विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२६ असार्।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाका मुख्य अभियुक्त छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि यो काण्डले फेरि चर्चा पाएको छ । पछिल्लोपटक कृष्णप्रसादकी आमा गंगामायाले जारी राखेको आमरण अनसनपछि छविलालले आइतबार आत्मसर्पण गरेका हुन् ।
यो प्रकरणपछि फुजेल काण्डको फैसला के होला भन्नेमा चासो छ । चितवन जिल्ला अदालतमा यसको छिट्टै सुनवाइ हुने बताइएको छ । चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले मुद्धाको अंग पु¥याउन समय लागेपनि अब मुद्धा प्रक्रियामा अघि बढ्ने बताएका छन् । “नबुझी नहुने, बुझ्नैपर्ने प्रमाण बुझ्न अधिकतम प्रयास ग¥यौँ”, उनले भने, “साउनमा हुने पेसीबाट प्रक्रिया सुरु हुन्छ ।” आउँदो साउन २० गते यो मुद्धाको पेसी तोकिएको छ ।
उनले जाहेरवालालाई अदालत उपस्थित हुन आदेश दिएपनि उपस्थित नभएको बताए । अदालतमा आयोजित अन्तरक्रियामा उनले जाहेरवालाको खोजबिनमा राज्यले सहयोग गर्नुपर्ने बताए । अदालतले २०७४ फागुन १३ गते जाहेरवाला नुरप्रसादलाई अदालतमा झिकाउन आदेश दिएको थियो । मुद्धा चलाउने व्यक्तिलाई ल्याउदेऊ भन्दा पनि राज्यले ल्याउन नसकेको उनले बताए । नेपालभित्रै भए÷नभएको वा विदेश भएको भए कहाँ गएको वा बेपत्ता भएकोबारे राज्यले जानकारी दिनुपर्ने उनको भनाइ छ । हरेका मुद्धामा वादी–प्रतिवादीले अदालतसमक्ष आफ्ना कुरा राख्न पाउनुपर्ने प्रावधान हुन्छ ।
कृष्णप्रसाद अधिकारीको २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको परिवारले बताएको छ । ९ वर्षपछि अदालतमा सो घटनाबारे मुद्धा परेको थियो । अदालतले २०७४ फागुन १३ गते जाहेरवाला नुरप्रसादलाई अदालतमा झिकाउन आदेश दियो । तर, नुरप्रसाद हालसम्म पनि अदालतको सम्पर्कमा छैनन् । सो घटनामा १३ जना प्रतिवादी छन् । त्यसमध्ये एक जना प्रतिवादी छविलाल पौडेलले आइतबार सर्वाेच्च अदालतमा आत्मसमर्पण गरेका हुन् ।
एसएलसी परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएका कृष्णप्रसादको रत्ननगरको बकुलहरमा हत्या भएको थियो । मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै तत्कालै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । लामो समयसम्म कारबाही नभएपछि अनसनकै क्रममा बुबा नन्दप्रसादको निधन भयो भने आमा गंगामाया अनसनमै छिन् । अधिकांश प्रतिवादीले अदालतसमक्ष आफ्नो बयान दिएका छन् । यो मुद्धा चितवनमा पाँचजना न्यायाधीशले हेरिसकेका छन् ।
बेलैमा मुद्धा किनारा
जिल्ला अदालत चितवनमा यो वर्ष १ हजार १ सय २४ थान मुद्धा फैसला हुन सकेका छैनन् । २ वर्ष नाघेका ५ थान मुद्धा विचाराधीन छन् । यो वर्ष पुराना ९ सय १५ थान र नयाँ दर्ता २ हजार ५ सय ५० थान मुद्धा थिए । असार २४ गतेसम्म २ हजार ३ सय ७ थान मुद्धा किनारा लागेका छन् ।
“दर्ता भएको भोलिपल्टै मुद्धा किनारा लगाउन कठिन हुन्छ”, अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले भने, “केही समय लाग्नैपर्छ, हतार गर्नु हुँदैन ।” उनले मुद्धालाई छिट्टै किनारा लगाउने काम भइरहेको बताए । “पुराना मुद्धा धेरै छैनन्, ढिलाइ छैन”, उनले भने, “छिटोछरितो सेवा बनेको छ ।” मुद्धा किनारा लाग्ने बेलामा सोही मुद्धासँग जोडिएर अन्य मुद्धा जोडिदा सम्पादनमा केही ढिला हुनु स्वाभाविक भएको बताए । अदालतले यो आर्थिक वर्षको असार २४ सम्म ६७.२३ प्रतिशत मुद्धा फछ्र्यौट भएको जनाएको छ ।
कुलप्रसाद शर्माले ४ सय १२ थान, मुरारीबाबु श्रेष्ठले ३ सय ६७, राजेन्द्र अधिकारीले ३ सय २९, विष्णुप्रसाद उपाध्यायले २ सय २, सूर्यबहादुर थापाले ३ सय ५९, बासुदेव न्यौपानेले ३ सय ६३ थान मुद्धा किनारा लगाएका छन् । दशैं अगाडि सरुवा भएका ५ न्यायाधीशले २ सय ७५ थान मुद्धा टुंग्याएका थिए । वार्षिक कार्ययोजनाअनुसार यो वर्ष ९९.४३ प्रतिशत मुद्धा किनारा लागेका छन् ।