हेम रोकाहा/कायाकैरन
भतरपुर,१० जेठ ।
देशकै ध्यान आकर्षण गरिरहेको भरतपुरको मतगणनाले रोमाञ्चक मोड लिएको छ । भरतपुको १० नम्बर वडाबाट निरन्तर मेयर पदका एमाले उम्मेद्वार देवीप्रसाद ज्ञवालीले मतान्तर बढाउँदै गएकोमा ६ वटा वडाको गणनापछि केही फरक देखिएको छ ।
१०, ११, १२, २९, २८ र २७ सकिदासम्म बढाउँदै लगेका ज्ञवालीको अग्रता १३ नम्बर वडाको मतगणना हुँदा कायमै छ । तर, अब भने त्यो घट्दो देखिएको छ । यो वडामा माओवादी केन्द्र र नेपाली कांग्रेसकी साझा उम्मेद्वार रेणु दाहालले मतान्तर घटाउँदै लगेकी छिन् ।
२७ नम्बर वडामा नेपाली कांग्रेसका गोविन्द तामाङ अध्यक्षमा विजयी हुँदा देवी ज्ञवालीले २६ हजार ५६ मतका साथ ३ हजर ८ सय ३६ को अग्रता लिएका थिए । त्यसअघि वडा नम्बर १२ को मतगणना सकिँदा ज्ञवालीले ३ हजार ३ सय ८९ को अग्रता ल्याएका थिए । तर, १३ नम्बर वडाको १२ सय मात्रै मत गन्दा पनि मतान्तर ३ हजार ५ सय १८ मा झरेको थियो । १३ नम्बर वडाको १२ सय मत गन्दा ज्ञवालीले ३५८ मत बढाउँदा दाहालले ६७६ मत थपिन् ।
अब गणना हुने वडा कांग्रेस र माओवादीको गढको रुपमा रहेकाले त्यहाँ एमालेको स्थिति प्रतिरक्षात्मक हुने ठानिएको छ । त्यसैले अबको अग्रता लिने पालो रेणुको रहेको विश्लेषकहरु बताउँछन् । कूल २९ वडा रहेको भरतपुर महानगरपालिकामा अझै १४ वडाको मतगणना हुन बाँकी छ । तीमध्ये अधिकांश नेपाली कांग्रेसको पकड रहेका वडा छन् ।
चितवनमा करिब ७५ प्रतिशत हाराहारीमा मत खसेको हुनाले कूल मतदाता ४ हजार १ रहेको १३ नम्बर वडामा ३ हजारको हाराहारीमा मत खसेको छ । यही अनुपातमा हेर्दा वडा नम्बर १४ मा झण्डै ४ हजार ३ सय ६३ हाराहारी मत खसेको छ । माओवादीको सामान्य प्रभाव रहेको १३ र १४ नम्बर वडामा कांग्रेसको मत थपिंदा रेणुलाई राम्रै मत आउने अपेक्षा गरिएको छ । एमालेको प्रभाव राम्रो रहेको वडा नम्बर १५ मा ५ हजार ६४९ मत खसेको छ । वडा नम्बर १६, १७, १८, १९ र २० मा कांग्रेसको प्रभाव छ । यहाँको मतले रेणुले देवीसँगको मतान्तरलाई घटाई अग्रता लिनसक्ने विश्लेषकहरुको अनुमान छ । १६ मा ५ हजार ४ सय ४२, १७ मा ३ हजार १८, १८ मा ३ हजार ५ सय ८८, १९ मा २ हजार ८ सय ४८ र २० नम्बर वडामा ३ हजार २ सय ४६ को हाराहारीमा मत खसेको छ । यो कूल मतदाताको आधारमा ७५ प्रतिशत मत हो ।
४ हजार ५ सय ८७ कूल मतदाता रहेको वडा नम्बर २१ मा एमाले र कांग्रेसको उस्तै प्रभाव रहेकाले यहाँ तीव्र प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । २१ मा झण्डै ३ हजार ४ सय ४० मत खसेको छ । २२ मा माओवादीको राम्रो पकड छ । करिब २ हजार ६ सय ९१ मत खसेको भनिएको सो वडामा रेणुले राम्रो मत ल्याउने अनुमान गरिएको छ । वडा नम्बर २३ र २४ मा एमालेको प्रभाव बढी रहेको विश्लेशकहरु बताउँछन् ।
२३ मा २ हजार ९ सय १६ र २४ मा १ हजार ६ सय ९० मत खसेको छ । ३ हजार ९ सय ९६ मत खसेको वडा नम्बर २५ मा माओवादीको प्रभाव राम्रै रहेको मानिन्छ, जहाँ कांग्रेसको मत थपिदा रेणुले बढी मत पाउने अनुमान गर्न सकिन्छ । वडा नम्बर २६ मा नेपाली कांग्रेसको बलियो प्रभाव भएको क्षेत्र हो । जहाँ ४ हजार ८९ मत खसेको छ ।
एमालेको गण मानिएका वडाहरुबाट ज्ञवालीलाई अपेक्षाकृत मत नआएपनि उनले अतिरिक्त मत पनि पाइ नै रहेका छन् । वडा नम्बर १०, ११ र १२ रेणुलाई समस्या पार्ने वडाका रुपमा लिइएपनि वडा नम्बर १० बाट उनले कांग्रेसको सन्तोषजनक मत पाएको देखिएको छ । यस्तो अवस्थामा कसले जित्ला भनेर अझैपनि अनुमान लगाउन गाह्रो छ । यसको फैसला १४ नम्बर वडापछिका वडाका मतपरिणामले निश्चित गर्ने विश्लेषकहरु बताउँछन् ।