भरतपुर, १५ साउन । नेपाल खेलकुद पत्रकार मञ्च चितवनको चौथो अधिवेशन आगामी भदौ १६ गते गरिने भएको छ । मञ्चको भरतपुरमा बसेको बैठकले अधिवेशनको निर्णय गरेको हो ।
अधिवेशन सम्पन्न गर्न अध्यक्ष विनोदबाबु रिजालको संयोजकत्वमा मूल समिति, उपाध्यक्ष सुवास पण्डितको संयोजकत्वमा आर्थिक समिति, महासचिव दिपेन्द्र अधिकारीको संयोजकत्वमा सांगठिनक तथा सदस्यता समिति र सचिव ध्रुवराज खनालको संयोजकत्वमा अधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ । मञ्चले नयाँ सदस्यता लिन चाहने खेलकुद पत्रकार र पुराना सदस्यलाई साउन मसान्तभित्र सदस्यता लिइसक्न तथा नवीकरण गर्न आह्वान गरेको छ ।



सो अवधिसम्म सदस्यता नलिएका वा नवीकरण नगरेकाले अधिवेशनमा सहभागिता जनाउन नपाउने मञ्चका अध्यक्ष रिजालले जानकारी दिए । २०६५ सालमा जिल्ला समन्वय शाखाको रुपमा गठन भएको मञ्चले जिल्लामा पछिल्लो समयमा चर्चामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बहसलाई सघाउन अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको महासचिव अधिकारीले जानकारी दिए । मञ्चको कार्यसमिति ९ सदस्यीय र कार्यकाल ३ वर्षको हुनेछ ।


