विप्लव काफ्ले/कायाकैरन
भरतपुर,९ साउन ।
सवारी आवागमन बढ्दा चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सडक नजिकका क्षेत्रमा जनावरको चाप कम हुने गरेको अध्ययनले देखाएको छ । प्रकृति संरक्षणमा क्रियाशिल अन्तराष्ट्रिय संस्था आइयुसियन संस्थाको अगुवाईमा विभिन्न ४ संस्थाको सहकार्यमा गरिएको अध्ययनले सडक विस्तारले वन्यजन्तुको बासस्थानलाई असर पारेको निष्कर्ष निकालेको छ ।
माडी–ठोरी जाने (माडी) सडक, पूर्वपश्चिम राजमार्ग खण्ड (वरण्डभार) र घटघाई–जर्नेलीखण्ड (सौराहा) मा क्यामरा ट्यापिङ राखेर वन्यजन्तुको चहलपहलबारे अध्ययन गरिएको हो । ३ सय २८ स्थानबाट २ हजार ५ सय ३ वटा जनावर क्यामराले खिचेको थियो । यी क्यामरामार्फत ६ सयदेखि १ हजार ६ सय ८८ रातसम्म क्यामराले कैद गरेको जनावरको चहलपहललाई अध्ययन गरिएको हो । “सडक आसपासमा जनावरको चहलपहल निकै कम देखियो”, आइयुसियनका कार्यक्रम अधिकृत कृष्ण हेङगजुले भने, “सडकको झण्डै १ किमिभित्र मात्रै चहलपहल देखियो, सवारी ओहरदोहर गर्दा कैयन जनावर सहजै वारपार हुन सक्ने अवस्था छैन ।” उनले निकुञ्ज तथा वरण्डाभार क्षेत्रमा व्यस्त सडक थप नगर्न सुझाए ।
बाटोको छेउमा ५ सय मिटर पर क्यामरा राखिएका थिए । यस्तै बाटोबाट १ किमिभित्रसम्म समेत क्यामरा जडान गरिएको थियो । बाटो छेउमै राखिएका क्यामरामा थोरै मात्र जनावर देखिएका थिए । क्यामराले कैद गरेका अधिकांस जनावर निकुञ्जभित्र ओहरदोहर गर्ने जनावर देखिएका थिए ।
अध्ययनले माडी खण्डमा रतुवा मृग ३६, गौरी गाई ९, लगुना मृग ३४, जरायो ७७, चित्तल ३ सय ५९, बँदेल ८० र बाघ ११ वटा भेटिएका थिए । सौराहा खण्डमा रतुवा मृग १६, गौरी गाई ३२, लगुना मृग ७, जरायो १ सय ३, चित्तल ४९, बँदेल ५२, बाघ २२ देखा परेका थिए । यस्तै राजमार्ग खण्डमा रतुवा मृग ३ सय ४१, जरायो २ सय ७, चित्तल ५ सय ७१, बँदेल ४ सय २५, बाघ ७१ भेटिएका थिए । गौरी गाई र लगुना मृग भेटिएनन् ।
२ हप्ताभित्र तथ्यांक विश्लेषण गरेर सुझावसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए । मंगलबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा एक कार्यक्रमकाबीच प्रारम्भिक तथ्यांकबारे सरोकारवाला पक्षलाई जानकारी गराइएको थियो । नेपाल टाइगर ट्रष्टका संयोजक प्रकाश श्रेष्ठले निकुञ्जभित्र सुविधाका लागि बनाइएका सडकले वन्यजन्तुलाई असर पार्ने क्रम बढेको बताए । उनले सडक विस्तार वा नयाँ बनाउदा वन्यजन्तुको बासस्थान नखलबलिने गरी नबनाउन आग्रह गरे । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले निकुञ्जभित्रका सुविधायुक्त बाटो ‘कर्मसीयल’ बन्दै गएमा प्रकृतिलाई प्रतिकुल असर पार्ने बताए । “ओभर पास वा अण्डर पास हुने गरी सडक बनाउन पहल गर्नुपर्छ”, उनले भने, “निकुञ्जभित्र जथाभावी सडक बनाउने कामलाई निरुत्साहीत गर्नुपर्छ ।”
निकुञ्जमा माडी–ठोरी जान करिब २४ किमि, वरण्डाभार क्षेत्रमा करिव ४ किमि, आन्तरिक गस्तीका लागि झण्डै २ सय किमि सडक छ । चितवन राष्ट्रिय निकुञ्जका पूर्व सहायक संरक्षण अधिकृत टिकाराम पौडेलले विकासलाई अघि सार्दा संरक्षणलाई पनि महत्व दिनुपर्ने बताए । संरक्षणकर्मी रामप्रीत यादवले जथाभावी बाटो निकुञ्जभित्र खोल्ने काम बन्द गर्नुपर्ने बताए ।
भएकै बाटोलाई वातावरणमैत्री हुने गरी विकास गर्नुपर्नेमा जोड दिए । पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोले वन्यजन्तुको बासस्थान बिगार्ने गरी सडक बनाउन नहुने बताए । सहभागीले टिकौली क्षेत्र र माडी जाने निकुञ्जको बाटोमा आकाशे पुल वा सुरुङमार्ग बनाउन सुझाए । भरतपुर–२७ का वडाध्यक्ष गोविन्द तामाङले सवारीचापलाई मध्यनजर गर्दै सडक विस्तार गर्नुपर्ने बताए । प्रस्तावित ठोरी केरुङ मार्ग, नारायणी छेउ हुदै दुम्कीबास जाने सडकले निकुञ्जलाई थप प्रभाव पार्ने देखिन्छ । पानीका स्रोत, बासस्थानलाई असर नपर्ने गरी सडक सञ्जाल बनाउनुपर्ने सुझाए ।