धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१ साउन ।
चितवनलाई मेडिकल सिटीको रुपमा लिइन्छ । यहाँ सरकारी अस्पतालसहित ठूला मेडिकल कलेजलगायत थुप्रै निजी स्वास्थ्य संस्थाहरु छन् । स्वास्थ्यमा अग्रणी जिल्ला रहेपनि चितवनलाई पूर्ण खोपयुक्त घोषणा गर्न ४ वर्ष लागेको छ ।
वि.सं. २०७१ साल असार १८ गते साविक फूलबारी गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएकोमा जिल्लालाई नै पूर्ण खोपयुक्त गर्न ४ वर्ष लाग्यो । देशभरमा भने चितवन जिल्ला पूर्ण खोपयुक्त घोषणा हुने जिल्लामध्ये ५३ औं स्थानमा छ । नेपालमा भने २०६७ सालबाट पूर्ण खोपको अवधारणा सुरु भएको थियो । जिल्लाको भरतपुर महानगरपालिकाका केही वडाहरुलाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएसँगै महानगर नै पूर्ण खोपयुक्त भएपछि चितवनलाई सोमबार पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । महानगरको १ देखि १२ सम्म ६ नम्बर बाहेक अन्य वडाहरु पूर्णखोप सुनिश्चित हुन बाँकी थियो । चितवनको अन्य नगरपालिका र गाँउपालिका यसअघि नै पूर्णखोप सुनिश्चित घोषणा भइसकेका थिए । समग्र जिल्लामा ७ हजार ५८९ बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि चितवनलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले चितवनलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेकी हुन् । राज्यमन्त्री अर्यालले जिल्ला समन्वय समिति र जिल्ला जनस्वास्थ्य कार्यालयलाई पूर्णखोप सुनिश्चित जिल्लाको प्रमाणपत्र प्रदान गरेकी थिइन् । एउटा बच्चालाई सबै खोपको मात्रा पूरा गर्दा ४५ हजार रुपैयाँ खर्च आउने जानकारी गराउँदै राज्यमन्त्री अर्यालले सरकारले सबै खर्च व्यहोरेर निःशुल्क खोप सेवा प्रदान गर्दै आएको बताइन् । नवजात शिशुलाई जन्मदेखि १५ महिनासम्म ११ थरी रोगविरुद्ध खोप लगाउनुपर्छ । यी सबै खोप बालकले पाएपछि पूर्ण खोप भएको मानिन्छ ।
त्यसअघि जिल्ला खोप समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहाललाई पूर्णखोप सुनिश्चित महानगरपालिकाको प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा जिल्ला खोप समन्वय समिति चितवनका सदस्यसचिव विजयकुमार झाले जिल्लामा सबै बालबालिकाले सरकारले तोकेको ११ प्रकारका सवै खोप लगाएको सुनिश्चित भएपछि जिल्ला पूर्ण खोपयुक्त घोषणा गरिएको बताए ।
सो अवसरमा भरतपुर महानगरापलिका स्वास्थ्य शाखा प्रमुख जीवन श्रेष्ठले महानगरमा पूर्ण खोपयुक्त बनाउन भएका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा उपस्थित जिल्लास्थित स्थानीय तहका प्रमुख, सांसद्हरुलगायतले जिल्लालाई पूर्णखोप सुनिश्चितको दिगोपनाका लागि प्रतिबद्धता जनाउन हस्ताक्षर गरेका थिए । जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं जिल्ला खोप समन्वय समिति चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद्हरु विजय सुवेदी, कृष्ण खनाल, पार्वती सिलवाल, गीता वाग्ले, रीना गुरुङ, जिल्लास्थित स्थानीय तहका प्रमुखलगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
वि.सं. २०७५ साल असार ७ गते बसेको जिल्ला खोप समन्वय समितिको बैठकले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि सिफारिस गर्ने निर्णय गरेपछि राष्ट्रिय खोप समन्वय समितिको स्थलगत अवलोकन तथा अनुगमनपछि प्रमाणीकरण भएपछि चितवनलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा पूर्णखोपयुक्त महानगर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसमेत गरिएको थियो । त्यसअवसरमा कवि राजेन्द्र घायलले पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि भएका गतिविधि र आगामी चुनौतीलाई कवितामार्फत उपस्थित सबैको ध्यानाकर्षण गराएका थिए ।