भरतपुर, २० साउन ।
चितवनका एम्बुलेन्समा अत्याधुनिक प्रविधि जीपीएस जोडिने भएको छ । तत्काल उपलब्ध हुने एम्बुलेन्स कुन क्षेत्रमा छ भन्नेबारे जानकारी पाउने गरी जीपीएस ट्रयाकिङ सिस्टम जडान गर्न लागिएको हो ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपालले टेक्नोलोजी सेल्स प्रा.लि. काठमाडौंसँगको सहकार्यमा १०० एम्बुलेन्समा जीपीएस जोड्न लागेको संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।
आइतबार भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश ३ का सांसद् घनश्याम दाहालले जीपीएस सिस्टमको सुरूआत गरे ।
टेक्नोलोजी सेल्सका प्रतिनिधि राम रिमालले इन्टरनेटको माध्यमबाट कुन एम्बुलेन्स कुन क्षेत्रमा छ तुरुन्तै थाहा पाउन सकिने बताए । “अब एम्बुलेन्सको लागि भौंतारिनु पर्दैन”, रिमालले भने, “आफ्नो नजिक खाली एम्बुलेन्स पत्ता लगाएर बोलाउन सकिन्छ, जसले गर्दा बिरामीलाई छिटो अस्पताल पुर्याउन सकिन्छ ।”
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद् दाहालले राज्यले गर्नुपर्ने काम एउटा ट्रेड युनियनले गरेको भन्दै धन्यवाद व्यक्त गरे । तर, यसको दीगो व्यवस्थापनका लागि भने धेरै मेहनत गर्नुपर्ने उनले बताए । “राज्यकै सहभागितामा भयो भने दीगो बन्न सक्छ”, उनले भने, “त्यसका लागि जिल्ला प्रहरी वा ट्राफिक कार्यालयको सहयोग लिन सकिएला ।”
जीपीएस सिस्टम सञ्चालनका लागि संयुक्त एम्बुलेन्स चालक संघले भरतपुरमा कन्ट्रोल रूम राख्नेछ ।
८० चालकलाई ज्याकेट
चितवनका ८० जना एम्बुलेन्स चालकलाई एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरले ज्याकेट प्रदान गरेको छ ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपालमार्फत हस्पिटलले ८० थान ज्याकेट प्रदान गरेको हो । कार्यक्रममा हस्पिटलका प्रमुख डा. प्रमोद लामिछाने र प्रबन्ध निरदेशक डा. बीएम खरेलले संघका केन्द्रीय अध्यक्ष नवराज लामिछाने र जिल्ला अध्यक्ष सुमन घलेलाई हस्तान्तरण गरे । चालकहरुको पहिचान झल्काउने एकै रङको ज्याकेट सहयोग गरिएको डा. लामिछानेले जानकारी दिए ।
कार्यक्रम संघका चितवनका अध्यक्ष सुमन घलेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपाका नेता अनक मगर, गोविन्द अर्याल र सूर्यवदना हमाल, नेपाली कांग्रेस चितवनका सचिव राजीव न्यौपाने, जिल्ला जनस्वास्थ्य प्रमुख डा. विजय झा, नेपाल रेडक्रस सोसाइटी चितवनका कोषाध्यक्ष विजयराज खनाल, क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेल, एलाईभ हस्पिटलका प्रमुख डा. प्रमोद लामिछाने, श्री पुष्पाञ्जली हस्पिटलका व्यवस्थापक सुजन अधिकारी, मनकामना अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमृत मास्के, संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय अध्यक्ष नवराज लामिछाने, रेडक्रस कल्याणपुर उपशाखा सभापति रामकृष्ण अधिकारी, मिलन युवा क्लबका अध्यक्ष केदार दवाडीलागतयले मन्तव्य व्यक्त गरेका थिए ।