नेपाली कांग्रेससँग जनाएको भद्र सहमतिको पालना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पदबाट राजीनामा दिएपछि अबको राजनीति कसरी अघि बढ्ला भन्ने अनेक आशंका गरिएका छन् । प्रधानमन्त्री दाहालले बुधबार नै राष्ट्रपतिसमक्ष राजीनामापत्र बुझाएपछि उनको पद स्वतः कामचलाउ बनेको छ । अब अर्को सरकार गठन गर्नका लागि सहजीकरण गरेर सहजताका साथ विदा हुने दायित्व उनको रहेको छ । प्रधानमन्त्री दाहालले दुई पार्टीको आपसी गठबन्धनमा भएको भद्र सहमतिको कार्यान्वयन गरेका छन् । यो हिसाबले उनी इमानदार त देखिए । तर, जुनसुकै बहानामा पनि अहिले सरकार परिवर्तनको वातावरण छदै थिएन । राजनीतिक वातावरणको हिसाबले उनको यो राजीनामा असान्दर्भिक छ । यसले राजनीतिक वातावरणलाई असर नगरे त ठीकै छ । तर, केही न केही प्रभाव त पारि नै हाल्छ ।
प्रधानमन्त्री दाहाल प्रधानमन्त्री बन्ने मुख्य आधार नै कांग्रेस हो । कांग्रेस पहिलो पार्टी भएकोले पनि माओवादी सरकार गठन गर्न कांग्रेसले दिएको साथ ठूलो थियो । सरकार गठन गर्दा नै माओवादी–कांग्रेसले आलोपालो गर्ने सहमति गरेका थिए । यो हिसाबले प्रचण्डको राजीनामाको कदम उनले नै भनेअनुसार नै ‘नैतिकताको खडेरी टार्न’ पर्याप्त देखिन्छ । उनले आफूले जनाएको वाचाअनुसारै गरेको यो कामको सबैले प्रशंसा गरिरहेकै छन् । तर, उनले राजीनामा दिने यो समय उपयुक्त हुँदै होइन । प्रधानमन्त्री भनेको कुनै एक पार्टी वा अन्तरपार्टीको अनुकूलमा मात्र काम गर्ने नेता होइन । प्रधानमन्त्री देशको नेता हो । अहिलेको परिस्थितिमा एकचरणको चुनाव भएको छ । त्यसको नतिजा पूरै आइसकेको छैन । अर्को चरणको चुनाव गर्नै बाँकी छ । राजनीतिक समस्याहरु समाधान गर्ने काम बीचैमा छ । संविधान संशोधन प्रस्ताव संसद्मा छ । तराईका दलहरु दोस्रो चरणको चुनावमा सहभागी हुनका लागि संविधान संशोधन पहिलो सर्तका रुपमा तेसारिएको छ । भरखरैमात्र सरकारले स्थानीय तहको संख्या थप्ने निर्णय गरेको छ । यसमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जनाइरहेको छ । तोकिएको समयमा दोस्रो चरणको चुनाव गर्नका लागि कयौं प्राविधिक विषयहरु मिलाउन बाँकी नै रहेको निर्वाचन आयोगले भनिरहेकै छ । यो अवस्थामा सरकार परिवर्तन कुनैपनि हालतमा सान्दर्भिक विषय हो ।
नेपाली राजनीतिमा नैतिकताको खडेरी भएकै हो । विगतमा दलहरुबीच कयौं भद्र सहमतिको अभद्र उल्लंघन भएको घटना छन् । त्यसकारणले गर्दा पनि प्रधानमन्त्रीले राजीनामा दिदै भनेको नैतिकताको खडेरी टार्ने कुरा जायज छन् । साथमा उनको सम्बोधनमा आफूले गरेका राम्रा कामहरुको फेहरिस्त छन् । कतिपय अवस्थामा उनले गरेका कामहरु उत्कृष्ट र प्रशंसालायक छन् पनि । तर, राम्रो काम गर्दागर्दै उनले नैतिकताका लागि मात्र अहिले मैदान छोड्नु हुँदैन थियो । उनले दोस्रो चरणको चुनाव सकाएर मात्रै सत्ता हस्तान्तरण गर्छु भन्ने साहस गर्नुपर्दथ्यो । त्यसो त सत्ताको मियो नेपाली कांग्रेसले पनि त्यसलाई स्वीकार गर्नुपर्दथ्यो । तैपनि जे भयो, अब राम्रो होस् । सरकार परिवर्तन भएपनि आगामी वातावरण परिवर्तन नहोस् । तोकिएको समयमा चुनाव होस् । जनताको कामना यही छ ।