जुम्ला,१६ असार ।
चौतर्फी विरोध भएपछि डा गोविन्द केसीलाई पक्राउ गरेको जुम्ला प्रहरीले रिहा गरेको छ।
चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै आमरण अनसनमा बस्न लागेका डा गोविन्द केसीलाई प्रहरीले मध्याह्न पक्राउ गरेको थियो।
पक्राउपछि उनले हिरासतमै अनसन सुरु गरेका थिए। डा केसीले हिरासतमै अनसन सुरु गरेपछि र जुम्लाका स्थानियले समेत डा केसीको पक्षमा नाराबाजी लगाएपछि प्रहरीले डा केसीलाई छाडिदिएको छ। प्रहरीले डा केसीलई जुम्ला सदरमुकाम खलंगामा रहेको कभर्डहलमा लागेर छाडिदिएको हो।
डा केसीले आफ्नो अनशन जारी राखेका छन्। डा केसीले अाफ्नो माग चिकित्सा शिक्षा र स्वास्थ्यका विषयमा भएकाले अस्पतालमा नै गएर अनशन बस्ने अडान लिएका छन्। प्रहरी प्रशासनले भने अस्पतालमा छिर्न नदिने रणनीति लिएको छ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज दिउँसो २ बजेदेखि अनसन बस्ने उनको तयारी थियो। तर हिजै स्थानीय प्रशासनले प्रतिष्ठान वरिपरि निषेधित क्षेत्र घोषणा गरेपछि स्थानीयको साथमा उनी जिल्ला प्रशासन कार्यालय घेराउमा थिए। करिब ३ सयभन्दा बढी स्थानीयले उनलाई साथ दिएका थिए।
प्रहरीले डा केसीलाई अस्पताल परिसरमा प्रवेश गर्न पनि रोक लगाएको थियो।