भरतपुर,११ साउन ।
चितवनमा प्रहरीले अन्तर्राष्ट्रिय कल वाइपास गर्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–११ का ३१ वर्षका विजय गुरूङ, ३२ वर्षका मिनप्रसाद रिजाल र चितवन भरतपुर–२२ का २२ वर्षका सुनील अधिकारी छन् ।
उनीहरुबाट कल वाइपास गराउन प्रयोग गरिने विभिन्न उपकरण र सामग्री बरामद गरिएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभु ढकालले जानकारी दिए । चितवनमा बसेर गैरकानूनी ढंगले अन्तर्राष्ट्रिय आगमन कल वाइपास गरिरहेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले विजय गुरूङ र सुनील अधिकारीलाई भरतपुर–१०, रिजालचोकबाट पक्राउ गरेको थियो भने, मिनप्रसाद रिजाललाई बुटवलबाट पक्राउ गरि चितवन ल्याइएको हो ।
उनीहरुको साथबाट १२८ र ६४ पोर्टका भिओआइपी गेटवे, विभिन्न राउटर लगायतका सामाग्री वरामद गरिएको छ । उनीहरुलाई दूर सञ्चार ऐन २०५३ अन्तर्गत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यस्तै चितवन प्रहरीले आज विहान भरतपुर १० विक्रम मार्गबाट प्रतिवन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ११ बस्ने बर्ष २० का सुवास राई रहेका छन् ।
राति राईलाई देखेपछि प्रहरीले शंका लागि खोजतलास गर्दा उनको झोलाबाट लागु पदार्थ डाइजेपाम, बु्रफिनलगायतका लागुऔषध भेटिएको थियो । उनलाई लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।