विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१० जेठ । किसानले पशुपालन अनुदानमा ध्यान दिन थालेका छन् । पशु सेवा कार्यालय चितवनले चालु आर्थिक वर्षमा ८६ लाख ६५ हजार रुपैयाँ बराबरको अनुदान वितरणको प्रक्रिया चलिरहेको जनाएको छ ।
यो वर्ष २ सय ९७ जना किसानले अनुदान पाउँदैछन् । जिल्ला पशु सेवा कार्यालय चितवनका पशु सेवा प्राविधिक नरेन्द्रबहादुर पाण्डेले हालसम्म अनुदानका लागि छनौट भएकामध्ये करिब ५० प्रतिशत किसानले अनुदान रकम लिइसकेको बताए । छनौट भएका किसानले असार मसान्तभित्र अनुदान रकम लिन आवश्यक कागजपत्रसहित कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरे ।
केन्द्रीय तथा आन्तरिक बजेटअनुसार यो वर्ष पनि किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको उनले बताए । ‘बाख्रा मिसन’का लागि १६ जना किसान छनौटमा परेका छन् । ५० भन्दा बढी माउ बाख्रा पाल्ने किसानमध्ये छनौट भएका १२ जना किसानले १ लाख, ४ जनाले ५० हजार रुपैयाँ अनुदान पाउनेछन् । बाख्रा मिसनका लागि अनुदान लिन ६० जनाले निवेदन दिएका थिए । युवा स्वरोजगारतर्फ पशुपालक किसानका लागि माग गरिएको निवेदनमा ८९ जनाले निवेदन दिएका थिए । जसमध्ये कार्यविधिअनुसार १३ जना छनौटमा परेका थिए । ठूलो गाईभैंसी फर्मका लागि एक जना युवाले ३ लाख ५० हजार, मझौला फर्मका लागि ३ जना, साना फर्मका लागि ९ जना युवा किसानले अनुदान पाएका छन् । युवा स्वरोजगारका लागि १६ लाख १५ हजार रुपैयाँ बराबरको अनुदान दिइएको छ ।
जिल्ला पशु सेवा कार्यालय चितवनका पशु सेवा प्राविधिक दीपचन्द्र घिमिरेले गत वर्ष अनुदान पाएका किसान यस वर्षको अनुदानका लागि छनौटमा नपरेको बताए । “सबै क्षेत्रका किसानमध्येबाट हामीले छनौट गर्ने गरि निवेदन माग गरेका थियौं”, उनले भने, “धेरै निवेदन परे, निश्चित बजेट र कार्यविधिअनुसार थोरै संख्यामा किसान छनौटमा परेका छन् ।”
‘पिग एण्ड पोर्क मिसन’का लागि १० जना किसानलाई १८ लाख बराबरको अनुदान दिइएको छ । ठूलो फर्म भएका १ जनालाई ४ लाख, मझौला फर्म भएका ५ जनालाई २ लाख, बच्चा हुर्काएर मासु उत्पादन गर्ने फर्मका लागि ४ जना किसानलाई १ लाखका दरले अनुदान दिइदै छ । यस्तै दूध ढुवानीका लागि ४ वटा सहकारीलाई २ लाखका दरले ई–रिक्सा खरिद गर्न अनुदान रकम दिइएको छ । गोठ सुधार गर्न ४३ जना किसानलाई ५० हजारका दरले अनुदान दिइएको छ ।
प्रत्येक सेवा केन्द्र ‘क’ ले ६ जनालाई, प्रत्येक सेवा केन्द्र ‘ख’ ले २ जनालाई गोठ सुधार गर्न अनुदान रकम दिने छ । चितवनमा ‘क’ स्तरका सेवा केन्द्र ६ वटा, ‘ख’ स्तरका सेवा केन्द्र ८ वटा छन् । कार्यालयबाटै ३ जना किसानलाई गोठ सुधार गर्न अनुदान दिने भनिएपनि माग बढी भएपछि गीतानगर सेवा केन्द्रअन्तर्गतका किसानलाई थप एक अनुदान दिइएको छ ।
डेरी पसल सुधार गर्न ३ जनालाई ५० हजार, मासु पसल सुधार गर्न ४ जनालाई २५ हजारका दरले अनुदान दिइएको छ । मासु उत्पादनका लागि पाडापालक किसान मध्ये ३ जनालाई २ लाखका दरले अनुदान दिइदै छ । पशुपालनलाई घाँस खेती महत्वपूर्ण हुने भएकाले घाँस खेती प्रवद्र्धन गर्न कार्यालयले आन्तरिक स्रोतबाट घाँस खेतीमा अनुदान दिदै आइरहेको छ । आधा हेक्टर क्षेत्रफलमा घाँस विकास गर्न ३० जनालाई ५ हजारका दरले, १ हेक्टरमा घाँसखेती विकास गर्न १० हजारका दरले १५ जनालाई अनुदान दिइदै छ । यस्तै १ सय किसानलाई दुध बोक्ने क्यान खरिदमा कुल २ लाख बराबरको अनुदान दिइदै छ । यस्तै गोबर बोक्ने ह्वील व्यारो खरिदमा ६० जना पशुपालक किसानलाई कुल ३ लाख ५० हजार रुपैयाँ अनुदान दिदैछ ।
पशुपालन अनुदानमा किसानको आकर्षण
पशुपालन अनुदानमा किसानको आकर्षण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस