भरतपुर,२४ असार ।
रेडियो पत्रकार तथा शिक्षक मनोज अज्ञातद्वारा लिखित टुकी उपन्यासको लोकार्पण गरिएको छ । प्रदेश सांसद रामलाल महतोले टुकी बालेर उपन्यासको लोकार्पण गरे ।
सांसद महतोले उपन्यासको चर्चाले बचपनको याद स्मरण भएको बताए । टुकी उपन्यासमा लेखकले थारु समाजको चित्रण गर्दै चितवनका आदिवासी थारु समुदायका पुराना चालचलन, चाडपर्व, रहनसहन, परम्परा उल्लेख गरेको र ती सबै आफूले प्रत्यक्ष भोग्दै आएको बताए । सभासद महतो ‘स्कुले जीवनमा पञ्चायतकालमा थारु भाषाको ‘फुन्गी’ पत्रिका निकालेको स्मरण गरे । फुन्गीको अर्थ झिल्को हुन्छ । फुन्गी चितवनको थारु भाषामा प्रकाशित चेतनामूलक पहिलो पत्रिका थियो । उनले भने, “झिल्कोको ठूलो रुप बनेर टुकी आयो ।”
साहित्यकार धनराज गिरीले मनोज अज्ञातले ‘आफूलाई एक घान मकै भुटेर पस्केको’ बताए । उनले थारु समुदायमा विक्रम र विक्रमिया नाम कसरी राखिन्छ भन्ने कुरा टुकीले प्रष्ट पारेको बताए । टुकीमा थारु समुदायका पर्वहरु जितिया, अमोसा, दशहरा, सोहराई, खिचरा, फगुवा पर्वहरुलाई कथावस्तुमा सिलसिलाबद्ध मिलाएका साहित्यकार गिरीले बताए ।
समिक्षक विजय विश्वकर्माले टुकीको कभरपेजले केहि हदसम्मको कथावस्तुलाई उजागर गर्न खोजेको बताए । निकै मेहनत गरेर पहिचानमूलक कृति आएको बताए । प्रत्येक दश पेजको अन्तरमा माछा र घुँगीको प्रसँगले उपन्यासलाई स्वादिलो बनाएको उनको टिप्पणी छ । टुकी उपन्यास काठमाडौं स्थित नेपाली बुक्सले प्रकाशन गरेको हो । लोकार्पण समारोहमा थारु पत्रकार संघका केन्द्रिय सदस्य सन्त कुमार चौधरी, थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरी, आदिवासी जनजाति पत्रकार महासंघ चितवनका सचिव तुलमान गुरुङ, प्रकाशक जयराम तिमिल्सीना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम थारु पत्रकार संघ चितवन शाखका अध्यक्ष कारी महतोको सभाध्यक्षतामा भएको हो ।