गठन भएको आधा वर्ष पनि नपुग्दै वर्तमान केपी ओली नेतृत्वको सरकारले लोकप्रियता गुमाउन थालेको छ । संसद्मा संख्यात्मक हिसाबले निकै बलियो अवस्थामा रहेको सरकारले जनभावनाविपरीत केही काम गरेकोले अहिले निकै आलोचना भएको छ । काठमाडौंमा निषेधित क्षेत्र तोक्ने, डा. गोविन्द केसीको पटक–पटकको अनसनबाट प्राप्त भएको उपलब्धीलाई फेरि मास्ने÷बिगार्ने प्रयास गरेको, उपचारमा संलग्न चिकित्सकलाई अपहरण शैलीमा उठाएर लैजाने र विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाटै अपमानजनक ढंगले उठाएर लैजानेजस्ता गतिविधिले गर्दा यो सरकारप्रति जनताले शंकाको दृष्टिले हेरेका छन् ।
वर्तमान सरकारसँग संसद्मा ठूलो शक्ति छ । दुई तिहाइ बहुमत भनेको जुनसुकै निर्णय गर्नका लागि पनि संसद्मा बलियो पकड हो । त्यतिमात्रै नभएर केपी ओलीको व्यक्तित्व आफैमा जनताप्रति लोकप्रिय छ । विगतमा उनले लिएको राष्ट्रियताप्रतिको अडान र विकासवादी केही नाराहरुले गर्दा पनि उनी लोकप्रिय बनेका हुन् । उनीप्रतिको अथाह विश्वासका कारणले पनि नेपाली जनताले उनको दल र तत्कालीन माओवादीको गठबन्धनलाई राम्रो मत दिएका हुन् । अहिले त उनीहरुको दुई पार्टी एक पनि भइसकेका छन् । यो झनै जनताको विश्वास बढेको थियो । तर, सरकारले आफ्नो घोषणापत्रमा बाँडेका सपना पूरा गर्नतिर जानुको सट्टा केही जनहितविपरीत निर्णय गर्न थालेको भान भएको छ । सबैभन्दा ठूलो उदाहरण भनेको चिकित्सा शिक्षा विधेयक हो । विगतको सरकारले सहमति गरेर तयार गरेको चिकित्सा शिक्षा विधेयक यो सरकारले केही मेडिकल माफियाको प्रभावमा परी परिमार्जन गर्न चाहिरहेको छ । त्यसलाई रोक्नकै लागि डा. केसी भोकहडतालमा छन् । तैपनि सरकारले चासो दिएको छैन । एकजना डाक्टर मरे मरोस् भनेजस्तो व्यवहार सरकारले गरिरहेको छ । त्यस्तै सरकारले काठमाडौंमा विरोधमा अंकुश लगाउने गरी निषेधित क्षेत्र तोक्यो । त्यसले लोकतन्त्रको सुन्दर पक्ष विरोध गर्न पाउने अधिकार कुण्ठित गर्ने पक्का थियो । सर्वोच्चले अहिले अन्तरिम आदेशद्वारा त्यसलाई रोकिदिएको छ । त्यसपछि अरु दुई काण्डमा सरकार मुछियो । विदेश उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई अपहरणको शैलीमा बालुवाटर लगेर अपमानित गरियो । यसले समग्र प्राज्ञिक क्षेत्रमै सरकारले आक्रमण भएको टिप्पणी गरिएको छ । त्यस्तै ट्रमा सेन्टरमा काम गर्ने डा. भोजराज अधिकारीलाई काम गरिरहेकै अवस्थामा उठाएर गृहमन्त्रालय लगी थर्काउने काम भयो । यी सबै घटनाले सरकारप्रति जनताको नकारात्मक भावना सिर्जना गरिदिएको छ ।
वर्तमान सरकार अहिलेसम्मकै सबैभन्दा आशा गरिएको सरकार भएको कारणले पनि जनमुखी काम गर्न आवश्यक छ । चुनावी नारामा जनहितको काम गर्ने हुंकार पिट्ने अनि अहिले बहुमत शक्तिको आडमा जनविरोधी काम गर्ने हो भने यो सरकारले चाडै नै लोकप्रियता गुमाउँदै जाने निश्चित छ । सुरुमा सिण्डिकेट हटाएर राम्रो कामको संकेत गरेको सरकारले पछिल्ला यी घटनाहरुका कारण साख गुमाउन थालेको छ । यसलाई सरकारले मनन गरेर आफूलाई सच्याउन आवश्यक छ । होइन भने जनताले फेरि एकपटक राजनीतिक धोका व्यहोर्नुपर्नेछ र अहिलेका शक्तिका दलले पनि धेरै मूल्य चुकाउनुपर्नेछ ।
सम्पादकीय :लोकप्रियता गुमाउदै सरकार
सम्पादकीय :लोकप्रियता गुमाउदै सरकार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु