भरतपुर,८ साउन ।
भरतपुर महानगरपालिकाको राजमार्ग क्षेत्रमा मापदण्ड पुगेका तीन पाङग्रे सवारी सञ्चालनमा रोक नलगाउन उच्च अदालत पाटन हेटौडाले आदेश गरेको छ । सोमबार भएको इजलासमा रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म राजमार्गको वैकल्पिक सडक नभएका स्थानसम्ममा प्रवेश गर्न मापदण्ड पुरा गरेकालाई रोक नलगाउन भनिएको छ । तर, वैकल्पिक सडक भएका ठाउँमा तीन पाङग्रे व्यवस्थापन गर्न बाटो केही सहज बनाइदिएको छ । आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षी भरतपुर महानगरपालिकाभित्र पर्ने राजमार्गको वैकल्पिक सडक भएका स्थानबाहेक सो राजमार्गको वैकल्पिक सडक नभएका स्थानसम्ममा मात्र प्रवेश गर्न निवेदनमा उल्लेखित प्रकृतिका तोकिएको मापदण्ड पूरा गरेका सवारी साधनलाई रोक नलगाउनु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’ आदेशमा महानगरसँग आवश्यक कागजपत्र समेत माग गरिएको छ । महानगरपालिका क्षेत्र पर्ने राजमार्गमा तीन पाङग्रे सवारीसाधनहरु चलाउन पूर्ण रुपमा निषेध गर्ने गरी गरी भएको सक्कलै निर्णय फाइल, टेम्पो सञ्चालन सम्बन्धमा यातायात व्यवस्था विभागबाट गत पुस १० गते भएको निर्णय र अन्य पूर्व निर्णय परिपत्रको प्रमाणित प्रतिलिपि विभागबाट मगाएर पेश गर्न भनिएको छ । यो रिट खारेज भएको छ । महानगरपालिकाले कागजपत्र पेश गरेलगत्तै तोकिने पेशीबाट बल्ल मुद्धा किनारा लाग्ने जनाइएको छ । ८ जना ईरिक्सा तथा अटो व्यवसायीले साउन ५ गतेदेखि राजमार्गमा चल्न नपाउने गरी महानगरले गरेको निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए । इजलासबाट सोमबार जारी आदेशमा भनिएको छ, हेटौँडा इजलासको आदेश अनुसार राजमार्गको वैकल्पिक सडक भएका ठाउँमा तीनपांग्रे व्यवस्थापनको बाटो खुल्ला भएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताउनु भयो । उनले ईरिक्सा, अटो, टेम्पो लगायतका तीनपांग्रे सवारीसाधन व्यवस्थापनसँगै शहरको सुन्दरता र यातायातलाई प्रभावकारी संचालनको काममा महानगर दृढ संकल्प लिएर अघि बढ्ने बताइन् । ईरिक्सा तथा अटो व्यवसायी वीरेन्द्र लामिछानेले अदालतको आदेशले राजमार्गमा मापदण्ड पुगेका तीन पाङग्रे सवारी सञ्चालन गर्न कुनै अवरोध नगरेको बताए ।