तीव्र विरोधपछि सोमबार साँझ बन्दकर्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
विनोदबाबु रिजाल
चितवन, ११ असार ।
चितवनका विद्यालय दुई दिन बन्द गरिए । तीव्र विरोधपछि सोमबार साँझ बन्दकर्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । बन्दकर्ता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) विप्लव समूहको विज्ञप्तिमा आन्दोलनको कार्यक्रम परिवर्तन गरिएको भनिएको छ ।
बन्द आह्वानकर्ता संगठनका सचिव दर्पणले जारी गरेको विज्ञप्तिमा विभिन्न संघसंस्थाको अनुरोधलाई आधार मानी शैक्षिक संस्था बन्द फिर्ता लिई आन्दोलनको स्वरुप परिवर्तन गरिएको भनिएको छ । बन्द त फिर्ता भयो । तर, सामान्य राजनीतिक कारणले पनि शैक्षिक संस्थामा बन्दहडताल गरिहाल्ने प्रवृत्ति भने नराम्रोसँग मौलाएको छ । शैक्षिक सत्र २०७५ सुरु भएयता विद्यालय बन्द गरिएको यो चौथोपटक हो र यसले पाँच दिन विद्यालय बन्द गरायो । चितवनमा १ सय ६३ वटा संस्थागत, ३ सय ७७ वटा सामुदायिक विद्यालय छन् । झण्डै ६५ हजार विद्यार्थी विद्यालयतहमा अध्ययनरत छन् ।
चितवन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृहजिल्ला हो । तर, यहीं नै विभिन्न आरोपमा पक्राउ परेका दुईजनालाई रिहा गर्नुपर्ने माग गर्दै विद्यार्थीले लगातार विद्यालय बन्द गरे । जिल्लाको शान्ति सुरक्षा जिम्मा लिएको प्रशासन कार्यालयले विद्यालय खोल्न आग्रहबाहेक केही गरेन । बन्द आह्वान गर्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) विप्लव समूहका कोहीपनि सार्वजनिक सम्पर्कमा आएनन् । उनीहरुले विज्ञप्तिमात्रै निकालिरहे ।
बन्द हड्तालविरुद्ध कडा रुपमा उत्रिएको भन्ने सरकारले विद्यालय खोल्न पर्याप्त पहल गरेको देखिएन । आइतबार र सोमबार दुई दिन जिल्लाका संस्थागत र सामुदायिक दुवै विद्यालय बन्द भए । “हामीले शान्ति सुरक्षा दिन्छौं, खोल्नुहोस् भनेका हौं”, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, “तर, सञ्चालकहरु त्रसित देखिए, विद्यालय खोल्न मानेनन् ।” विप्लव माओवादीनिकट अखिल (क्रान्तिकारी) ले चितवनका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि पढाइ प्रभावित भएको हो ।
सो विद्यार्थी संगठनका जिल्ला अध्यक्ष रमेश लामिछाने र माडी क्याम्पस इकाई सदस्य सरोज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । केही समयअघि भाटभटेनी सुपरमार्केटमा बम विस्फोट गरेको र विभिन्न ठाउँमा स्काभेटर जलाएको घटनामा संलग्न भएको अभियोगमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । “अनुसन्धानमा रहेका व्यक्तिलाई कसैले भन्यो भन्दैमा सुरुक्क छोड्ने भन्ने हुँदैन”, प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, “हामी अनुसन्धानमा छौं, यसमा कसैको दबाबले केही हुँदैन ।” उनले विद्यालयमा बन्द हडताल गर्न नपाउने भन्दै बन्दकर्ताको खोजी गरिरहेको बताए । “हामी खोजीमा छौं”, उनले भने, “बन्द गर्ने छुट कसैलाई छैन ।”
सर्वत्र विरोध
आइतबार पूर्णरुपमा बन्द रहेका सामुदायिक विद्यालय सोमबार आंशिकरुपमा खुले । बन्द आह्वानकर्ताले केही विद्यालयमा फोनमार्फत धम्की दिएको बताइएको छ । जिल्लाका विभिन्न शिक्षक तथा अभिभावक संगठनहरुले विद्यालय बन्दको विरोध गरे । उनीहरुले तत्काल विद्यालय खोल्ने वातावरण बनाइदिन प्रशासनलाई अनुरोध पनि गरे । नेपाल शिक्षक महासंघ चितवनको संयोजनमा सोमबार विभिन्न संगठनले जारी गरेको विज्ञप्तिमा विद्यालय बन्द गर्ने प्रवृत्तिको विरोध गरिएको छ । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको अवस्थामा परीक्षाको मुखमै विद्यालय निरन्तर बन्द हुनुले दूरगामी नकरात्मक असर पर्नेतर्फ सचेत रहन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । विद्यार्थीका जायज माग पूरा गरी विद्यालयमा स्वच्छ शैक्षिक वातावरण तयार गर्दै अब बन्द नभईकन नियमित पठनपाठनको वातावरण तयार पार्न सम्बद्ध सबै पक्षसँग विज्ञप्तिमा आग्रह गरिएको छ ।
विज्ञप्तिमा नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिका सचिव ध्रुवराज पोखरेल, शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष हरिप्रसाद कँडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष दानबहादुर गुरुङ, एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदी, अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हिरामणि चापागाईं, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष अम्बदरबहादुर थापा, नेपाल शिक्षक परिषद् चितवनका अध्यक्ष शिवप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।
साथै महासंघको जिल्ला समितिले सोमबार जिल्लाका सबै स्थानीय तहका महासंघ प्रतिनिधिलाई बैठकमा बोलाएर आ–आफ्नो क्षेत्रमा निर्वाध विद्यालय खोल्नका लागि अनुरोध गरेको महासंघका जिल्ला सचिव रामजी भण्डारीले जानकारी दिए । “सबैलाई पहल गर्न भनेका छौं”, उनले भने, “सोमबार केही विद्यालय खुलेको जानकारी छ, मंगलबारबाट अरुपनि खुल्छन् ।”
विभिन्न शिक्षक नेता तथा विद्यालय संगठनले पनि बन्दको विरोध गरेका छन् । “विद्यालय र शिक्षाप्रति कुनैपनि बहानामा आक्रमण हुनु हुँदैन”, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सचिव धु्रवराज पोखरेलले भने, “राजनीतिक मागमा विद्यालय बन्द गराइनु गलत हो । सहज पठनपाठन हुने अवस्था बनाउनुपर्छ ।” उनले स्थानीय प्रशासनले आन्दोलनरत पक्षलाई वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे । “शान्ति क्षेत्र घोषणा गर्ने तर बन्द हड्ताल गर्ने राम्रो होइन”, एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हरिशचन्द्र सुवेदीले भने, “एक पक्षले बन्द गर्ने, उता स्थानीय प्रशासनले सुरक्षा दिन्छौँ भनेर विद्यालय खुलाउन कठिन छ ।” यस्तो बन्द पटक–पटक गरिदा विद्यालय परिसरमा प्रहरी राखेर पढाउँदा विद्यार्थीमा नकारात्मक प्रभाव पर्ने उनले बताए । “बन्दको मारमा संस्थागत विद्यालय बढी परे”, प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारीले भने, “स्कूलबसमा जोखिम मोलेर विद्यार्थी ल्याउन सकिदैन । संवेदनशीलता हेरेर बन्द गर्न बाध्य भयौँ ।” यस्तै आइतबार सरोकारवाला ११ संस्थाले शैक्षिक संस्थामा बन्द हड्ताल नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका थिए ।
पटक–पटक बन्द
यही विद्यार्थी संगठनले गएको वैशाख २२ र जेठ २१ गते पनि हड्ताल गरिसकेको छ । त्यस्तै असार ३ गते पनि बन्द आह्वान ग¥यो । एक दिन शैक्षिक संस्था बन्द हुँदा मुलुकभरिका विद्यालय तहमा अध्ययनरत ७५ लाखभन्दा धेरै र उच्चशिक्षा अध्ययन गरिरहेका झन्डै पाँच लाख विद्यार्थी प्रभावित हुन्छन् । विगतमा पनि राजनीतिक दलका भ्रातृ संगठनले शैक्षिक तथा राजनीतिक माग पूरा गर्न शैक्षिक संस्था बन्द गरेका प्रशस्तै उदाहरण छन् । यस्ता आन्दोलनका कारण सरकारले निर्देशिका बनाएर २०६८ सालमा विद्यालय शान्तिक्षेत्र घोषणा गरेको थियो । निर्देशिकामा विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र मान्दै शैक्षिक संस्थामा कुनैपनि राजनीतिक कार्यक्रम गर्न नपाउने, यस्ता कार्यक्रममा बालबालिका प्रयोग गर्न नपाउने र कुनैपनि राजनीतिक माग पूरा गराउने बहानामा शैक्षिक संस्थालाई निशाना बनाउन नपाउने उल्लेख छ । तर, यो कार्यान्वयन भएको छैन ।
राजनीति दल मौन
बन्द आह्वान गर्ने त चुप रहने नै भए, विद्यालयलाई शान्ति क्षेत्र मान्ने अरु राजनीतिक दलले पनि यस्ता बन्द सधैंका लागि बन्द गर्ने विषयमा पहल गरेको देखिदैन । “हामीले विद्यालय बन्द गर्न हुँदैन भन्ने हो”, नेपाल कम्युनिष्ट पार्टीका नेता तेजेन्द्र खड्काले भने, “विद्यालय शान्ति क्षेत्र हो, यो शान्त नै रहनुपर्छ ।” तर, बन्दकर्तालाई बन्द गर्नबाट हतोत्साही बनाउन राजनीतिक प्रयास भएको देखिदैन ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी चितवनले आफ्ना नेता कार्यकर्ताको तत्काल रिहाइको माग गरेको छ । नेकपा चितवनका इञ्चार्ज लालबहादुर बिसी र सेक्रेटरी धुर्वले वक्तव्य जारी गर्दै प्रहरी धरपकड नगर्न माग गरे । जेठ २५ गते रत्ननगर कमिटीका इञ्चार्ज रणदीप गौतम, २६ गते विरु तामाङ, २७ गते रत्ननगर सेक्रेटरी गञ्जुसिंह गुरुङ, असार ४ गते कालिका नगरकमिटी इञ्चार्ज रुद्र गुरुङ, असार ५ गते सहिद स्मृति कलेजबाट विद्यार्थी जिल्ला अध्यक्ष रमेश लामीछाने गिरफ्तारमा परेको विज्ञप्तिमा उल्लेख छ ।