इन्द्र रेग्मी
श्रीमतीको केही वर्ष अगाडिदेखिको आग्रहपछि घटस्थापनाको दिन मुक्तिनाथ क्षेत्रको यात्रा गर्ने मौका मिल्यो । मुक्तिनाथको मेरो पर्यटकीय यात्रा गर्ने इच्छा श्रीमतीको धार्मिक इच्छासँग मेल खान गाह्रो पथ्र्यो । त्यसमाथि उनी मुटुको रोगी र आफू उच्च रक्तचापको । त्यसैले यो क्षेत्र जाने आँट निकाल्न नसक्दा निकै समयसम्म टारें ।
असजिलो बाटो, पैदल हिंड्न सक्ने क्षमताको कमी र जटिल रोगको कारणले पनि मलाई मुक्तिनाथ जाने आँट आएको थिएन । त्यसमाथि मुस्ताङको कागबेनीमा मरेका बाउआमाको नामबाट श्राद्ध गर्न दशैं अगाडिको सोह्र श्राद्ध नै पारेर त्यहाँ जानुपर्ने प्रचलनले पनि मलाई त्यसतर्फ पाइला लम्काउन त्यति मन थिएन । म यहाँ घरैमा त वार्षिक श्राद्ध नगर्ने व्यक्तिको रूपमा चिनिन्छु । आफ्ना बाबुआमालाई बाचुञ्जेल आफ्नो शक्तिअनुसार लालनपालन गर्ने अभिभारा प्रत्येक सन्तानको हो भन्ने मलाई लाग्छ । बाचुञ्जेल भुटेको मकै पेटभरि नदिने तर मरेपछि खीर खुवाउने विडम्बनाबाट नेपाली समाज मुक्त हुने कहिले होला ? समाजका अगुवा हौं भन्नेहरू पनि यो मामिलामा एकदमै पिछडिएको मनस्थितिबाट ग्रसित छन् । हाम्रो वरिपरि नै यसका थुप्रै उदाहरण दिन सकिन्छ ।
वि. सं. २०६५ असोज १४ गते बिहान १० बजे पोखरा बसपार्क नारायणगढबाट बस चढेर मुक्तिनाथ यात्राको श्री गणेश गरियो । श्रीमती ताराको साथ तीन बजेतिर पोखराको मुस्ताङचोकमा श्रीमतीका मामाका छोरीको निवासमा पूर्व निर्धारित पाहुना बनियो र पकवान चड्काइयो ! १५ गते बिहान ७ः४० को फ्लाइट थियो । हामी ६ः३० मै एअरपोर्ट पुगिसकेका थियौं । हाम्रो साथमा रहकी ताराका मामाकी छोरी उमालाई विमानस्थलको भित्री गेटबाटै विदा गरियो र हामी वेटिङ रुममा छि¥यौं । एअरलाइन्सको काउन्टरमा आइपुगेपछि त्यहाँ रहेका कर्मचारीले फ्लाइट एक घन्टा ढिलो भएको जानकारी गराए । मैले सुनेको थिएँ, जोमसोम क्षेत्रमा ११–१२ बजेपछि जहाज जान सक्दैन । कारण थियो, अविरल चलिरहने हुरी । मौसम धुमिल थियो । पानी पर्दा पनि जहाज उड्नसक्ने अवस्थामा हुन्थेन । मैले घरेलु फ्लाइटबाट उड्न लागेको जीवनमा दोस्रोपटक थियो भने श्रीमतीको त झनै पहिलो । अन्तर्राष्ट्रिय उडानबाट केही देशहरूको भ्रमण गर्ने मौका मिले पनि देशभित्र चाहिँ २०२७ सालमा पोखराबाट भरतपुरसम्म जहाजबाट यात्रा गर्ने अवसर मिलेको थियो । त्यसको ३८ वर्षपछि यतिखेर यही पोखरा विमानस्थलबाट नै म जोमसोम उड्दै थिएँ ।
यति लामो समय बितिसक्दा पनि पोखरा विमानस्थलको चाला भने उस्तै लाग्यो । समय तालिकाअनुसार उड्न नपाइने । फ्लाइट नम्बर परिवर्तन त सामान्य कुरा रहेछ । कुन जहाज कतिबेला आउने हो ? कतिबेला जाने हो ? यात्रुलाई जानकारी दिने कुनै किसिमको प्रबन्ध रहेनछ । अघिको पछि र पछिको अघि यो भनसुनको आधारमा हुने त त्यहाँ सामान्य जस्तै लाग्यो । नयाँ नेपाल बनाउने अभियानमा यतातिर पनि ध्यान पु¥याउन पर्ने हो कि ! जे होस् ढिलै भएपनि १० बजेतिर अग्नि भनेको त गोर्खा एअरलाइन्सको जहाजभित्र टेकियो ।
जम्मा १५ मिनेटको उडान रहेछ । पोखरा जोमसोम बाटोमा माछापुच्छ«े र धवलागिरीलाई दाहिने तिरबाट पछाडि पार्दै, हिमालपारिको जिल्ला भनेर चिनिएको मुस्ताङको सदरमुकाम निलगिरीको पोल्टामा कालिगण्डकीसँगै सुसाइरहेको जोमसोम एअरपोर्टमा ओर्लियौं । तारा घरैदेखि नै बिरामी थिइन् । पोखरा विमानस्थलमा घरैबाट लगेको सातुबाहेक केही पेटमा परेको थिएन । तर, मुक्तिनाथमा चाँडै पुग्ने दौडमा करिब १५ मिनेट उत्तर हिंडेर कालीगण्डकीमा रहेकोे काठको पुल तरेपछि मुक्तिनाथका निम्ति जाने स–साना जिप पाइँदा रहेछन् । त्यसैमा मुक्तिनाथ लागियो । केही पर पुगेपछि बाटोबाट थोरै तल कागबेनी बजार देखिंदो रहेछ । जहाँ श्राद्ध गरेर दिवंगत बाउआमा स्वर्ग पु¥याई छाड्ने प्रचलन रहेछ । तारा बिरामी परेकी र श्राद्ध गर्ने तिथि पनि बितिसकेको हुनाले आफ्ना बाउआमालाई स्वर्ग पु¥याउन ‘कार्जे’गर्ने मेसो परेन र हामी सरासर मुक्तिनाथ उक्लियौं ।
नाङ्गा डाँडा कतै–कतै थोरै हरियो, केही ठाउँ पाक्न लागेको फापर, ढुंगाको गाह्रो र माटोको छानो भएको स–साना बस्तीको दृश्यावलोकन गर्दै १ बजेतिर मुक्तिनाथको रानीपौवा बजारमा पुगियो । रानीपौवाबाट याक हिमालले छहारी दिएर राखेको मुक्तिनाथ मन्दिर क्षेत्र राम्रैसँग देखिँदो रहेछ । विशाल, नाङ्गा डाँडाहरु, ठुल्ठूला ढुङ्गाहरुको घेरोमा केही बुट्टाहरुको माझमा रहेको मन्दिर परिसर त्यहाँबाट केहीबेर नियालेपछि एउटा सामान्य किसिमको लजमा बास बसियो । ताराको स्वास्थ्य स्थिति बिग्रदै गएको थियो । त्यहीँ रानीपौवामा सानो हेल्थपोस्ट रहेछ । त्यहाँ रहेका तराई मूलका एकजना हेल्थ असिस्टेन्टलाई कोठामा लगेर बिरामी देखाएँ । ताराले खाइरहेको औषधिको ठाउँमा अर्कै औषधि दिएँ, जसले ब्यथा झन् च्याप्यो । राति दुई बजेतिर त झन् च्याप्यो । यहाँ आउँदा दुई जना, फर्कदा एक्लै पो हुने हो कि ! भनेर मन झसंग भयो । के गरौं र कसो गरौंको मनस्थितिमा पुगिरहेको बेला राति ४ बजेतिर अलिअलि आँखा खोलिन् र मन थोरै भएपनि रमायो ।
लजमा स्थानीय युवक कमलबहादुर गुरुङसँग भेट भयो । स्वभावतः मैले त्यहाँको बारेमा उनीसँग केही जान्न चाहें । उनका अनुसार त्यहाँका अधिकांश मानिस तिब्बतबाट दलाई लामाको पलायनपछि भागेर आएका रहेछन् । पछि त्यहीँको समाजमा घुलमिल भएर शान्तिसँग बसेको पाइयो । मैले लज मालिकलाई तिम्रो जात के हो भनेर सोध्दा उनले पनि टिबेटियन भन्न रुचाएको पाएँ । त्यहाँ पनि घारा र च्छेउ भन्ने जाति रहेछ । फाल्वा, सोम्बा, नाम गरेका जातिहरु पनि हुँदा रहेछन् । तिनीहरुमध्ये कतिको पानी पनि चल्दो रहेनछ । तर, हाल आएर त्यसमा धेरै सुधार भएको उनले बताए । घारालाई तल्लो जाति, च्छेउलाई अलि बदमास किसिमको जाति भनिँदोरहेछ । उच्च जाति फाल्वा सर्वसाधारण र सोम्बा भनेको कसाइको काम गर्नेलाई भनिँदोरहेछ । जातिगतरूपमा कुनै जाति बदमास र कुनै जाति भलाद्मी हुने यो सामन्तवादी प्रचलन नै हो । यस्ता कुराहरूमा आधुनिक युगका मान्छेले विश्वास गर्दैनन् । तर, आजकल धेरैले आफुलाई गुरुङ भनेर लेख्ने गरेको पाइयो ।
त्यहाँका मान्छेको मुख्य पेशा खेतिपाती र व्यापार नै हो । खेतीमा फापर, गहुँ, उवा मुख्य खेती हो । भेंडा, च्याङ्ग्रा, चौरीपालन पनि उनीहरुको मुख्य पेशाभित्रै पर्दछ । शिक्षाको नाममा त्यहाँ एउटा प्राइमरी स्कूल मात्रै छ । आर्थिक रूपमा धनी र गरीबको बीचमा त्यति ठूलो खाडल नभएकाले एकआपसमा सहयोगी भावना पनि राम्रै देखियो । मासुमा उनीहरु मुख्यरुपमा चौरी मन पराउँदारहेछन् । १३ सय फिटको उचाइमा रहेकोे मुक्तिनाथ क्षेत्रमा वि. सं. १८६३ मा रानी सुवर्ण प्रभाले एउटा भव्य धर्मशाला बनाइदिएकी रहिछन् । जहाँ आज पनि बटुवाहरु बास बस्ने गर्छन् । पुलिस चौकी पनि त्यही भवनमा अवस्थित छ । ॐ अस्पताल काठमाडौंबाट त्यहाँ एउटा हेल्थ सेन्टरको व्यवस्था पनि भएको रहेछ । त्यस भवनको उद्घाटन २०५९ सालमा पूर्व युवराज पारसबाट भएको व्यहोरा प्राङ्गणमा लेखेरै राखिएको छ । बिरामी जाँच कक्षमा पूर्व राजा वीरेन्द्र र ऐश्वर्यको फोटो देख्दा राजतन्त्रप्रतिको मोह कुनै न कुनै रूपमा त्यहाँ झल्किएको पाइयो ।
यसरी थुप्रै कुराहरू त्यहाँका व्यक्तिबाट जानकारी लिएपछि भोलिपल्ट अर्थात १६ गते बिहान श्रीमतीलाई डोहो¥याएर मुक्तिनाथ मन्दिरको परिसर पु¥याइयो । शारीरिकरूपमा कमजोर अवस्था हुँदा पनि उनले आफूले घरबाट लगेको भिक्षादान दक्षिणा गर्ने र मन्दिरमा पूजापाठ मात्र होइन त्यहाँ रहेका १०८ धाराको पानीसमेत आफ्नो शरीरमा छर्कन भ्याइन् र मलाई पनि त्यसै गर्न लगाइन् । मैले पनि ५–७ धाराको पानी आफ्नो टाउकोतिर छर्कने काम गरेर एउटा आज्ञाकारी चेलोको अभिनय गरें । डुल्ने कुरो भएन । केही हेर्न मेसो पनि परेन जति सक्यो चाडो घरतिर फर्कन पाए हुन्थ्यो भन्नेबाहेक अरु सोचिएन । मन्दिरबाट लजमा फर्केपछि ताराको लागि खोले बनाउन लगाएँ । २५–३० एमएल उनको उदर(पेट)मा परेपछि थोरै भएपनि राहत मिल्यो र बाटोमा खान दुई तीन सय एमएल जति त्यही बोतलमा हालेर खान खाइवरी विदा भइयो । जाँदा अढाइ घन्टा लागेपनि ओर्लदाँ डेढ घन्टामै जीपबाट नाङ्गा र रुखा, जीवनहीन डाँडाहरुको अवलोकन गर्दै जोमसोम बजार आइपुगियो । एउटा लजमा झोला बिसाएर जोमसोमको एकलाइन बजार दुई तीनफेर फन्का लाउँदै बाँकी समय बिताइयो ।
मार्फा पुग्न नसके पनि त्यहाँको स्याउ लैजाने धोको त छँदै थियो । एउटा थकालीको दोकानमा भाउ सोध्दा २५ रुपैयाँ किलो भनेपछि मैले साहुनीसँग केही बार्गेनिङ गरें । उनी रिसाइन् र मैतिर फर्कदैं ‘लैजाने भए त्यो भाउमा लैजानुस्, होइन भने मसँग समय छैन अर्को दोकानमा जानुस्’ भनिन् । त्यतिबेला मैले झलक्कै २०४३ चैतको हङकङमा भएको घटना सम्झें । सामानहरु राख्न एउटा सुटकेश किन्नुपर्ने थियो । एउटा चाइनिजको दोकानमा अफ्रिकन मूलका एक व्यक्तिले सुटकेश बार्गेनिङ गरेर २०० हङकङ डलरमा किनेको मेरा आँखाले हेरिरहेको थियो । ऊ हिंडेपछि म पनि त्यस्तै सुटकेस किन्न त्यो दोकानमा भाउ सोध्दा २५० डलर भनिन् । भर्खरै तिमीले २०० डलरमा बेचेको होइन मात्र भनेको थिएँ, तिनले च्याठिंदै ‘गो टु अनोदर सप’ भनेर मलाई हकारिन् । कारण के रहेछ भने चीनियाहरु इन्डियनलाई असाध्यै घृणा गर्दा रहेछन् र हामी आर्यमुलका नेपालीहरुको अनुहार इन्डियनसँग मिल्छ । त्यसैले उनले मलाई पनि इन्डियन ठानेर हकारिन् । यो तथ्य थाहा पाएपछि मैले पनि चित्त बुझाएँ ।
जोमसोममा पनि त्यस्तै रहेछ । विदेशीको आवतजावत बढी हुने भएकाले हामी नेपालीहरुलाई सकभर त्यहाँ लज दिन पनि गाह्रो मान्दा रहेछन् । बिरामी श्रीमती भएको कारणले मैले एटेच बाथरुमवाला कोठा माग्दा छैन भनेर मलाई लज मालिक्नीले टारिन् । कारण थियो, बेलुकिसम्म कोही गोरा आइहाल्छ कि भन्ने आशा उनलाई रहेछ । तर कोही पनि गोरा त्यो दिन नआएकोले हामीलाई एटेच बाथरुम भएको कोठा नदिएकोमा निश्चितरूपमा उनलाई पछूतो भयो होला । तर, त्यहाँका लज मालिकहरु आफ्नो काम पट्याउनचाहिँ निकै सीपालुजस्तो लाग्यो । एक जनाले १५ किलोसम्म सामान विनाभाडा लैजान पाउने नियमको सदुपयोग गर्दै मैले ३० किलो सामान लैजान पाउनुपर्नेमा १० किलो मेरो सामान र १० किलो अन्य हुन आउने गरी २० किलो सामान मात्रै भएको थाहा पाएपछि अनेक मान मनितो र नरम भाषाको प्रयोग गर्दै होटेलकी साहुनीले पोखरामा रहेका आफन्तलाई १० किलो सामान मसँग बोकाइन् । त्यति मात्रै होइन सुरक्षाको अन्तिम जाँच सकेर वेटिङ रुममा छिरेपछि पनि ती साहुनीले दुई वटा ससाना अरु पाँच किलो जति सामान पुनः मलाई थमाइन् ।
सामान बोक्नेभन्दा पनि विमानस्थलको सुरक्षा र अन्य व्यवस्था देखेर टिठ लाग्यो । सुरक्षा जाँच सकेपछि यात्रुबाहेकका मान्छे कसरी त्यहाँ पुग्न सक्छ हँ ? कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? अग्नि एअरको बारेमा मैले माथि नै भनिसकेको छु । जोमसोममा पनि त्यही अवस्था रह्यो । टिकटमा समयानुसार उड्न पाइने होइन रहेछ । कतिबेला कुन फ्लाइटमा उड्ने भन्ने थाहा हुँदैन । जे होस् ८ बजेको समय टिकटमा उल्लेख भए पनि १० बजे जोमसोम छोड्ने अवसर जु¥यो । मौसम अलिकति खराब भएको कारणले गर्दा जाँदाजस्तो दृश्यावलोकन आउँदा गर्न पाइएन । समय पनि दुई तीन मिनेट बढी नै लाग्यो । सायद मौसमकै कारणले होला ।
पोखरा एअरपोर्टमा ओर्लेपछि सग्लैरूपमा श्रीमती घर लैजान सक्ने भएँ भनेर आफैंलाई धन्यवाद दिएँ र हालको लखनसिंह थापा चोकबाट बस चढेर नारायणगढ तर्फ प्रस्थान गरें । घर आउपुग्दा बेलुकीको चार बजिसकेको रहेछ । दुईथरि यातायात व्यवसायीले आफैमात्र कमाउने होडमा परेको झगडाले दमौलीमा भएको चक्का जामले १ घन्टाभन्दा बढी रोकिन नपरेकमा चाहिँ कसलाई धन्यवाद दिनुपर्ने हो कुन्नि ?