भरतपुर,४ साउन ।
चितवनमा असार महिनामा मात्रै सवारी दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् । २३ वटा दुर्घटना हुँदा ४९ जना घाइते बने । तीव्र गति नै दुर्घटनाको मुख्य कारण देखिएको छ ।
“दुर्घटनामा परेकामध्ये तीव्र गतिमा गुडेका सवारी धेरै छन्”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले भने, “दुर्घटनाको मुख्य कारणमा चालककै लापरवाही देखिन्छ ।” २०७४ असारमा २४ सवारी दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाए भने ४० जना घाइते बने । आर्थिक वर्ष २०७४÷७५ मा दुर्घटनामा परी १ सय ३२ जनाको ज्यान गएको छ । ट्राफिकको अभिलेखमा भएका २ सय ७१ दुर्घटना मा परी ५ सय २९ जना घाइते भएका छन् ।
आर्थिक वर्ष २०७३÷७४ मा २ सय ५८ वटा दुर्घटनामा १ सय ६३ जनाले ज्यान गुमाए भने ५ सय ७५ जना घाइते भएका छन् । “साना ठुला दुर्घटनाले चालक तथा यात्रुको शरिर अंगभंग भएका छन्”, उनले भने, “सावधानीपूर्वक ट्राफिक नियम पालना गरी सवारी चलाएमा जोखिमबाट बच्न सकिन्छ ।”
सवारी कारबाही उस्तै
ट्राफिक नियम उल्लंघन गरी सवारी हाँक्ने चालक कारबाहीमा पर्दै आएका छन् । असार महिनामा मात्रै ५ हजार १ सय सवारी कारबाहीमा परेका छन् । जसमा पटके कारबाहीमा पर्ने चालक पनि छन् । कारबाहीबाट ट्राफिक कार्यालयले ३९ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा ४५ हजार १ सय ५० सवारी कारवाहीमा परेका छन् ।
जसबाट ३ करोड ३६ लाख ८७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ४२ हजार ९ सय ९० सवारी कारबाहीबाट ३ करोड २३ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो । “ट्राफिक नियम पालना नगर्ने क्रम घटेको देखिएन”, ट्राफिक प्रमुख गौतमले भने, “सचेतनामूलक अभियानलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।”
,,,,,,,,,,,,,,,,,,,,