विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१५ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संगठितरुपमा धर्म परिवर्तन गराउने काम रोक्न माग गरेका छन् । भरतपुरमा मिडिया नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “लाखौँलाख पहरो नै जाने गरी धर्म परिवर्तन गराइएको छ । विदेशी धर्म स्थापित गर्ने कार्य नियन्त्रण गर्न सरकारले गरोस् ।”
लोभ लालच, दबाब र भ्रम सृजना गरेर योजनाबद्धरुपमा संगठित बनेर धर्म परिवर्तनका काम हुन लागेकोमा थापाले चिन्ता व्यक्त गरे । स्वेच्छाभन्दा दबाबमा पारेर धर्म परिवर्तन गर्ने क्रम बढेको दावी गरे । “सनातन धर्मको रक्षा गर्न सरकारको प्रभावकारी कदम चाहिएको छ”, उनले भने, “धार्मिक स्वतन्त्रताको नाममा जबरजस्ती धर्म परिवर्तन गराउने काम रोकिनुपर्छ ।” उनले हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि जनजागरण अभियानको तयारी गरेको बताए । “यही असार २८ गते काठमाडौंबाट अभियान सुरु हुनेछ । असोज मसान्तसम्म देशव्यापी अभियान चलाइनेछ”, उनले भने, “फागुन ७ बाट जनसंघर्ष सुरु हुनेछ । निर्णायक आन्दोलन बनाउन तयारी गरेका छौँ ।” उनले नेपालको प्राचीन, गौरवपूर्ण इतिहास, धर्मसंस्कृतिलाई अपव्याख्या र अवमूल्यन गर्दै पाठ्यक्रम सुधार गरेको भन्दै दुखेसो पोखे ।
बहुमत दुरुपयोगको खतरा
अध्यक्ष थापाले बामगठबन्धनले पाएको बहुमतको दुरुपयोग गर्न सक्ने खतरा यथावतै रहेको बताए । “दुई तिहाइ बहुमतको दुरुपयोग हुनसक्छ, एकदलीय सर्वसत्तावादतर्फ जाने, राजनीतिक अस्थिरता पुनरावृत्ति हुने आशंका देखापरेको छ”, उनले भने, “सत्तारुढ दलका नेताका अभिव्यक्तिले आशंकाको स्थिति पैदा भएको छ ।” उनले देशको आर्थिक विकास र समृद्धिलाई केन्द्रीत गरेर इमान्दारीपूर्वक अनुकुल वातावरण बनाउनुपर्ने बताए । उनले वर्तमान सरकारको गतिविधिले आशा र आशंका पैदा गरेको प्रतिक्रिया दिए ।
हचुवाका भरमा एकता हुँदैन
विभाजन हुँदै आएको राप्रपा फेरि एकता गर्ने ‘मूड’ मा पुगेको छ । राप्रपा र राप्रपा (प्रजातान्त्रिक) ले एकता गर्न वार्ताटोली नै गठन गरेका छन् । “अब कहिल्यै नफुट्ने संकल्प गरेर एकता गर्नेछौँ”, अध्यक्ष थापाले भने, “हचुवा र हतारमा एकता हुँदैन । पदीय भागबण्डाको आधारमा एकता हुँदैन । एकता महाधिवेसनले पारित गरेको सिद्धान्त र विचारकै आधारमा एकता हुन्छ ।”
उनले समान विचार भएका सबै दलसँग एकता र सहकार्यको पहल भइरहेको बताए । “विभाजनले हामी कमजोर बन्यौँ । तत्कालीन राप्रपा नेपालले पनि नोक्सान ब्यहो¥यो”, उनले भने, “सबैले यस्तै नोक्सान भोग्यौँ । विगतको पाठ सिकेर नफुट्ने बाचाबन्धन गर्नुपरेको छ । हेरौँ के हुन्छ ।” उनले तत्कालीन राप्रपा नेपाल एकिकरण पश्चात बनेको राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको एजेण्डा नछाडेको बताए । “पार्टीलाई ठूलो बनाउने नाममा एकता ग¥यौँ, त्यो एकता गल्ती थिएन”, उनले भने, “एकता जोगाउन नसक्नु मेरो पनि गल्ती हो । अब यस्ता गल्ती हुनेछैनन् ।” देशको वैकल्पिक राष्ट्रवादी, प्रजातन्त्रवादी शक्तिका रुपमा राप्रपा स्थापित गर्ने अभियानमा लागेको बताए । पार्टी संगठनलाई स्थानीय वडातहबाटै सुधार गर्ने अभियानमा लागेको बताए ।