भरतपुर, १८ साउन ।
युरोप भ्रमणमा रहेको नेपालले अहिले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रियमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले संघर्षपूर्ण ब्याट चलाइरहेको छ ।
पहिलो एकदिवसीयमा ओपनिङ ब्याट्सम्यानको राम्रो सुरुआत देखिएको नेपाली टिमका लागि आज दोस्रो एकदिवसीयमा राम्रो सुरुआत हुन सकेन । परिवर्तित ओपनिङ जोडीले केहीबेर राम्रो संकेत गरेपनि एकै ओभरमा दुई विकेट गुमेपछि नेपाली टिम दबाबमा परेको थियो । त्यसपछि पनि एकपछि अर्को विकेट गुमाउँदै गएको नेपालले सुरुआती ५ विकेट गुमाइसकेको छ ।
नेपालका ओपनर ज्ञानेन्द्र मल्ल २४ बल खेलेर व्यक्तिगत १३ रनमा आउट भए । लगत्तै ब्याटिङमा आएका अनिल साह मात्रै ४ रन बनाएर आउट भए । नेपालले दुवै विकेट आठौं ओभरमा गुमायो । त्यसपछि तेस्रो विकेटका रुपमा नेपालले अर्का ओपनर सुवास खकुरेललाई गुमायो । सुवासले १९ रनको योगदान दिए ।
चौथो विकेटका रुपमा दीपेन्द्र सिंह ऐरी व्यक्तिगत १९ रनमा आउट भए । उनी रनआउट हुँदा नेपालको ७२ रन भएको थियो । त्यसपछि रोहितकुमार पौडेल ६ रन मात्रै जोडेर आउट भए ।
नेपालको पारीलाई कप्तान पारस खड्काले विस्तारै उकासिरहेका छन् । उनलाई आरिफ सेखले साथ दिइरहेका छन् । २७ ओभर सकिदा नेपाल १०६ रन बनाएर खेलिरहेको छ । पारसको खातामा २६ रन पुगेको छ भने आरिफको ७ रन छ ।
यसअघि बुधबार भएको पहिलो ओडिआईमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । भिआरए मैदानमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।
नेपालका लागि सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित सिंह भण्डारीलाई आज खेलाइएको छ । करण केसी, शक्ति गौचन र सरद भेसवाकरलाई आराम गराइएको छ । पहिलो ओडिआईमा ब्याट्सम्यानहरु नचल्दा कम लक्ष्यमै फराकिलो अन्तरले पराजय व्यहोर्नु परेकाले नेपाललाई आज शृंखला बराबर गराउने मौका छ ।
पहिलो ओडिआईमा नेपालले सुरुवात राम्रो गरेपनि त्यो लय काम राख्न सकेन्। मध्यक्रममा एकपछि अर्को विकेट गुमाउँदै हार व्यहोर्नु परेको थियो ।