विप्लव काफ्ले/कायाकैरन
भरतपुर,११ जेठ ।भरतपुरमा आँखा बैंक सञ्चालन गर्ने तयारी सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आँखा बैंक सञ्चालन गर्न दाताको खोजी सुरु भएको छ ।
आँखाको नानी (कोर्निया) दृष्टिविहीन भएकालाई दृष्टि प्रदान गर्ने लक्ष्यसहित आँखा बैंक सञ्चालन गर्न लागिएको हो । आँखाको नानीमा फुलो पर्न गई दृष्टि गुमेका व्यक्तिलाई दाताबाट प्राप्त भएका सफा आँखाको कोर्निया आवश्यकता अनुसार काटेर प्रत्यारोपरण गरिने छ ।
नेपाल नेत्र ज्योति संघ चितवनका अध्यक्ष चिजकुमार मास्केले नेपाल आँखा बैंक तिलगंगा आँखा अस्पतालसँग समन्वय गरि आँखा बैंक सञ्चालन गर्न प्रक्रिय अघि बढाइएको जानकारी दिए । “उपकरण र कर्मचारीका लागि बजेट अपुग छ”, उनले भने, “सहयोग प्राप्त हुनासाथ बैंक सञ्चालन हुनेछ ।” केही दाताहरु सम्पर्कमा आइसकेकाले करिब दुई महिनाभित्र आँखा बैंक स्थापना हुने उनले बताए । व्यक्तिगत वा सामुहिक तथा संस्थागतरुपमा मरणोपरान्त आँखाको नानीदान गराउन अभियानका रुपमा अघि लैजाने योजनामा अस्पताल लागिपरेको बताए ।
आँखा दान गर्न गर्न इच्छापत्र संकलन गर्ने र आफन्तको मृत्यु भएपछि पनि आँखाको नानी दान गर्न मिल्ने गरी कार्यविधि तयार गरिने योजना रहेको छ । आँखा बैंकमार्फत कोर्निया गुमाएका मानिसलाई आँखा दिने गर्दछ । आँखा दान गर्न इच्छापत्र भरेका व्यक्तिको मृत्यु भएमा उनको परिवार वा कसैले खबर गरेमा आँखा बैंकको प्राविधिकले आँखा बैंकमा संकलन गर्ने गर्छन् । यसरी दान गरिएका आँखाले २ जनाले देख्ने मौका पाउनेछन् । मानिसको मृत्यु भएको १२ घण्टासम्म आँखा निकाल्नुपर्छ । आँखा बैंकले जम्मा गरेको आँखालाई अन्य जिल्लाका अस्पतालमा पनि दिने गरेको छ । एचआईभी एड्स, हेपाटाईटिस, पोलेको, सर्पले टोकेर मरेको अवस्थामा आँखा दान गर्न सकिदैन ।
भरतपुर आँखा अस्पतालका अस्पताल प्रशासक दया शंकर चौधरीले नेपाल आँखा बैंकसँग कार्यगत सम्झौता गरी आँखा संकलन गरिने बताए । “सम्झौता भएलगत्तै हामी प्राविधिकलाई तालिम दिनेछौं, देवघाटमा पनि आँखा संकलन केन्द्र सञ्चालन गरिनेछ ।” चितवनमा संकलन भएका आँखालाई तत्कालै तिलगंगा अस्पतालमा रहेको आँखा बैंकमा सुरक्षित रुपमा पठाइनेछ ।” उनले जिल्लाका अन्य अस्पताल, सामाजिक संघसंस्थासँग समन्वय गरिने बताए ।
चितवनमा आँखा प्रत्यारोपण सेवा सञ्चालनमा नरहेपनि आँखा बैंक सेवा सुरु भएपछि प्रत्यारोपण सेवा सुरु हुने बताए । भरतपुर आँखा अस्पतालकी सहायक व्यवस्थापक छायाँ श्रेष्ठले आँखाको नानीको खराबीका कारण दृष्टि गुमेका व्यक्तिलाई दृष्टि प्रदान गर्न आँखा बैंक प्रभावकारी बन्ने बताइन् । कोर्नियाको मागअनुसारको आँखाको नानी नपाइने भएकाले सहजता ल्याउन आँखा बैंक सञ्चालन गर्न लागिएको बताइन् ।
भरतपुर आँखा अस्पताललाई नेपाल आँखा बैंकले गत चैत ८ गते आँखा बैंक सञ्चालन गर्न ५ बुँदे सुझाव दिएको थियो । अन्तर्राष्ट्रिय आँखा बैंक महासंघसँगको सहकार्यमा तिलगंगा अस्पतालमा आँखा बैंक स्थापना भएको थियो । नेपालमा पहिलोपटक २०५१ सालमा नेपाल आँखा बैंक स्थापना भएको थियो ।
भरतपुरमा आँखा बैंक स्थापना गरिदै
भरतपुरमा आँखा बैंक स्थापना गरिदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस