हेम रोकाहा/कायाकैरन
भरतपुर,११ जेठ ।
स्थानीय तह निर्वाचन–२०७४ को नतिजा आउने क्रम जारी छ । चितवनमा भरतपुरको पूरै मत गनिसकेको छैन । तर, अरु ६ तहमा मतगणना सकेर नतिजा आई निर्वाचितले कामसमेत सुरु गर्न लागिसके । तर, अनौठो के भने पूर्वी चितवनका ४ स्थानीय तह (चार नगरपालिका)मा सत्ता नेतृत्वकर्ता माओवादीको एकजना प्रतिनिधि पनि चुनिएका छैनन् ।
पूर्वी चितवनका रत्ननगर, राप्ती, कालिका र खैरहनी चारै नगरपालिकामा माओवादी केन्द्रले मेयर वा उपमेयर त परको कुरा कुनैपनि पदमा जित हात पार्न सकेन । यी क्षेत्रबाट रत्ननगरमा ८२, राप्तीमा ६७, कालिकामा ५७ र खैरहनीमा ६७ गरी २ सय ७३ जना निर्वाचित भएकामध्ये एमालेका बढी छन् । त्यसपछि कांग्रेसका छन् । तर, माओवादी शून्य छ ।
यी चारै नगरपापालिकामा माओवादी केन्द्रका उम्मेद्वारहरु मतका आधारमा तेस्रो स्थानमा सीमित छन् भने केहीमा त्योभन्दा पनि तल छन् । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा चितवनको २ नम्बर निर्वाचन क्षेत्र (हालको रत्ननगर र कालिका नगरपालिका)मा तत्कालीन नेकपा माओवादीका रामबहादुर थापा ‘बादल’ ले अत्यधिक मतका साथ जित हात पारेका थिए । तर, यसपालिको निर्वाचनमा भने माओवादी केन्द्रले जनताको विश्वास जित्न नसकेको निर्वाचन मतपरिणामले देखाएको छ ।
इच्छाकामना गाउँपालिकामा पनि माओवादी केन्द्र त्यति राम्रो अवस्था छैन । इच्छाकामनामा माओवादी केन्द्रले ३७ पदमध्ये ६ पदमा मात्र विजय हासिल गर्न सफल भयो । उसले ३ नम्बर वडामा प्यानसहित वडाध्यक्ष जितेको छ । ३ नम्बर वडामा माओवादी केन्द्रका गोवद्र्धन अधिकारी निर्वाचित भए । त्यस्तै ४ नम्बर वडामा १ जना सदस्य जित्नुबाहेक अन्य पदमा वियज हासिल गर्न माओवादी केन्द्र असफल रह्यो ।
माडी नगरपालिकामा माओवादी केन्द्रले मेयर पदमा विजय हासिल गरेको छ । माओवादी केन्द्रका मेयर उम्मेद्वार ठाकुरप्रसाद ढकालले ३ हजार ८ सय ७३ मत ल्याएर विजयी भएका हुन् । यो कांग्रेसका उम्मेद्वार खेमप्रसाद महतोको भन्दा ४४ मत बढी हो । त्यस्तै माडीमा माओवादी केन्द्रले ३ वडाध्यक्ष, ८ सदस्य, ३ महिला सदस्य र ३ दलित महिला सदस्य जितेको छ । वडा नम्बर २ मा ईश्वरीप्रसाद ढकाल, ४ मा चन्द्रदीप महतो र ५ मा रामबन्धु पोखरेल प्यानलसहित विजयी भएका छन् ।
साथै १ नम्बर वडामा १ जना दलित महिला सदस्य र ९ मा १ जना सदस्य माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । माडीका ४७ जनप्रनितिधि मध्ये माओवादी केन्द्रबाट १८ जना प्रतिनिधि भयन भएका हुन् । भरतपुरमा १३ नम्बर वडामा प्रकाश दवाडी नेतृत्वको प्यानल विजयी भएसँगै माओवादी केन्द्रले खाता खोलेको हो । त्यसअघि केन्द्रले कुनैपनि पदमा विजय हासिल गर्न सकेको थिएन । वडा नम्बर २६ मा ज्ञानप्रसाद खनाल निर्वाचित भएका छन् । तर, मतदानअघि माओवादीले पार्टी नीतिविरुद्ध एमालेसँग तालमेल गरेको भन्दै कारबाही गरिएको भनेको थियो । तर, उम्मेद्वारी फिर्ताको कुनै सम्भावना थिएन । भरतपुरको मेयरमा कांग्रेस र माओवादीबीच तालमेल हुनुअघि नै वडा नम्बर २६ मा तालमेल भएको थियो । एमालेले वडाध्यक्षमा समर्थन गर्ने र बाँकी चार सदस्य माओवादीले छाड्ने समझदारी भएपनि मेयरमा कांग्रेस र माओवादीबीच तालमेल भएपछि वडाध्यक्षका उम्मेदवार खनाललाई पार्टीको नीतिविपरीत काम गरेको भन्दै कारबाही गरिएको थियो । उनलाई पार्टीले निष्कासन मात्र गरेन, वडाध्यक्षमा कांग्रेसका उम्मेद्वारलाई समर्थन जनायो ।
यतिबेला सबैको ध्यान भरतपुरको मेयर पदमा को निर्वाचित होला भन्नेतर्फ गएको छ । यस्तोमा भरतपुरमा मेयरको लागि माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले भरतपुरको मेयरमा आफू निर्वाचित हुने दावी गरेकी छिन् । हाल नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवाली उनीभन्दा अगाडि रहेपनि उनीसँगको मतान्तर घटाउँदै लगेकी छन् ।
पूर्वी चितवनमै शून्य भयो माओवादी
पूर्वी चितवनमै शून्य भयो माओवादी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस