आज असार १५ । यो दिन देशभर राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । यसपालि १५ औं राष्ट्रिय धान दिवस हो । विश्वमा सन् २००४ अर्थात २०६१ सालमा पहिलोपटक अन्तर्राष्ट्रिय धान दिवस मनाइएको थियो । वर्षौंंदेखि यो दिनलाई मानो रोपेर मुरी फलाउने विशेष दिनका रुपमा मनाइदै आइएको छ । तर, हरेक वर्ष धान खेती गर्ने जमिनको क्षेत्रफलचाहिं एकपछि अर्को गरी घट्दै गएको छ । पछिल्लो केही वर्षमा लाखौं हेक्टर खेतीयोग्य जमिन घट्दा उत्पादन दशौं लाख टनले घटेको अनुमान गरिएको छ । विभिन्न अध्ययनले हिमाली र उच्च पहाडी जिल्लामा खाद्य असुरक्षाको उच्च जोखिम रहेको देखाउने गरेको छ । यसले भविष्यमा आइपर्ने विकराल समस्यालाई स्पष्टरुपमा इङ्गित गर्दछ । खेतीयोग्य जमिनलाई खण्डीकरण गर्ने अनि घर बनाउने तर, खेतीपातीमा चासो नदिने हो भने अबको केही वर्षमै खाद्यान्नमा देश अरु परनिर्भर हुनुपर्ने निश्चित छ ।
४३ राष्ट्रको संयुक्त आह्वानलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्तावलाई पारित गरेपछि आजसम्म विभिन्न देशमा अलग÷अलग रुपले धान दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् २००४ मा पहिलोपटक अन्तर्राष्ट्रिय धान दिवस मनाएको थियो । त्यसवर्षको अन्तर्राष्ट्रिय धान दिवसको नारा ‘धान जीवन हो’ भन्ने राखिएको थियो । त्यसपछि संयुक्त राष्टसंघमार्फत अन्तर्राष्ट्रिय धान दिवस मनाउने गरिएको पाइँदैन । विश्वमा नेपाल एक त्यस्तो देश हो, जसले संयुक्त राष्ट्रसंघबाट निर्णय भएको धान दिवसलाई नै आजसम्म ‘राष्ट्रिय धान दिवस’ को रुपमा मनाउँदै आएको छ । देशमा वर्सेनि आयात बढेको बढ्यै छ । खेती घटेसँगै उत्पादन पनि ह्वात्तै घटेको छ । बढ्दो सहरीकरणका कारण खेतीयोग्य जमिन घट्दै जानु र कृषिमा आधुनिकीकरण नहुनुले पछिल्लो समय खाद्यान्न आयात गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । अहिले पनि ३३ जिल्ला खाद्यान्नमा पूरै परनिर्भर भएको एक तथ्यांकले देखाउँछ । सन् २००५ देखि २०१० सम्म सरदर २ लाख २७ हजार टन खाद्यान्न आयात गर्दै आएकामा २०१० यता सरदर करिब ४ लाख टनभन्दा बढी खाद्यान्न आयात हुँदै आएको छ । अवस्था यहीक्रमले अघि बढ्दै जाने हो भने अबको केही वर्षपछि खाद्यान्नका लागि देश पूरै परनिर्भर बन्नेछ । नगदेबाली र तरकारी खेतीप्रतिको आकर्षणले पनि खाद्यान्न उत्पादनमा असर गरेको छ । चितवन धानखेतीका लागि विशेष क्षेत्र भएपनि जमिन खुम्चिदै जाँदा धानखेतीको उत्पादन पनि घट्दै छ ।
भएको खेतीयोग्य जमिन नै मासेर प्लटिङ गर्ने, जमिन टुक्राएर धुजा बनाउनेलाई उचित नियमन गर्न आवश्यक छ । राज्यको नीति नभएको पनि होइन, जग्गा कसरी टुक्राउने, कहाँ घर बनाउने, कहाँ नबनाउने भन्ने स्पष्ट व्यवस्था छ । तर, त्यसको कार्यान्वयन नहुँदा यसपालि धान झुलेको खेतमा अर्को १५ असारसम्म घर ठडिइसक्ने समस्या केही वर्षयता हुँदै आएको छ । यस्तो क्रम रोकेर खेतीयोग्य जमिनलाई खेतीमा मात्र उपयोग गर्न पाउने व्यवस्था गरिनुपर्छ । त्यसो त कृषिमा आधुनिकीकरण, यन्त्रको प्रयोगले सहज खेती प्रणाली भित्राउन पनि उत्तिकै आवश्यक छ । यसले उही समयमा, अझ थोरै मेहनतले धेरै उत्पादन लिन सघाउ पुग्छ । त्यसतर्फ ध्यान दिन सकिए विस्तारै खाद्यान्नमा परनिर्भरता कम हुँदै गएर देशमा भोकमरी र खाद्यान्न अभावको अवस्था पनि अन्त्य भएर जानेछ ।
सम्पादकीय : धान उत्पादन बढाऔं
सम्पादकीय : धान उत्पादन बढाऔं
तपाईको प्रतिक्रिया