धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१५ असार ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकासन गर्ने पात्रो र वैदिक पात्रोबीच करिब २५ दिनको फरक पर्ने गरेको वेदका अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । वैदिक धर्म प्राचीनकालदेखि मनाइने भएपनि निर्णायक समितिले निकाल्ने पात्रोका कारण नेपाली चाडवाडको समयपनि फरक परिरहेको उनीहरुको भनाइ छ ।
बिहीबार रत्ननगर–१३, जयमंगलामा आयोजना गरिएको वैदिक कालगणना सिद्धान्तको औचित्य र अध्यायोपाकर्म विषयक प्रवचन गोष्ठीमा पण्डितहरुले चन्द्रमानअनुसार नेपाली पात्रो तथा नेपाली पर्वहरु सुधार गर्दै लैजानुपर्ने बताए । चन्द्रमानअनुसार नेपाल पञ्चाङ्ग निर्णायक समितिको पात्रो २४–२५ दिन पछाडि रहेकोले नेपालीहरुले मनाउँदै आएको चाडबाडको समयसमेत परिवर्तन गर्नुपर्ने पण्डित कृष्णप्रसाद दुवाडीले बताए ।
अयान विन्दु नमिलाउँदा २५ दिनको फरक पर्ने गरेको उनले बताए । बिहीबार वेद पढ्ने दिनको सुरुआत गरिन्छ । बिहीबारकै दिन वेदको पात्रोअनुसार जनैपूर्णिमा पर्दछ । “वेद गणितमा आज साउन १५ गते हो । वैदिक पात्रोअनुसार वर्षमा चार दिन जनै फेर्ने चलन थियो”, पण्डित दुवाडीले भने, “तर अहिले एक दिन झारिएको छ, यो वैदिक पात्रोअनुसार छैन ।” दशैंजस्ता चाड वैदिककालमा नभएको पर्व भएकाले पछि समावेश गरिएको वताए । ती दुई पात्रोबीच चन्द्रग्रहण र सूर्यग्रहण मिल्ने भएपनि दिन घण्टा फरक पर्छ । नित्य कर्म, श्राद्धलगायत अन्य पर्वहरु बिग्रिएकाले यसलाई मिलाउनका लागि वेदाङ्ग ज्योतिषअनुसार पात्रोको तिथि मिलाउनुपर्ने पण्डित दुवाडी बताउँछन् । “हामीले गर्ने पूजापाठ गलत तरिकाले गर्दा त्यसले हानी निम्त्याउँछ”, उनले भने, “नेपाल पञ्चाङ्ग निर्णायक समिति र वेद अनुसन्धानदाताबीच समन्वय गरेर तिथि, दिन मिलाउनुपर्छ ।”
प्रत्येक वर्ष २० मिनेटका दरले समयरेखा केन्द्रविन्दुबाट सर्दै जाने भएकाले ७२ वर्षमा एक दिन घट्ने भएपनि त्यसलाई पञ्चाङ्ग निर्णायक समितिको पात्रोले नमिलाएको ज्योतिषहरुको भनाइ छ । पात्रो मिलाउनका लागि सरकारलाई पटक–पटक आग्रह गरेपनि त्यसले मूर्त रुप लिन नसकेको उनीहरुले बताए । वेदका कुनैपनि शास्त्रमा हिन्दू धर्म नभएको दावी गर्दैै पण्डित दुवाडीले गैरहिन्दूहरुले हिन्दू बनाएको आरोप लगाए । गैरहिन्दूहरुले हिन्दू बनाएका हुन्, वेदका कुनैपनि शास्त्रमा हिन्दू धर्म छैन”, पण्डित दुवाडीले भने ।