धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१२ असार ।
चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ भित्र नगरलाई बालश्रममुक्त नगर घोषणा गर्ने जनाएको छ । खैरहनी नगरपालिकाको आइतबार भएको तेस्रो नगरसभाले आगामी आर्थिक वर्षभित्र नगरलाई बालश्रममुक्त घोषणा गर्ने नीति तथा कार्यक्रम ल्याएको हो ।
बालश्रममुक्त नगर घोषणाका लागि आवश्यक प्रक्रिया पूरा गरेर एक वर्षभित्रै घोषणा गरिने खैरहनीका नगर प्रमुख लालमणि चौधरीले बताए । “विकाससँग जोडिएको एक पाटो बालबालिकाहरु पनि हुन्”, नगर प्रमुख चौधरीले भने, “आगामी आर्थिक वर्षभित्र नगरलाई बालश्रममुक्त गर्ने कार्यक्रम अघि सारेका छौं ।” नगरमा कति बालश्रमिक छन् भन्ने एकिन तथ्यांक नभएपनि आगामी आर्थिक वर्षको सुरुदेखि तथ्यांक संकलन गरेर प्रक्रिया अघि बढाउने उनले बताए ।
नगरभित्र करिब ४० जना वालश्रमिक रहेको अनुमान छ । तीमध्ये प्रायः धेरै होटलमा श्रम गर्न बाध्य छन् । श्रमिक बालबालिकाको पहिचान गरेपछि अभिभावक भएकाहरुलाई परिवारमा पुनर्मिलन गराउने र नभएकालाई अन्त्योदय र नवोदय विद्यालयमा आवासीय सुविधासहित अध्ययन गराउने नगरपालिकाको योजना छ । नगरसभाले नगरभित्र १५० शैयाको बाल अस्पताल निर्माणका लागि पहल गर्नेसहितका नीति तथा कार्यक्रम ल्याएको छ । नगरसभामा नगर उपप्रमुख सुनिता थपलियाले आगामी आर्थिक वर्षका लागि ६२ करोड ३९ लाख ९१ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट पेश गरेकी थिइन् ।
आन्तरीक आय ५ करोड १९ लाख लक्ष्य लिएको खैरहनी नगरपालिकाले वित्तीय समानीकरणमा रु २४ करोड २९ लाख, सामाजिक सुरक्षा कार्यक्रममा रु ९ करोड २० लाख,प्रदेश सरकारबाट प्राप्त रु ३ करोड ३ लाख, अन्य आय १ करोड ५० लाखसहित आम्दानी हुनेसहितको वजेट पेश भएको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । नगरपालिकाले आगामी वर्षमा कृषि उत्पादन अभिवृद्धी एवं वजार प्रर्वद्धनका लागि हाटवजार संचालन गर्ने, दूध उत्पादक किसानहरुलाई दूधमा अनुदानको व्यवस्था गर्ने, चक्रपथ निर्माणका लागि योजना वनाई कार्यान्वयन गर्ने, बसपार्क निर्माण गर्ने, राष्ट्रसेवक कर्मचारीहरुलाई दिदै आएको ३५ प्रतिशत स्थानीय भत्ता हटाई कार्यसम्पादनका आधारमा प्रोत्साहन गर्न अतिरित्त सेवा र समयको आधारमा थप सुविधा दिने लगायत कार्यक्रम समावेश गरिएको छ । नगरसभाले न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपानाउनु पर्ने कार्यविधिका सम्वन्धमा व्यवस्था गर्न वनेको विद्येयक २०७५ र खैरहनी नगरपालिकामा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न वनेको विद्येयक २०७५, आर्थिक, विनियोजना विधेयक पारित गरेको छ ।
रत्ननगर, कालिका र राप्तीको पनि आए
रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाले ५१ बुँदे नीति तथा कार्यक्रमसहित आगामी वर्षका लागि रु ८४ करोड ५४ लाखकेो बजेटसमेत ल्याएको छ । जसमा आन्तरिक आय १० करोड ५८ लाख, सामाजिक सुरक्षा कार्यक्रम १२ करोड, संघिय सरकारबाट ससर्त अनुदान २६ करोड ७८ लाख, वित्तिय सामान्यिकरण १२ करोड २ लाख छ तथा राजस्व बाँडफाँड ९ करोड ५० लाख छ । यस्तै प्रदेश सरकारबाट ससर्त अनुदान ४ करोड ९६ लाख, वित्तीय समानीकरण ९० लाख र राजस्व बाँडफाँटमा १ करोड, सडक बोर्डबाट रु ७० लाख एलजीसिडीपि कार्यक्रमतर्फ रु १० लाख बजेट राखिएको छ ।
यस्तै पूर्वी चितवनको राप्ती नगरपालिकाले ५१ करोड २० लाख वरावरको बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । नगर प्रमुख प्रभा बरालको अध्यक्षतामा भएको नगरसभाले उपप्रमुख इमानसिंह लामाले पेश गरेको नीति कार्यक्रम तथा बजेट नगरसभाले पारित गरेको छ । राप्ती नगरपालिकाले आगामी आर्थिक वर्षमा ससर्त अनुदान १९ करोड ८१ लाख, राजस्व बाडँफाँट १० करोड ८७ लाख, समानीकरण १६ करोड ५२ लाख, आन्तरिक आम्दानी ४ करोड हुने अनुमान गरेको छ । नगरसभाले आगामी आर्थिक वर्षदेखि सुरु हुने गरी नगरपालिकाको भवन र सिटी हल निर्माण गर्ने कार्यलाई मुख्य योजनाको रुपमा अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईंले जानकारी दिए ।
यस्तै कालिका नगरपालिकाले ‘कालिका नगरपालिकाको चाहना, कृषि पर्यटन र पूर्वाधार विकासको सम्भावना’ भन्ने नाराका साथ भएको सभामा आर्थिक वर्ष २०७५÷७६ का लागि ४९ करोड १८ लाख ६२ हजार रुपैयाँको बजेट ल्याएको छ । आम्दानीतर्फ आन्तरिक राजस्व २ करोड, नेपाल सरकारबाट प्राप्त ससर्त अनुदान १४ करोड २६ लाख, समानीकरण अनुदान १३ करोड ५७ लाख, प्रदेश सभाबाट प्राप्त हुने ससर्त अनुदान ८२ लाख ३१ हजार, समानीकरण अनुदान २ करोड ५५ लाख ९३ हजार रहेको नगर प्रमुख खुमनारायण श्रेष्ठले बताए ।
यसैगरी नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट ८ करोड ६७ लाख ३८ हजार, शान्ति सुरक्षा भत्ता अनुदान ७ करोड, सडक बोर्डबाट प्राप्त हुने अनुदान ३० लाख रहेको छ । त्यस्तै नगर सभामा व्ययतर्फ चालु खर्च २३ करोड ४७ लाख ९७ हजार, पूँजीगत खर्च १८ करोड ७० लाख ६५ हजार, सामाजिक सुरक्षा भत्ता ७ करोड रहेको छ । त्यसैगरी सडक बोर्ड कार्यक्रमको ३० लाख गरी कुल ४९ करोड १८ लाख ६२ हजारको आयव्यय विवरण प्रस्तुत भएको हो ।
यस्तै माडी नगरपालिकाले रु. ९० करोड ३८ लाखको बजेट विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले नेपाल सरकारबाट रु. ३० करोड, प्रदेश सरकारबाट रु २ करोड, आन्तरिक आम्दानी करिव रु २० करोड बजेट व्यहोरिने जानकारी दिए । अन्य रकम भने विभिन्न ठाउँबाट अनुदानित कार्यक्रमहरू आउने अनुमानसहित रु ९० करोड ३८ लाखको बजेट विनियोजन भएको जानकारी दिए ।
आर्थिक विधेयकबारे व्यवसायीलाई जानकारी
रत्ननगरका उद्योगी व्यवसायीहरुलाई आर्थिक विद्येयक २०७५÷०७६ मा गरिएको नयाँ व्यवस्थाका बारे जानकारी गराईएको छ । रत्ननगर उद्योग वाणिज्य संघले सोमवार आयोजना गरेको कर सम्वन्धी अन्र्तक्रिया कार्यक्रममा आर्थिक विद्येयक सम्वन्धी नयाँ व्यवस्थाको बारे जानकारी गराईएको हो । आन्तरीक राजस्वक कार्यालय भरतपुरका निमित्त कार्यालय प्रमुख डिल्ली प्रसाद गौतमले आर्थिक ऐन,मुल्य अभिवृद्धी कर,आयकर,सवारी साधन र मेसिन औजारमा लाग्ने कर, अन्तःशुल्कको नयाँ व्यवस्था बारे सहभागी उद्योगी व्यवसायीहरुलाई प्रशिक्षित गराएका थिए । संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए । कर तथा राजस्व समिति संयोजक एवं संघका सदस्य शिवलाल श्रेष्ठको संयोजकत्वमा भएको सो कार्यक्रममा संघका संस्ंथापक अध्यक्षसहित नगरका करिब १५० उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो ।