खैरहनी,११ जेठ ।
खैरहनी नगरपालिकाका नगर प्रमुख (मेयर), उपप्रमुख(उपमेयर), वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् । खैरहनी नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले बिहीबार कार्यक्रम आयोजना गरी प्रमाणपत्र वितरणसँगै सपथ ग्रहण गराएको हो ।
साथै बिहीबारै नगर प्रमुख र उपप्रमुखले पदभार ग्रहणसमेत गरेका छन् । निर्वाचन अधिकृत टेकराज निरौलाले नगर प्रमुख लालमणि चौधरी, उपप्रमुख सुनिता थपलियासहित वडाध्यक्षहरुलाई सपथ गराएका हुन् भने नगर प्रमुख चौधरीले सदस्यहरुलाई सपथ गराए । सपथ ग्रहण गर्नेहरुले देश, जनता र ईश्वरको नाममा सपथ खाए । सो अवसरमा नगर प्रमुख चौधरीले जनताले विश्वास गरेर दिएको मतलाई तलमाथि नगरी इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए ।
“जनताको मतमा तलमाथि हुन्न दिन्न”, नगर प्रमुख चौधरीले भने, “विश्वासलाई पूर्वाग्रह नराखी काम गर्छु ।” साथै नगर प्रमुख चौधरीले आर्थिक पारदर्शीता, निष्पक्ष सेवा प्रवाह, सबै वडाहरुलाई समानरुपमा भौतिक पूर्वाधार निर्माणलगायत काम गर्ने बताए । निर्वाचन अधिकृत टेकराज निरौलाले विकासको प्राथमिकतालाई रोजेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई सुझाव दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति शशीकुमार खनिया, नेकपा एमालेका नगर ईञ्चार्ज हिराबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका ईञ्चार्ज जगन्नाथ आचार्य, राप्रपाका ऐनप्रसाद डल्लाकोटी, नेकपा मालेका नगर सचिव कृष्ण थपलिया, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका चुडामणि चौधरी, नेकपा माआवादी क्रान्तिकारीका चुडामणि दर्जी, राष्ट्रिय जनमोर्चाका वासुदेव पौडेल, सहायक निर्वाचन अधिकृत दिवाकर पौडेल, नगरपालिकाका लेखा अधिकृत रिठ्ठे दर्जीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सपथ तथा पदभार ग्रहणपछि बसेको पहिलो बैठकले भूमिहीनलाई जग्गा धनी लालपुर्जा वितरण गर्न पहल गर्ने निर्णण गरेको छ । नगर प्रमुख चौधरीको अध्यक्षतामा नगर उपप्रमुख, वडाध्यक्ष, सदस्य तथा कार्यकारी अधिकृत टेकराज निरौलासहित उपस्थित पहिलो बैठकले सार्वजनिक जग्गा संरक्षण गर्दै भूमिहीन भइरहेका तथा नापी नक्सा भई लालपुर्जा नभएका, नपाएका तर सो जग्गामा बसोबास गर्दै आएका भूमिहीनलाई जग्गाको लालपुर्जा वितरण गर्न पहल गर्ने साथै निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सवैमा धन्यवाद दिने निर्णय गरेको हो ।
यस्तै रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडीले पनि बिहीबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि बाजागाजासहित नगर प्रमुख, उपप्रमुखलाई निर्वाचिन अधिकृतको कार्यालय तथा नगरपालिकाका कर्मचारीहरुले भव्यरुपमा स्वागत गरेका थिए । पदभारपछि नगर प्रमुख वनको अध्यक्षतामा बसेको बोर्ड वैठकले विभिन्न निर्णय गरेको छ । बैठकले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने मतदाता, नागरिक समाज, नगरबासीलगायतलाई धन्यवाद दिने, असार मसान्तभित्र सबै वडामा वडा कार्यालय स्थापना गर्ने, रत्ननगरमा निर्माणाधीन अवस्थामा रहेको सडकको काम छिटो सम्पन्न गराउन पहल गर्नेलगायत निर्णय गरेको छ ।