भरतपुर, १४ असार ।
क्रिकेटका पूर्वखेलाडी अनिल अधिकारीले क्रिकेट प्रशिक्षणका लागि भारतमा प्रशिक्षणको अवसर पाएका छन् । नेपाल सरकार राष्ट्रिय खेलकुद परिषद्मार्फत उनले भारतको पटियालास्थित नेताजी सुभाष नेसनल इन्ष्टिच्युट अफ स्पोर्टस्मा प्रशिक्षणका लागि छात्रवृत्ति पाएका हुन् ।
भरतपुर–१० का स्थायी बासिन्दा अधिकारी पूर्व राष्ट्रिय खेलाडी हुन् । हाल उनी भरतपुर क्रिकेट क्लबका अध्यक्ष तथा चितवन क्रिकेट संघका सदस्य छन् । उनले नेपालमा क्रिकेट विकासका लागि विभिन्न अभियान चलाउँदै आएका छन् ।
शुक्रबार भारततर्फ जान लागेका अधिकारीलाई बिहीबार भरतपुमा युवा सशक्तीकरण अभियानले विदाई गरेको छ ।
अभियानका अध्यक्ष मित्रनिधि तिवारीको अध्यक्षता तथा सल्लाहकार तथा मैयाँदेवी कन्या कलेजका प्रमुख कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै अधिकारीले १ वर्षको अनुभव ल्याएर नेपाली क्रिकेटमा केही गरेर देखाउने प्रण गरे । कार्यक्रममा प्राध्यापक बालनाथ सिग्देल, नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजाललगायते मन्तव्य व्यक्त गरेका थिए ।