भरतपुर,१० साउन ।
महानगर क्षेत्रमा पर्ने राजमार्ग खण्डहुदै तीन पाङग्रे सवारी चल्न नदिने निर्णयको विरोधमा बुधबार दिनभर राजमार्ग क्षेत्रमा चालकले प्रदर्शन गरेका छन् । केन्द्रीय बस ट्रमिनल चोक–हाकिम चोक क्षेत्रमा अन्य सवारी ओहरदोहर गर्न दिएनन् । सडकबीचमै अटो तथा इरिक्सा रोकेर नाराबाजी गरेका थिए ।
राजमार्ग सुचारु गर्न प्रहरीले गरेको पटक पटकको अनुरोध अटेर गरेपछि झडप हुन पुगेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई हटाउन खोजेपनि असफल बनेको थियो । आन्दोलनकारीको समूह जिल्ला प्रशासन कार्यालय नजिकै रहेको प्रहरी चौकी नारायणगढतर्फ ढुङा हान्दै अघि बढेको थियो । प्रर्दशनकारीले सो प्रहरी चौकीमा आगजनी गर्न खोजेको थियो । चौकी नजिकै रहेको ना १६ प ९४०७ नम्बरको मोटरसाइकलमा आगजनी गरे, नजिकैका केही सवारीमा क्षती पु¥याउन थालेपछि प्रहरीले अश्रुग्याँस हानेर भीडलाई तितरवितर पार्न खोजेको थियो । झण्डै १ घण्टा अवरुद्ध बनेको राजमार्ग खुलाउन अटेर गर्दै आगजनीमा उत्रिएपछि प्रहरीले गोली चलाएको थियो ।
“ढुंगा हान्दे प्रर्दशनमा उत्रिएको भीडलाई रोक्न प्रहरीले निकै बल गरेको थियो”, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख शुसिल सिंह राठौरले भने, “चौकीमै आगो लगाउन खोजेपछि हवाइफायर गर्नुप¥यो ।” प्रहरीले १ सय १० सेल अश्रुग्याँस हानेको थियो । यस्तै १० वटा हवाइफायर गरेको थियो । प्रहरीको गोली लागेर प्रर्दशनमा उत्रिएका गैडाकोटका ३० वर्षिय महेन्द्र सुनार घाइते बनेका छन् । उनको दाहिने खुट्टाको घुँडा तल चोट लागेको छ । उनको भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भैरहेको छ । घाइते सुनार प्रहरी चौकी आगजनी गर्न अघि बढ्ने क्रममा गोली लागेर घाइते बनेको प्रहरीको दाबी छ । यस्तै अन्य १ जना प्रर्दशनकारी घाइते भए । शसस्त्र प्रहरीका इन्सपेक्टर सहित १४ जना शसस्त्र तथा नेपाल प्रहरी घाइते भए । घाइते प्रहरीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी र प्रदर्शनकारीबीच झडप हुन थालेपछि रिजालचोक–हाकिमचोक–केन्द्रीय बस ट्रमिनल चोक–थानी चोकसम्मको राजमार्ग खण्डमा दिउसो साढे ३ बजेसम्म सवारी सञ्चालन भएनन् । “प्रहरी चौकी आगजनीको प्रयास र जिल्ला प्रशासन कार्यालयनै तोडफोड गर्ने संकेत देखिएपछि अश्रुग्याँस र हवाइफायर भएको हो”, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले भने, “राजमार्गनै रोकेर प्रर्दशन गरेपछि प्रहरीले बलप्रयोग गरेको हो ।” प्रदर्शनकारीहरुले योजनावद्ध रुपमा अटोमानै ल्याएका ढुंगा र इट्टा प्रहरीमाथि प्रहार गरेका थिए ।
भरतपुर महानगरपालिकाले साउन ५ गतेबाट राजमार्ग क्षेत्रमा तीन पाङग्रे सवारी चलाउन रोक लगाउने निर्णय बदरको माग गर्दै उच्च अदालत पाटन हेटौटामा रिट दायर भएको थियो । वैकल्पिक सडक नभएका स्थानमा विकल्प दिएर सञ्चालनमा रोक लगाउन मिल्ने संकेत दिदै अदालतले आदेश दिएपछि चालक तथा व्यवसायी प्रर्दशनमा उत्रिएका थिए । निर्णय कार्यान्वयन गराउन महानगरले बुधबार विहानको बैठकमा राजमार्ग वारपार गर्ने थप २ क्रसिङ प्वाइन्ट कायम गर्ने प्रस्ताव गरेको थियो । सहमति हुनै लाग्दा मजदुर संगठनका केही अगुवा बैठक छाडेर बाहिरिएका थिए । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले महानगरले लचकता अपनाउँदै राजमार्ग हुदै चल्न नदिने भनेपनि राजमार्ग वारपार हुन कुनै अवरोध सृजना नगरेको अवस्थामा आन्दोलन भएको बताए । “राजमार्गमा जोडिएका चोक वारपारमा लचकता अपनाएका थियौँ, एक महिना ट्रायल गरौँ, पछि समिक्षा गरौँला भनेकै थियौँ”, उनले भने, “राजमार्गमै गुड्न पाउनुपर्छ भन्दै अडान लिएपछि वार्ता टुंगोमा पुगेन । जसले दुखद घटना हुन पुग्यो ।”
सहायक सिडीयोको सरुवा
चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) लक्ष्मीप्रसाद बास्कोटाको सरुवा गरेको छ । ६ महिनादेखि चितवनमा कार्यरत बास्कोटालाई बुधबार गृह मन्त्रालयले दैलेखको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरेको हो । त्यस्तै उनको ठाउँमा दैलेख जिल्लाका सीडीओ जनकराज पन्त आउने गृह मन्त्रालयले जनाएको छ । भरतपुरमा बुधबार दिउँसो अटो रिक्सा चालकहरुको विरोध प्रदर्शन भएकै दिन सहायक सीडीओको सरुवा हुनुलाई संयोग मान्न सकिन्छ । उनीसँगै गृहमन्त्रालयले झण्डै तीन दर्जन सीडीओ तथा सहायक सीडीओको सरुवा गरेको छ ।