धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१६ असार ।
चितवनको राप्ती नगरपालिका खाद्य सुरक्षाको हिसाबले मजवुत देखिएको छ । यस नगरपालिकामा कृषियोग्य भूमि ५ हजार ३ सय हेक्टर रहेको छ । जसमध्ये वर्षे धानको क्षेत्रफल ४ हजार १ सय ८० हेक्टर तथा चैते धानको उत्पादन क्षेत्रफल १ हजार २ सय ५४ हेक्टर रहेको छ । यहाँ वर्षे धान १५ हजार ८८४ टन तथा चैते धान ४ हजार ७६५ टन रहेको छ ।
यस उत्पादनलाई आधार मान्ने हो भने राप्ती नगरपालिकामा धान उत्पादन २० हजार ६४९ टन रहेको नगरपालिकाको कृषि शाखाको तथ्यांक छ । कृषि शाखा प्रमुख श्रीकृष्ण न्यौपानेका अनुसार राप्ती नगरपालिकाले मात्रै ३ सय ६२ दशमलव २६ किलो प्रति व्यक्ती प्रतिवर्ष उपभोगको क्षमता राख्दछ । “राप्ती नगरपालिकाभित्र उत्पादित धानले प्रतिव्यक्ति प्रतिवर्ष लगभग २ सय ६३ किलो उपभोग गर्ने क्षमता रहेको देखाउँछ”, कृषि शाखा प्रमुख न्यौपानेले भने, “यसबाट राप्ती नगरपालिका खाद्य सुरक्षाको हिसाबले मजबुत छ ।”
पन्ध्रौं राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार यो तथ्यांक प्रस्तुत गरिएको हो । चितवन जिल्लामा २९ हजार २०० हेक्टरमा वर्षे धान र ४ हजार ५०० हेक्टरमा चैते धानको खेती गरिन्छ भने जम्मा धान उत्पादन १ लाख १५ हजार ८५० मेक्ट्रिक टन र उत्पादकत्व ३.५ टन प्रति हेक्टर रहेको छ । चितवनको मुख्य अन्नबालीको रुपमा धानलाई नै लिइन्छ । धानपछि मकै दोस्रो तथा तरकारी तेस्रो बाली हो । कुनैबेला चामल निर्यात गर्ने नेपाल अहिले आयात गर्नुपर्ने अवस्थामा छ । प्रतिवर्ष वार्षिक ९ अर्बभन्दा बढीको चामल नेपालले आयात गर्दै आएको छ ।
धानखेतीको सम्भावना रहेपनि चुनौती भने उत्तिकै छ । खेती गर्ने किसानको जग्गा नहुनु अथवा कम हुनु, खेतीयोग्य जमिन अनियन्त्रितरुपमा प्लटिङ र शहरीकरण हुनु, परम्परागत तरिकाले खेती गर्नु, सिंचाईको पर्याप्त सुविधा नहुनु, जलवायु परिवर्तनको असर पर्नु आदि धानखेतीका लागि चुनौती रहेको कृषि शाखा प्रमुख न्यौपानेले बताए । धानखेतीलाई पुनः आत्मनिर्भर बनाउन सरकारले वि.सं. २०६१ सालदेखि प्रत्येक वर्ष असारको १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । यसवर्ष दिवसको नारा धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि दिइएको थियो । दिवसको अवसरमा राप्ती नगरपालिका–१, दुविचौरमा आयोजित रोपाईं कार्यक्रममा नगर प्रमुख प्रभा बरालले सस्तोमा धान बेचेर महँगोमा चामल किनेर खाने प्रवृत्ति हटाउनुपर्ने बताइन् ।
उपप्रमुख इमानसिंह लामाले कृषिको विकास र विस्तारका लागि यान्त्रीकरण र आधुनिकीकरण गरेर व्यावसायिकरुपमा पेशा अँगाल्नुपर्ने बताए । राप्ती–१ का वडाध्यक्ष सिद्धिलाल स्याङ्नतानको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईं, साना किसान कृषि सहकारी संस्था पिप्लेका अध्यक्ष भक्तबहादुर घिसिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दिवसको अवसरमा राप्ती नगरपालिकाले महिला–पुरुष हिले दौड, रोपाईं प्रतियोगिता गर्नुका साथै मेसिनबाट धानसमेत रोपिएको थियो । मेसिनबाट धान रोप्ने प्रविधिको प्रयोग नगरपालिकाले पहिलो पटक गरेको भन्दै कृषि शाखा प्रमुख न्यौपानेले यसलाई विस्तार गर्दै जाने बताए ।
चक्लाबन्दी गरेर खेती ः कृषिमन्त्री लामा
प्रदेश नम्बर ३ का भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले सामुहिक खेती प्रणालीमार्फत समृद्धि हासिल गर्न सकिने बताएका छन् । युवा संघ नेपाल जिल्ला कमिटी चितवन र वाईसीएल चितवनले संयुक्तरुपमा रत्ननगर–८, टारमा धान दिवसको अवसरमा आयोजना गरेको रोपाईं कार्यक्रममा बोल्दै कृषिमन्त्री लामाले धानखेतीलाई चक्लाबन्दी गरेर खेती गर्नुपर्ने बताए ।
खेतीयोग्य जमिन प्लटिङको चपेटामा परेको उल्लेख गर्दै मन्त्री लामाले जग्गाको वर्गीकरण गरेर धानखेती गर्ने जमिनलाई चक्लाबन्दी गरी यान्त्रीकरणमार्फत उत्पादन गर्नुपर्ने औंल्याए । मन्त्री लामाले औद्योगिक क्षेत्र, एकीकृत बस्ती र कृषि क्षेत्रको वर्गीकरण गर्न स्थानीय सरकारलाई आग्रह पनि गरे ।
कृषि पेशाविना देशको समृद्धि नहुने भएकाले यसैबाट रोजगारीसमेत सिर्जना गर्न सकिने र प्रत्येक वर्ष विदेशिने युवालाई रोक्न सकिने उनले धारणा व्यक्त गरे । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले कृषिको विकासका लागि नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ करोड भन्दा वढि वजेट विनियोजन गरेको जानकारी दिए ।
उत्कृष्ट किसानलाई पुरस्कार
राप्ती नगरपालिकाले धान र तरकारी खेती बढी उत्पादन गर्ने ६ जना किसानलाइै पुरस्कृत गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा राप्ती–१, दुवीचौरमा आयोजित कार्यक्रममा नगरपालिकाले बढी धान उत्पादन गरेका ३ जना र बढी तरकारी खेती उत्पादन गरेका ३ जना किसानलाई नगद पुरस्कारले पुरस्कृत गरेको हो ।
१० कठ्ठामा ३१ क्वीन्टल धान उत्पादन गरेका केदार खरेरलाई नगद ३ हजार, दोस्रो बढी उत्पादन गरेकी अम्बिका दुवाडीलाई नगद २ हजार र तेस्रो बढी उत्पादन गरेका रेन्द्र ओलीलाई नगद १ हजारका दरले पुरस्कृत गरिएको थियो । त्यस्तै बढी तरकारी उत्पादन गरेका हरिराज दाहाल पहिलो, अर्जुन चेपाङ दोस्रो र रामहरि उप्रेती तेस्रोलाई पनि क्रमशः नगद ३ हजार, २ हजार र १ हजारका दरले पुरस्कृत गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए । राप्ती नगरपालिका प्रमुख प्रभा बराल, उपप्रमुख इमानसिंह लामा र प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाँईले किसानलाई नगद पुरस्कार प्रदान गरेका थिए ।