भरतपुर,१२ असार ।
चितवन उद्योग संघले चाडपर्वलाई लक्षित सुपथ बजार भएको मेला गर्ने भएको छ । चितवन औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा ‘दशैं महोत्सव २०७५’ मा सहुलियत दिने बजार सञ्चालनमा ल्याइने छ । असोज १८–२७ गतेसम्म हुने महोत्सवका लागि स्टल बुकिङ सुरु गरिएको छ । “मूल्य सूचि राखिएका, गुणस्तर मापन गरेका सामाग्री बिक्रिका लागि राखिनेछ”, संघका अध्यक्ष भेषराज दुवाडीले भने, “सुपथ बजार हुनेछ । नुनदेखि उनसम्म सबै पाइनेछ ।” ३ सय स्टल रहने छन् । खाद्यान्न, लत्ताकपडा, मरमसाला, माछा, कुखुरा, खसी, भेडा, च्याङग्रा, पर्व विशेषका परिकारको कारोबार हुने बताए । अध्यक्ष तथा महोत्सवका संयोजक दुवाडीले स्वदेशमै उत्पादित वस्तुको बजार प्रवद्र्धन एवंम विक्री वितरण, सम्पूर्ण प्रकारका उपभोग्य सामानहरु एउटै छानामुनी सुपथ मूल्यमा उपलब्ध गराई उपभोक्तालाई सेवा प्रदान गर्ने महोत्सवको मूख्य उद्देश्य रहेको बताए ।
महोत्सवको आकर्षणमा उपभोग्य वस्तुको प्रत्यक्ष अवलोकन एवंम प्रदर्शनी, सबै प्रकारका उपभोग्य वसतुको खरिद–विक्री, होटल तथा रेष्टुरेण्ट परिसर, परम्परागत मनोरञ्जनका सामाग्रीहरु (लिङगे पिङ, रोटे पिङ), विविध साँस्कृतिक कार्यक्रमहरु रहेका छन् । महोत्सवमा प्रवेशका लागि विद्यार्थीलाई ३० र आम सर्वसाधरणलाई ५० रुपैयाँको टिकट व्यवस्था गरिएको संघले जनाएको छ । महोत्सवमा कुल २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।