भरतपुर,५ साउन ।
नारायणगढको मिलनरोड देखि बालकुमारी चोकसम्मको बाटो चौडा गर्ने काम सुरु भएको छ । टोलसुधार समिति , स्थानीय र वडाको सक्रियतामा बाटो चौडा गर्ने काम शुरु गरिएको हो । शुक्रबार एक कार्यक्रम गर्दै निर्माण कार्य सुरु गरिएको हो । वडाध्यक्ष जयराम श्रेष्ठले भीडभाड र पार्किङ लाई व्यवस्थापन गर्न सडकलाई चौडा गर्न लागिएको बताए । यस अघि उक्त सडक १४ मिटर चौडा रहेको र हाल सडकलाई दुबै तर्फबाट १, १ मिटर बढाएर १६ मिटरको कायम गरिने बताए ।
सडक तथा पेटी निर्माण उपभोक्ता समितिका संयोजक चित्र बहादुर विकले महानगर र उपभोक्ता समितिको आधा आधा हिस्सा को खर्चमा बाटो फराकिलो गरिने बताए । सडकको दुबैतर्फ अपाङ्गमैत्री पेटी समेत निर्माण गरिन लागिएको छ । पुरानो ढललाई विस्थापीत गरी हेमपाइप राखेर ढलको समेत व्यवस्थापन गरिने विकले बताए । सडक चौडा हुने कामको थालनी भएलगत्तै स्थानीय व्यवसायी हरु उत्साहित भएका छन । बर्षौदेखि समस्यामा रहेको यस सडकले निर्माण सुरुभएसंँगै आफू उत्साहित भएको युवा उद्यमी रुवीन रामुदामुले बताए । निमार्णको ठेक्का लिने ठेकेदार भवराज भट्ठले ८० लाख रुपैयांँमा आफूूले निर्माण को ठेक्का लिएको र ३ महिना भित्र निर्माण सम्पन्न गरिने जानकारी दिए । शुभारम्भ कार्यक्रममा मिलनटोल सुधार समितका अध्यक्ष धु्रवलाल पिया, मिलन युवा परिवारका टंकलाल श्रेष्ठ , वडा नम्बर १ का सदस्य राममाया पिया, शुक्र श्रेष्ठ ,मिलन युवा परियारका अध्यक्ष शंकरलाल श्रेष्ठ, र अनुगमनाका सदस्यहरु, सल्लाहाकार एवं व्यवसायीको सहभागिता रहेको थियो ।