भरतपुर,१३ असार ।
वर्षायाम सुरु हुँदै गर्दा नारायणगढ–मुग्लिङ सडक यात्रुको लागि टाउको दुखाइ बन्दै छ । पानी प¥यो कि पहिरो झरिहाल्ने समस्याले यहाँ सताउने गरेको छ । मंगलबार मात्रै पनि ११ घण्टा सडक अवरुद्ध भयो । बिहान साढे ५ बजेदेखि बन्द भएको सो सडकखण्ड झण्डै ११ घण्टापछि सञ्चालनमा आएको हो ।
सडकमाथिबाट खसेको पहिरो हटाएपछि अपराह्न ४ बजेदेखि खुलेको नारायणगढ–मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । त्यसपछि सडक दुईतर्फी नै खुल्यो । पहिरोले सडक अवरुद्ध हुँदा सोमबार रातिदेखि सवारीसाधन जाममा परेका थिए । सडकमा दुवैतर्फ सवारीको अधिक चाप भएको कारणले सहज सञ्चालनका लागि अझैं केही घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । सयौं सवारी साधान र हजारौं यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका थिए ।
पहिरोको समस्या त एकातिर छदै छ । यसको साथै अर्को समस्या पनि आइपरेको छ । पहिरो पन्छाएको पैसा नपाएको भन्दै ठेकेदारले ढिलाइ गर्दा सडक खोल्न ढिलाइ हुने गरेको छ । नारायणगढ–मुग्लिङ सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभीले यसअघि खसेका पहिरो पन्छाएको रु तीन करोड ५० लाखभन्दा बढी पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो ।
नारायणगढ–मुग्लिङ सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार बिहान ठेकेदारले पैसा नपाएको भन्दै सुरुमा पहिरो पन्छाउन नमानेपछि पहिरो पन्छाउन ढिलाइ भएको हो । बिहान ५ः३० बजे खसेको पहिरो ८ः३० बजेदेखि मात्र पन्छाउन थालिएको थियो ।
सुरुमा एउटा एक्साभेटरले एकापट्टिबाट मात्र पहिरो पन्छाउन सुरु गरे पनि पछि आयोजनाको दबाबसँगै ठेकेदार कम्पनीले थप एक एक्साभेटर र एक लोडर प्रयोग गरेर पहिरो पन्छाएको थियो । बिसुरालले ठेकेदार कम्पनीले पेस गरेको कागजपत्र नमिलेका कारण भुक्तानीमा ढिलाइ भएको भन्दै कामको भुक्तानी हुने बताए ।
यसवर्षकै सबैभन्दा ठूलो पहिरो मंगलबार टोपेखोलामा खसेको हो । नारायणगढ–मुग्लिङ सडक आयोजनाका अनुसार पहिरोले सडकको ३० मिटर भाग पूरै ढाकेर नदीसम्म खसेको थियो ।