
सुलभबन्धु पोखरेल
आदरणीय ठाकुर काका नमस्कार !
माडी नगरपालिकाको पहिलो मेयरमा झिनो मतान्तरले विजय हुनु भएकोमा हार्दिक बधाई । माडी भौगोलिक मनोरमताले अत्यन्तै सुन्दर र रमणीय छ । तर, राजनीतिक असल नेतृत्व पाउन नसक्नु माडीबासीका लागि दुर्भाग्य बनिरह्यो ।
ठूल्ठूला सपना देखाएर भोट माग्ने अनि भ्रामक र विकाउमा लागेर मत दिने माडीबासीको नियति बन्यो । त्यसको प्रत्यक्ष असर माडिको जनसंख्या ६० हजार हाराहारीबाट ३८ हजार हाराहारीमा झर्नु र विकासका कुनै ठोस व्यवस्थापन नहुनु हो ।
परिवर्तनको नाममा लामो समयदेखि लडिरहेको छु भनिरहनुभएको छ । हुन त व्यक्तिगतरूपमा राम्रोसँग परिवर्तन हुनुभएको छ । भौतिक सुखसयल र अलिसान महलमा आनन्ददायी र सुरक्षित जीवन बिताइरहनुभएको छ । तर, जसका नाममा लडे भन्दै हुनुहुन्छ ती भने जहाँको त्यही छन् । कहिल्यै शान्तिको श्वास फेर्न पाएनन् । पटक–पटक तपाईंलाई माडीबासीले निवार्चित गराउँदा पनि चर्को भाषण र अरुको विरोध गर्नमै समय खर्चिनुभयो । सबैलाई शहरमुखी बन्न सिकाउनुभयो । तर, माडीलाई सहर बनाउन सिकाउनुभएन । सम्भावनाका स्रोत देखाउन पछि पर्नुभएन । तर, सदुपयोग गर्ने तौरतरिका सिकाउनुभएन । त्यही पनि तपाईंलाई माडीबासीले विश्वास गरिरहे । अझै ५ वर्षको लागि माडी तपाईंकै हातमा सुम्पेका छन् ।
काका,
भत्काउन, मार्न, कुट्न, विरोध गर्न जति सजिलो छ, त्यति नै बनाउन, जन्माउन, हातेमालो गर्न र सद्भाव बाँड्न गाह्रो छ । अघिल्ला कुरामा तपाईं एकदम माहिर मानिनुहुन्छ । त्यससम्बन्धी धेरै ज्ञान र अनुभव बटुल्नुभएको छ । पछिल्ला कुराले मात्रै समृद्धिको ढोका खुल्छ, राम्रोसँग हेक्का राख्नुहोला । हुन त म तपाईंलाई सिकाउने हैसियतको मान्छे होइन । तर, मेरो सम्पूर्ण जीवन माडीमै व्यतित गर्नुपर्ने हुनाले मेरो चासोको विषय पक्कै हो । म माडीबासी हुँ, गर्व छ र माडी समृद्ध बनोस् मेरो चाहना हो ।
काका,
घमण्ड र जोश नभई अब विवेकले काम गरेर राम्रो माडी बनाउनुहोला । जहाँ म र म जस्तै माडीबासी खुसीका साथ यही माटोमा लडिबुडी गर्दै रम्न सकौं । तपाईंका व्यक्तिगत केही राम्रा पक्ष भएपनि धेरै नराम्रा पक्षहरु सुनेको छु र देखेको छु । गल्ती कमजोरीहरु माडीबासीको आँखामा छल्किरहेका छन् । माडीमा भएको घटना जुन माडीबासीले कहिल्यै बिर्सन सक्दैनन् । त्यहीबेला तपाईं माओवादी भन्दा फरक पार्टीमा हुनुहुन्थ्यो । समय चक्रसँगै तपाईं माओवादीमा समाहित हुनुभएको छ । अब त्यसको जिम्मेवारी तपाईंको काँधमा आएको छ । बाँदरमुढे घटनामा परी ज्यान गुमाएकाको परिवार र घाइते भएकाको घाउमा मल्हम कसरी लगाउन सक्नुहुन्छ ? विगतका गल्तीहरुबाट पाठ सिक्दै पुराना खाटा बसिसकेको घाउहरुलाई बिर्साउँदै माया र ममता छर्ने सुनौलो अवसर पाउनु भएको छ, सदुपयोग गर्नुहोला ।
हुन त तपाईसँग आजसम्म मैले हात मिलाउन र नजिक गएर बोल्न सकिरहेको छैन । डर पाल्नु मेरो भ्रम पनि हुन सक्छ । तर, तपाईंसँगको डर मेरो मनमा बाँस गरिरह्यो । २०५६ सालतिर निर्वाचनमा नेता दिवाकर भुसालको चुनावीसभामा सहभागी हुँदा कांग्रेससँगको झगडा ताजै छ । चुनावीसभाको छेउबाट कांग्रेसको प्रचारप्रसारको ट्याक्टर गुडिरहेको थियो । त्यहीबेला यहाँहरुको पार्टीले गरेको आक्रमणको साक्षी पनि हुँ । यस्ता केही घटनाले डर बाँकी नै छ ।
काका,
तपाईं भाग्यमानी हुनुहुन्छ । पहिलो मेयर बन्ने शौभाग्य पाउनुभएको छ । दिवाकर भुसाल र देवीप्रसाद बस्याल जस्ता अग्रजको आशीर्वाद पाउनुभो । नारदमणि पौडेल, तीर्थ भुसाल, श्याम विष्ट, प्रेम तिमिल्सिना, सन्देश पौडेल, रामकृष्ण चौधरीजस्ता व्यक्तिहरुको साथ सहयोग पाउनुहुने नै छ । यसलाई सदुपयोग गर्दै माडीमा सम्भावनाका स्रोतहरु प्रर्यटन, कृषि, व्यापार, मनोरञ्जन तथा खेलकुदलाई विकास गर्दै समृद्ध माडी अभियानको नेतृत्व गर्नुहोला । पीडिलाई होस्टेमा हैंसे गर्न नयाँ युवापिंढी भर्भराउँदो नयाँ सोच र उत्साहका साथ हिडिरहेका छन् । युवापुस्ताका चम्किला अनुहारहरुलाई साथमा लिएर हौसला प्रदान गर्दै सही बाटोमा हिड्नुहुने नै छ । उपमेयरमा कुशल, इमानदार र अनुभवी व्यक्तिको साथ पाउनुभएको छ । त्यसैगरी वडाध्यक्षमा निर्वाचित भएका सबै सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व नै छन् ।
काका,
अन्त्यमा मजस्ता विदेश पलाएन भएका युवालाई स्वदेशमै रोजगारी सृजना गरेर आफ्नै माटोमा रमाउने वातावरण बनाउनतर्फ सोच्नुहोला । विदेशमा कमाएको धन र सीपलाई उत्पादनमूलक समृद्धिको लागि लगाउन सक्ने नयाँ बाटा र देशमै गरिखान सकिने अवस्थाको सिर्जना गर्न ध्यान दिनुहोला । सहरमुखी बनेका तपाईंजस्ता व्यक्तिलाई माडीमै फर्काएर माडीलाई सहर बनाउने वातावरण बनाउनुहोस् । मेरो जिज्ञासाले तपाईंको मनमा ठेस पुगेमा क्षमा चाहन्छु । सफल कार्यकालको शुभकामना !