धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,५ साउन्।
एक महिनाको अवधिमा दुई पटक दूधको मुल्य घटाएको विरोधमा पूर्वीचितवन राप्ती नगरपालिकाका कृषकहरुले सडकमै दूधपोखेका छन् । एक महिनाको अवधिमा दुई पटक गरी दूधको मुल्य ५ रुपैया ३७ पैसा घटाएको भन्दै यहाँका कृषकहरुले सांकेतिक विरोधमा पूर्वपश्चिम राजमार्गको भण्डारा चोकमा दूधपोखेर विरोध जनाएका हुन् । राप्ती नगरपालिका भित्र रहेका ६ वटा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधीसहित कृषकहरुले सवारी साधन रोकेर दूधसडकमा घोप्ट्याएका हुन् ।
राप्तीका कृषकले केही वर्षपहिले पनि मिल्ड होलिडे हुँदा सडकमै दूधघोप्ट्याएर विरोध जनाएका थिए । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास सस्थान (डिडिसी) र निजी डेरी उद्योगहरुले एक महिनाको अवधिमा दूधको मूल्य घटाएका छन् । डिडिसीले असार १५ गतेदेखि दूधको मूल्य ३ रुपैयाँ घटाएको छ । यसअघि नीजि डेरी उद्योगले आफै २ रुपैयाँ ३७ पैसा दूधको मुल्य घटाएका थिए । पत्रकार सम्मेलन गरी दूधको मुल्य घटाएको भन्दै सरकारको विरोध जनाए । डिडिसीले मूल्य घटाएकोलाई आधार देखाउदै पुनः नीजी डेरी उद्योगहरुले साउन १ गतेदेखी लागु हुने गरी दुधको मुल्यमा ३ रुपैयाँ घटाएको दुग्ध उत्पादक सहकारी संघ नगर समन्वय समिति राप्ती नगरपालिकाका संयोजक डिल्ली प्रसाद थपलियाले बताए ।
“मूल्य आफैले निर्धारण गर्न पाउनु पर्नेमा मनपरी ढंगले मूल्य घटाइएको छ”, भण्डारा दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष समेत गरेका समितिका संयोजक थपलियाले भने, “नीजि डेरीले घटाएको केही समयमै सरकारलेनै मूल्य घटाउनु कत्तिको जायज हुन्छ ?” उनले यस्तै अवस्थामा कृषक पशुपालन व्यवसायबाट पलायन हुनुपर्ने जोखिम बढेको बताए । पशुपालन व्यवसायबाट घरको नुनतेल, छोराछोरीको पढाई खर्च धानेको यो व्यवसायमाथी पटक पटक प्रहार भएको थपलियाले गुनासो गरे । कृषकका अनुसार डिडिसीले क्षेत्रीय मूल्य घटाएको हो । त्यसमा चितवन, मकवानपुर र बारा जिल्ला पर्दछ । सामान्यता किसानहरुले १ लिटर दूधउत्पादक गर्दा करिब ५५ रुपैयाँ प्रति लिटर लागत पर्ने तर अहिलेको मूल्य अनुसार १ लिटर दूध ४५ रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था रहेको परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वर सिंह ओलीले बताए । सरकारले दाना, चोकर, औषधी लगायतको मुल्य नियन्त्रण गर्न नसकेको र व्यवसायीहरुले मनलाग्दी मूल्य वृद्धि गरिरहेको तर किसानले उत्पादन गरेको दूधको मूल्य भने पटक पटक घटाएको उनको आरोप छ । दूधको घटाइएको मूल्य पुन समायोजन नगरे सडक आन्दोलनमा उत्रने कृषकहरुले चेतावनी दिएका छन् ।
राप्ती नगरपालिकामा मात्रै दैनिक १० हजार लिटर दूध उत्पादन हुदै आएको छ । स्थानीय कृषक दूधको मूल्य घटाउने सरकारले दाना, चोकर, ढुटोको मुल्य पनि सरकारलेनै तोक्नु पर्ने बताउँछन् । दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य एवंम् खैरहनी १० स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बालकृष्ण उप्रेतीले मूल्य घटाउनु पर्ने कुनै कारण नरहेको बताउँछन् । “अहिले माग बढी हुने समय हो, घटाउनु पर्ने कुनै कारण छैन्”, उप्रेतीले भने, “विदेशबाट आयात हुने सस्तो पाउडरले समस्या सृजना गरेको हो, त्यसको नियन्त्रण गर्नुपर्छ ।” केन्द्रीय संघ, सरकार, नीजि डेरी उद्योगको समन्वयमा मूल्य निर्धारण गर्नु पर्नेमा सरकार र नीजि डेरी उद्योग एकलौटी ढंगमा प्रस्तुत भएको बताए । “विदेशबाट आयातित कम गुणस्तरको पाउडर दूधको कारणले यहाँको स्वच्छ दूधको मूल्य घटाइएको छ”, केन्द्रीय सदस्य उप्रेतीले भने, “अहिले घटाइएको मूल्य सच्चाउन सरकारले पुर्नविचार गरोस् ।” चितवनलाई दूधको स्रोत मानिन्छ । यहाँ दैनिक करिब ४ लाख ७० हजार लिटर दुध उत्पादन हुदै आएको छ । चितवनमा उत्पादन भएको दुध काठमाण्डौ, पोखरा, हेटौडा लगायतको सहरका नीजि डेरी उद्योगले लैजाने गरेका छन् ।