ध्रुवराज खनाल
रत्ननगर,१० जेेेठ ।
रत्ननगर नगरपालिकामा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय रत्ननगरले मंगलबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई सपथ ग्रहण गराएको हो ।
रत्ननगरकी निर्वाचन अधिकृत गीता गुरुङले नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई तथा नगर प्रमुख नारायण वनले वडा सदस्यलाई सपथ गराएका थिए । सोही अवसरमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा सम्मान गरिएको थियो । सपथ ग्रहणपछि नगर प्रमुख वनले साझा एजेण्डा बनाएर नगरको समृद्धितर्फ लैजाने प्रण गरे ।
उनले नगरबासीले दिएको मत खेर जान नदिने उल्लेख गर्दै रत्ननगरलाई उदाहरणीय बनाउनेसमेत बताए । नगर उपप्रमुख विमला दुवाडीले सबैलाई समान न्याय दिलाउन आफू कटिबद्ध रहेको बताइन् । कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरेले रत्ननगर सम्भावनाले बोकेको नगर भएकाले नगरको पहिचान बदल्न नवनिर्वाचित जनप्रतिनिधीलाई सुझाव दिए ।
निर्वाचित अधिकृतको कार्यालयका निर्वाचन अधिकृत गीता गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेल, नेकपा माओवादी केन्द्र नगर सहईञ्चार्ज सुवोध अम्गाईं, रत्ननगर–२ का वडाध्यक्ष तिलकराज शर्मा, नगर सदस्यहरु निर्मला खड्का, नन्दकुमारी सापकाटो, राष्ट्रिय जनमोर्चाका मेघराज ढकाल, नेमकिपाका विष्णु शर्मा, नेकपा क्रान्तीकारी माओवादीका प्रकाशबावु खनाल, नयाँ शक्ति पार्टीका दिलबहादुर अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच रत्ननगर नगरपालिकामा निर्वाचित मेयर, उपमेयर तथा वडाध्यक्ष र सदस्यहरुलाई रत्ननगर–१३ स्थित श्रीराम वैदिक प्रतिष्ठान, श्रीराम मन्दिर तथा श्रीराम वैदिक संस्कृत गुरुकुलमले स्वागत तथा सम्मान गरेको छ । यही वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित रत्ननगरका मेयर नारायण वन, उपमेयर विमला दुवाडी, रत्ननगर १३ का वडाध्यक्ष चित्रबहादुर भण्डारीसहित सदस्यलाई मंगलबार गुरुकुलममा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष भेषराज दुवाडी, विश्व हिन्दू महासंघ नारायणी अञ्चल संयोजक हरिविलास खनाल र जयमंगला बहुमुखी क्याम्पसमा अध्यक्ष विश्वनाथ खनालले टीका लगाई फूलगुच्छा दिदै रामनामी ओढाई सम्मान गरे । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष भेषराज दुवाडीले मुठ्ठीदाताबाट सञ्चालन हुँदै आएको सो गुरुकुलम विद्यापीठ वनाउने योजना रहेकाले त्यसमा सहयोग गर्न नवनिर्वाचित नगर प्रमुखसमक्ष आग्रह गरे ।
एक हजारभन्दा बढी मुठ्ठीदाताबाट सञ्चालन हँुदै आएको सो गुरुकुलममा ६० जना वटुकहरु आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । सो अवसरमा नगर प्रमुख वनले गुरुकुलमको विकास गरी धार्मिक पर्यटकीय क्षेत्र बनाउन सहयोग गर्ने बताए । जयमंगला बहुमुखी क्याम्पसका अध्यक्ष विश्वनाथ खनालको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख विमला दुवाडी, रत्ननगर–१३ का वडाध्यक्ष चित्रबहादुर भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।