम पुरीको जेठान र खर्राट छत्तीसे भएका कारणले धनराज गिरीले शहीद स्मृति बहुमुखी क्याम्पसमा प्रवेश पाएको हो । मनमा यस्तो धारणा राख्ने महामानवहरु पनि छन पूर्वी चितवन । त्यो कालखण्डका निर्णायकहरु ‘शेषनाथ अधिकारीज्यू, रामबाबु सर र तिलकराज शर्मा दाजी’ हुन् । उहा“हरुलाई नै सोधे हुन्छ । कुनै शनिबार ‘पप्लु’ खेलेको ठाउँमा रामबाबु सर र म एउटै खालमा थियौं । त्यही सरले प्रस्ताव राख्नुभयो,’ धनराज, अब आए हुन्छ, एम ए पास हुँदै गरे हुन्छ । ’ पहिलो पटकको आमन्त्रणमा म गइन । भनें, ‘सर, पहिलो दिन परिचय दिंदा बि.ए पास भन्नुपर्छ, लाजलाग्दा म एम.ए. को प्रमाण–पत्र लिएर मात्र आउँछु ।’ यो थियो २०४७ सालको कुरा । २०४८ सालमा एम.ए द्वितीय वर्षको परीक्षा दिंदा आत्मविश्वास पास हुनेमा ढुक्क । धेरै साथीहरु प्रशिक्षक भएरै प्रवेश गरेका । दोस्रो निम्तो मानें ।
यसरी २०४८ साल फागुन १४ गते क्याम्पसमा पहिला कक्षा लिएँ । आजसम्म जति ठाउँमा जागिर खाएँ इज्जतका साथ बोलाएर नै गएँ । ‘जय नेपाल र लालसलामको’ आडमा कहिल्यै पनि जागिर टिकाउने खेल खेल्न परेन । अभिभावक र प्याराप्यारा चेलाचेलीको विश्वास, सम्मान र मायाले मलाई ४२ वर्ष यही पेशामा रहने बनायो । यो पेशालाई म हृदयतः सम्मान गर्दछु । अनि आफ्ना तीन सन्तानलाई यसरी संझाएँ, ‘यसरी पढ यति योग्य बन कि कामले तिमीहरुलाई खोजोस् बाबुराम पुरी र धनराज गिरीको आडमा जागिर खाने सपना नदेख्नु ।’ भनेजस्तै भयो । सबै सातसिन्धु टरेर स्वाबलम्बी बने, अर्कै सन्सारमा पुगे । मैले केही पापड बेल्नै परेन । आनन्द ।
यही संस्था र परम्परा रह्यो मेरो । बनें स्वभिमानी र बागी पनि । अन्याय देख्न नसक्ने । एल.बी. क्षेत्री, राजकृष्ण कँडेल, कृष्णराज हमाल, शिवबहादुर गुरुङ, बीरबहादुर गुरुङ, पूर्ण बहादुर बस्नेत, घनश्याम प्रधान, पूर्ण दवाडी, चिरञ्जीवी श्रेष्ठ, सरस्वती रिजाल जस्ता सफल र इज्जतदार संस्था नायकहरुको जीवनपद्धति देखेर म पनि एउटा आदर्श शिक्षक बन्ने कल्पनामा डुबें । यता ‘ रामशरण पाठक’ सरको गुणगान धेरै सुनें । मैले उहाँलाई प्रत्यक्ष भोग्न पाइन ।
आजसम्म टाँडी क्याम्पसमा कसैले पनि ‘पाठक सर जस्तै’ संस्था नायक भन्ने पगरी गुथ्न पाएन ।सबैको इतिहास त्यस्तै त्यस्तै भयो । हरेक पव्लिक कलेजमा ‘वाह’ भन्ने किसिमका संस्था नायक कोही पनि भएनन् एउटा एल.बी क्षेत्रीले आफ्नो ‘शैली’ देखाएर ‘स्वर्णकाल’ बनाएर जानुभयो । मलाई पनि तीन तीन पटक शहीद स्मृति बहुमुखी क्याम्पसमा संस्थानायक हुनुपर्छ भनेर उचालियो । वास्तवमा अति नै भद्रगोल र क्षुद्र पात्रहरु जम्मा भएको ठाउ“मा भित्री हृदयबाट म कहिल्यै पनि तयार भइन । तर मौका दिएको भए यो लहडी जोगीभत्र अर्को कस्तो मान्छे थियो देखाइदिने थिएँ । धरातलीय यथार्थ के हो भने रामबाबु घिमिरेज्यू पछि प्राकृतिक सिनियर र लोकले राम्रोसित पत्याएको पात्र म नै थिएँ । यो यथार्थ हो ।
घमण्ड होइन । केही उच्चस्तरका मानिसहरु म नायक भएको हेर्न चाहन्थे । तर शैक्षिक धरातल र सामाजिक धरातल केही पनि नभएका झारपातहरुको घर घरमा गएर ‘म क्याम्पसप्रमुख हुन्छु’ भनेर मगन्ते अनुहार बनाउनु भन्दा जन्मले नै जोगी, बरु मागेर खान्छु भन्ने निर्णय ग¥यो आत्माले । म ढोकाढोकामा पुग्ने कुरै आएन । कतिपय समितिका मान्छेहरु मेरा लागि नौला ।
अठोट गरें, अब मभरिको सुन र मासिक तलब रु. तीन लाख पाए पनि यो भकारो सार्ने छैन । बरु जो हुन्छ, त्यसलाई सघाउने, हरेकलाई सघाएँ । कुसुमराज सुवेदी साक्षी छ, उसले भन्छ मैले कहाँ असहयोग गरें ? कसरी बनिन्छ एउटा इज्जतदार संस्था नायक ? उसले स्वतन्त्र भएर विवेक प्रयोग गरेर काम गर्न पाउने कि नपाउने ? लौ सुनांै यथार्थ कथा ः २०६३ साल साउन महिनाको जनै पूर्णिमामा आदरणीय विनोदी गुरु ससुराली आउनु भयो । विजय सामुदायिक शिक्षा सदनमा प्राचार्य चाहिएको रहेछ । मैले ठट्टा गरेको थिएँ । गैंडाकोटे इष्टमित्रहले सारै नै गर्नुभयो । उहाँहरुको सम्मान र विश्वासलाई सम्मान गर्दै गएँ म संस्था नायक भएर ।
मेरो जागिरे जीवनको ‘सर्वोत्तम जागिर’ त्यही हो । पाएको सुविधाको तुलनामा मैले समय विनियोजन गर्न सकिन । त्यतिखेरको रु.२२,००० तलब थोरै थिएन । घरमा सीताजी र आमा मात्रै । छोड्न नमिल्ने । भरतपुरमा घर भएको भए मैले गैंडाकोट नछोड्ने । पूरै स्टाफ प्रफुल्ल । अभिभावकहरु खुशी । समिति पनि जे भन्यो त्यही मान्ने । स्टाफ भन्दथे, ‘सर, हामीले हाकिम होइन, आफ्नै बाउ पाएजस्तो लागेको छ ।’ झुट होइन । गैंडाकोट टाढा छैन । एक दिन बाइक दुर्घटना भएर भण्डै ठूलै नोक्सानी भएको । हरेक दिन ५० कि.मी. यात्रा । जोखिमै जोखिम । विवश भएर राजीनामा दिएँ । रोए स्टाफ । समितिले पनि सारै मन दुखायो ।
साच्ची नै एउटा नजानिदो सन्तुलन कायमै भएको थियो । मैले छोडेपछि दुई ‘भाइस प्रिन्सिपल’ पनि हिंडे । अरु पनि हिंडे । एउटा उपन्यास बन्ने कच्चापदार्थ बोकेर फर्किएँ म । एकदिन मेरो प्रिय मित्र, अलि स्वाभिमानी, भानुप्रसाद उपाध्यायले यस्तो मन्त्र दियो, ‘हेर गिरी, सबै दलका प्रतिनिधिहरु मिलेर तेरो घरमा आएर अनुरोध गरेमा त्यो पगरी भिर्नु, अन्यथा भएमा मौन बस्नु ।’ जीवनपद्धति आ–आफ्नो हुन्छ । मेरो जीवनको नियम यस्तै बन्यो । शक्तिकेन्द्र धाउने बानी नै परेन । जे पाएँ, त्यसैमा रमाएँ । केदारनाथ खनाल, मेरा आदरणीय मानसपिता, उहाँले भन्नुभयो, ‘ धनराज सर, अब त्यो क्याम्पस प्रमुख पद तपार्इंका लागि सुहाउने पद होइन ।’
यस्तो वाणी अन्त पनि सुनें । ‘कोही पनि नटिक्ने पदमा मैले कुन जादु गरौंला र ?’ यस्तो पनि सोचियो । यतिखेर आजका मितिसम्म, शहीदस्मृति बहुमुखी क्याम्पस नायक बिहीन छ । आज निर्णय होला भन्ने झिनो आशा छ । प्राध्यापक र कर्मचारीहरुको बहुमत ‘सिनियर सहप्राध्यापक र राधाबालिकाको पक्षमा छ ।’ केही पात्रहरु कछाड कसेर उनलाई संस्था नायक बन्न नदिने खेलमा न्वारानदेखिको बल लगाएको कायाकैरनमा पढिरहेको छु । सबैको विवेकले काम नगरेमा सर्वकल्याण हुन्न । जटिल मोडमा पुगेका छ संस्था । हेरौं, के हुन्छ ? आशा छ, राम्रै हुनेछ । इज्जत जोगिने छ ।