विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१९ साउन ।
चितवनमा भइरहेका सवारीसाधन दुर्घटनामध्ये मोटरसाइकल चालक बढी परेका छन् । अन्य सवारीको तुलनामा मोटरसाइकल दुर्घटना एक नम्बरमा देखिएको छ ।
गत एक वर्षमा यहाँ १ सय ७१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा जम्मा दुर्घटना ४ सय ९ वटा भएका थिए । जसमा १ सय ३२ जनाको मृत्यु भयो । २ सय २० जना गम्भीर र ३ सय ९ जना सामान्य घाइते भए ।
“मोटरसाइकल दुर्घटना बढ्दै गएका छन्”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका सञ्चार शाखाका प्रहरी हवल्दार विश्वराज नेपालले भने, “५ खण्डमा विभाजन गरिएको सडकखण्डमध्ये सबैमा मोटरसाइकल दुर्घटना नै धेरै भएका छन् ।” उनका अनुसार पूर्व–पश्चिम राजमार्गमा ३२, नारायणगढ–मुग्लिङ सडकमा १९, महानगरको रिङरोडमा २२, भित्री सडकमा ८३, पृथ्वी राजमार्गमा १५ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार दोस्रोमा ट्रक (६८ वटा), तेस्रोमा बस (५६ वटा), चौथोमा जीप÷कार (५३ वटा), पाँचौमा साइकल÷ठेला (२२ वटा), छैटौंमा ट्रिपर (१५ वटा), सातौँमा ट्याक्टर (११ वटा), आठौंमा टेम्पो तथा अटो (१० वटा), नवौँमा लोडर ग्रेडर (३ वटा) दुर्घटनामा परेका छन् ।
दुर्घटना बढी हुने सडकमा पूर्व–पश्चिम राजमार्गखण्डमा पहिलो नम्बरमा देखिएको छ । यो मार्गमा १ सय ८ सवारी दुर्घटनामा परेका छन् । भित्री सडक (ग्रामीण सडक तथा शाखा सडक) मा १ सय ९, नारायणगढ–मुग्लिङ सडकमा ७२, पृथ्वी लोकमार्ग खण्डमा ६१, महानगरको रिङरोड खण्डमा ४९ वटा सवारी दुर्घटनामा परेका छन् ।
“मोटरसाइकल धेरै लापरबाहीपूर्वक चलाउने गरेको पाइएको छ”, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले भने, “अन्य सवारी दुर्घटनाको दर क्रमशः घटेको देखिन्छ । तर, मोटरसाइकल दुर्घटनाको दर बढेको छ ।” सवारीचालक अनुमतिपत्र (लाइसेन्स), हेल्मेटविनै मुख्य सडकबाहेक भित्री सडकमा तीव्र चलाउने गरेकाले दुर्घटना बढेको उनी बताउँछन् । “सबै शाखा सडकमा ट्राफिक प्रहरी राखेर नियमन गर्न सकिएको छैन”, उनले भने, “ट्राफिक नियम उल्लंघन गरेर दुर्घटना हुने क्रम बढेको छ ।”
उनले जिल्लामा ४६ जना ट्राफिकको भरमा ट्राफिक व्यवस्थापन गर्न चुनौती थपिएको बताउँछन् । “तालिम दिएर विद्यालयस्तरमा ट्राफिक शिक्षक बनाएका छौँ, कक्षामा ट्राफिक शिक्षा दिने काम सुरु भएको छ”, उनले भने, “टोल टोलमा ट्राफिक शिक्षा पु¥याउन छिट्टै विशेष कार्यक्रम ल्याउन लागेका छौँ ।” उनले आकस्मीक चेकजाँच गरेर ट्राफिक नियम पालना गर्न प्रेरित गर्न अभिया नै चलाइएको उनी बताउँछन् । “हाइवे खण्डमा दुर्घटना कम छन् । तर, ग्रामीण क्षेत्रमा दुर्घटना बढ्न थालेका छन्”, उनले भने, “समुदायस्तरमै अब ट्राफिक सचेतना फैलाउनुपर्ने देखिएको छ ।”
मुग्लिङ, जुगेडी र टाँडीमा ३–५ जनासम्म, भण्डारा, पर्सा, रामनगर, सिमलताल, माडी, चनौली, गीतानगरमा १–२ जनासम्म ट्राफिक खटिएका छन् । अधिकांश ट्राफिक भरतपुर, नारायणगढ क्षेत्रमै केन्द्रित छन् । जिल्लामा ३० जनाको दरबन्दी रहेकोमा जनशक्ति अपुग भएपछि काजमा सहित ४९ जना ट्राफिक कार्यरत छन् । बजार क्षेत्रमै जनशक्ति अपुग भएपछि ट्राफिक प्रहरीको पोशाक लगाएर ट्राफिक नियम उल्लेख भएका प्लेकार्ड लिएका काल्पनिक (डमी) ट्राफिक प्रहरी चोकमा राख्न सुरु भएको छ ।
चितवनमा भइरहेका सवारी दुर्घटनामध्ये मोटरसाइकल ‘एक नम्बर’
चितवनमा भइरहेका सवारी दुर्घटनामध्ये मोटरसाइकल ‘एक नम्बर’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस